वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि विमर्श
सारांश
- लक्ष्मण वियोगीको कथा संग्रह 'सत्यम्' माथि विमर्श कार्यक्रम सम्पन्न भयो, जसमा समालोचकहरूले कृतिमाथि टिप्पणी गरे।
- वरिष्ठ साहित्यकारहरूले कथा संग्रहका कथाहरूमाथि विभिन्न पक्ष र विशेषताहरूमाथि प्रकाश पारे, जसमा माओवादी द्वन्द्व र सामाजिक यथार्थताको चित्रण थियो।
- कार्यक्रममा कृतिमा रहेका कथाहरूको समीक्षा गर्दै लेखकको लेखन शैली र कथावस्तुको प्रस्तुतिलाई लिएर छलफल गरियो।
काठमाडौँ । पत्रकार, निबन्धकार तथा कथाकार लक्ष्मण वियोगीको कथा संग्रह ‘सत्यम्’माथि शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा वरिष्ठ साहित्यकार तथा समालोचकहरू सहभागी भएको कार्यक्रममा कृतिमाथि विमर्श भयो । वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्व तथा डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको विमर्श कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वह गरेका थिए ।
लेखक तथा पत्रकार राजेश खनालले सञ्चालन गरेको कार्यक्रममा डा. अशोक थापा, महेश पौड्याल, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले समालोचनात्मक टिप्पणी गरेका थिए । वक्ताहरूलाई संग्रहमा रहेका १५ कथाहरू भाग लगाइएको थियो ।
समालोचक डा. थापाले चुन्कीको रहस्य, छुटेका पानीहाँस र क्रमु कथामा बोले । यस क्रममा उनले ‘चुन्कीको रहस्य’ फरक भाषाबाट कथानक सुरु गरिएकोले यसले पाठकलाई कथाभित्र प्रवेश गर्न सुरुमै बाधा पार्न सक्ने चुनौती देखिएको बताए ।
‘क्रमु’मा बाहुन केटो र गुर्सेनी केटीबिचको प्रेम जातकै कारण विवाहमा परिणत हुन नसकेको यथार्थलाई कल्पनाभन्दा माथि उठेर सफल प्रेम देखाउन सकेको भए उत्कृष्ट हुने सुझाएका थिए ।
‘छुटेका पानीहाँस’मा प्रमुख पात्रलाई कुनै गन्तव्यमा नपुर्याइ रहस्यमै छोडिदिँदा पाठकले खल्लो अनुभूति गर्न सक्ने पाठकीय अनुभूति थापाले सुनाए ।
अर्की समालोचक डा. ढुङ्गानाले ‘स्वप्नलोक’, ‘प्रेत–यान’, ‘चराहरू उडे’ र ‘सौँराई’मा आफ्ना भनाइ राख्दै ‘सत्यम्’मा नामजस्तै कथाहरू यथार्थपरक रहेको बताइन् । उनले माओवादी विद्रोहले जन्माएका पीडा र आघात कथामा प्रस्तुत भएको भन्दै कथाकारले आफू पुरुष भइकन विद्रोही युवतीको पीडादायी घटनालाई भित्रसम्म प्रवेश गरेर उजागर गर्न सफल भएको बताइन् ।
समालोचक टेकनारायण ढकालले राँकेभूतको लीला, मनफूल झरेपछि र ‘हिउँखोलाको आलाप’माथि आफ्ना धारणा राखे । देशमा भएको माओवादी सशस्त्र द्वन्द्वको पीडा भोग्ने आफू पनि एक पीडित भएको स्मरण गर्दै उनले कृतिकारले कथालाई न्याय गरेको बताए ।
आख्यानकार तथा समालोचक खतिवडाले ‘टाउको’, ‘रित्तो गुँड’ र ‘बागियान’ कथामा आफ्नो समीक्षा राखिन् । युद्धको पृष्ठभूमिमा आधारित कथामा आञ्चलिकता, स्थानीय बोलिचालीले कथाहरूलाई उत्कृष्ट बनाएको भन्दै परिवेशको वर्णनमा कथाकार बढी हाबी भएको पक्ष औँल्याइन् ।
तिमल्सिनाले ‘ऊ’ र ‘आँसुको लोरी’मा आफ्ना पाठकीय अनुभूति राखेकी थिइन् । टिप्पणीकारहरूको समीक्षा सुनेपछि समालोचक पौड्यालले देश र समाजमा खण्डित हुँदै गएको सत्य ‘सत्यम्’ले देखाएको विश्लेषण गरे । ‘माओवादी आन्दोलन, २०६२/६३ को जनआन्दोनल तथा मधेश आन्दोलन सुरु गर्दा जे कुरालाई सत्य भनेर लागियो, त्यो अहिले असत्य सावित हुँदै गएको विषयलाई कथाले व्यङ्ग्यात्मकरूपमा उठान गरेको छ,’ उनले विश्लेषण गरे । ‘हिजो जे असत्य ठान्यौँ, अहिले त्यही सत्य लागेको विषय पनि छ’ अझ अगाडि उनले भने ।
कथा लेखनका क्रममा कथाकारले राजनीतिक वाद वा पक्षधरता देखिने विषयमा जोगिन सक्नुपर्ने पौड्यालले औँल्याए । देशको ऐतिहासिक पृष्ठभूमिका घटनाक्रमलाई तत्तत् समयै टेकेर कथामा बुनिएको टिप्पणी सहित उनले भने– यसले वियोगीलाई उम्दा लेखकका रूपमा स्थापित गरेको छ । पहिलो संस्करणमा देखिएका त्रुटिलाई आगामी संस्करणमा ध्यान दिने भन्दै कृतिकारले कृतिमाथि प्राप्त सल्लाह–सुझfव, टिप्पणी तथा मार्गनिर्देशलाई आत्मसात् गरेर अघि बढ्ने भनाइ राखे ।
‘सत्यम्’भित्र माओवादी द्वन्द्वका अभिघात घटना, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन, पर्यावरण, विज्ञान विषय तथा हिमाल, पहाड र तराईको पृष्ठभूमि समेटिएको प्रमुख वक्ता कोइरालाले बताए ।
आञ्चलिकता, वैचारिक, कारुणिक, स्वैरकल्पना, सामाजिक यथार्थ जस्ता विशेषताले कथालाई सशक्त बनाएको उनको समीक्षा थियो । कृतिमा काव्यिक भाषाशैली बढी प्रयोग गरिएको हुँदा त्यस्तो पक्ष कम भएको भए प्रभावकारी हुने भन्दै उनले पात्रहरूले अघि बढाइरहेको कथानकमा लेखकको व्याख्यात्मक हस्तक्षेप बढी देखिएको टिप्पणी गरे । केही ससाना सुधारका विषयबाहेक कथासङ्ग्रह उत्कृष्ट रहेको र यस्तो लेखनले आफूलाई चकित पारेको अनुभूति सुनाए ।
संग्रहमा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले बताए । लेखनको काव्यिक शैलीले कथालाई छुट्टै पहिचान दिएको उनको टिप्पणी थियो । यस्ता उम्दा प्रतिभावान लेखकले आगामी दिनमा अझ सशक्त साहित्यिक कृतिहरू पाठकमाझ ल्याउनुपर्नेमा उनले जोड दिएका थिए । ‘हिउँखोलाको आलाप’ कथामा निबन्धात्मक शैली हावी भएको भन्दै आगामी लेखनमा यस्ता पक्षमा विचार पुर्याउन उनले सुझाव दिए ।
कार्यक्रमको समापन गर्दै सभापति प्रा.डा. भट्टराईले कथाकार वियोगीको लेखनशैली र शक्ति देखेर आफू ज्यादै प्रभावित बताए । यस्तो सशक्त प्रतिभा कथामा मात्रै खुम्चिनु नहुने भन्दै उनले उपन्यास लेखनतिर लाग्न वियोगीलाई सुझाव दिए ।
कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, व्यङ्ग्य कवि लक्ष्मण गामनागे, साहित्यकार एवम् पत्रकार त्रिभुवनचन्द्र वाग्ले, साहित्यिक पत्रकार विमल भौकाजी, साहित्यकारहरू प्रा.डा. अन्जना बस्ती, प्रमोद प्रधान, विजय हितान, अनिता पन्थी, जयराम तिमल्सिना, कविहरू महेश कार्की ‘क्षितिज’, मोहराज शर्मा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण