बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

आइतबार, १५ भदौ २०८२, ०९ : २५
आइतबार, १५ भदौ २०८२

सारांश

  • कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
  • बैतडीको देहिमाडौँ-गिरेगडा सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।
  • गौरा पर्व मनाइरहेका यात्रुहरू सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका छन्।

जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । 

 वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए । 

त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको  भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।  पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उनले बताए ।
      
उनले भने, “हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।” आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उनले बताए ।

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप