शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : लागुऔषधको समस्या

सुरुमा हिप्पीले गाँजा खान सिकाए, आजकल एआईको मद्दतबाट ड्रग्स बनाउँछन्

सोमबार, १६ भदौ २०८२, १० : २५
सोमबार, १६ भदौ २०८२

सारांश

  • पोखरामा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ, जसमा युवाको संख्या धेरै छ।
  • प्रहरीले लागुऔषध नियन्त्रणका लागि अभियान चलाइरहेको छ र पुनःस्थापना केन्द्रहरूले पनि सहयोग गरिरहेका छन्।
  • पछिल्लो समयमा ट्यापेन्टाडोल र नाइट्रोभ्याट जस्ता नयाँ लागुऔषधको प्रयोग बढेको छ।

पोखरा । पोखराका मनोज गुरुङ पढाइमा अब्बल थिए । कक्षामा कहिले दोस्रो, कहिले तेस्रो हुन्थे । बुबाचाहिँ उनलाई सधैँ पहिलो हुनुपर्ने दबाब दिन्थे ।

‘कक्षामा तेस्रो हुँदा पनि बुबाले स्याबासीको सट्टा पिट्नुभयो । त्यही पिटाइबाट मलाई विद्रोही बनायो,’ गुरुङले भने, ‘यही हीनताबोध र विद्रोहको भावनाले मलाई बिस्तारै गलत सङ्गततर्फ धकेल्यो । सुरुमा खैनी, चुरोट अनि रक्सी हुँदै म हार्डकोर ड्रग्सको संसारमा कहिले पुगेँ, पत्तै भएन ।’

त्यतिवेलाका युवाहरूलाई लागु औषधमा फसाउने प्रमुख गन्तव्य थियो फेवा किनार । ९० को दशकमा पोखराको लेकसाइडमा हिप्पीहरूको बाक्लै उपस्थिति थियो । उनीहरू उन्मुक्त संगीत र गाँजाको धुवाँमा रमाउँथे । पर्यटकका नौला गतिविधि देखेर स्थानीय युवाहरू पनि कौतुहल भए । पोखराका युवाले लागु औषधको प्रयोग सिकेको त्यही समयदेखि हो ।

‘त्यो वेला हामीलाई लाग्थ्यो, बब मार्लीका क्रान्तिकारी गीतहरूको प्रेरणा यही गाँजाको धुवाँ हो । गाँजा खाएपछि यस्ता गीत गाउन सकिन्छ भन्ने लाग्यो,’ गुरुङले भने, ‘पर्यटकहरूले हामीलाई गाँजा र लागु औषध सिकाए । त्यतिवेला रमाइलोका लागि खाइयो, पछि कुलतमा नजानिँदो हिसाबले फसियो ।’

उनी एचआइभी सङ्क्रमित पनि भए । लामो समय दुर्व्यसनमा फसेका उनी बिस्तारै आफूलाई चिन्न थाले । त्यहाँबाट बाहिरिने निधो गरे । केही समय गाह्रो पनि भयो तर उनको अठोटले दुर्व्यसनबाट बाहिर निस्किन सहयोग गर्‍यो ।

‘एकदिन मलाई लाग्यो– मर्न त मरिनँ, अब बाँच्ने प्रयास गर्छु,’ गुरुङले भने, ‘सरेन्डर टु विन अर्थात् आत्मसमर्पण गरेर नै जित्न सकिन्छ भन्ने महसुस भयो । आज म सबै हिसाबले पूर्ण निको अवस्थामा छु ।’

उनी कम्युनिटी सपोर्ट ग्रुपमार्फत आफूजस्तै सयौँ युवालाई नयाँ जीवन दिन लागिपरेका छन् । उनको अनुभवमा हिजो गाँजा, चरेस र ब्राउन सुगरको ठाउँ आज फेन्सीडिल, ट्रामाडोलजस्ता औषधिजन्य ड्रग्सले लिएको छ । यी औषधि फार्मेसीको काउन्टरदेखि भारतसँगको खुला सिमानासम्म जताततै सजिलै उपलब्ध छन् ।

गत महिना कास्की प्रहरीले पोखराको लेकसाइड र वरपरबाट १० जना युवतीको उद्धार गरेर ‘कोपिला नेपाल’ नामक गैर सरकारी संस्थामा पठायो । तीमध्ये ४ जना ‘ड्रग युजर’ थिए । पछिल्लो पटक ५ जनाको उद्धार गर्दा ३ जना दुर्व्यसनीमा फसेकाहरू थिए । कोपिला नेपालकी सञ्चालक बिना सिलवाल दुर्व्यसनमा फसेकाहरूलाई पुनःस्थापना गर्न साह्रै सकस हुने भएकाले सुरुमै नियन्त्रण गर्नुपर्ने बताउँछिन् ।

‘हाम्रो संस्थामा रेस्क्यु गरेर ल्याइएका किशोरीमध्ये धेरैजसो लागु औषध प्रयोगकर्ता छन् । हामीलाई चुनौती नै यही हो,’ उनले भनिन्, ‘दुर्व्यसनमा फसेपछि उद्धार गर्नेभन्दा पनि फस्नै नदिने अभियान सरकारले चलाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।’

विशेषगरी मनोरञ्जनका क्षेत्रबाट उद्धार गरिएका किशोरी ड्रग्सको दुर्व्यसनीमा फसेका छन् ।

  • तथ्याङ्कमा लागु औषध

पोखरा तथा आसपासका क्षेत्रमा लागु औषध दुर्व्यसनको प्रवृत्ति निकै बदलिएको छ । साथीभाइको दबाब (पिर प्रेसर), मनोरञ्जन, मानसिक तनाब र बेरोजगारीजस्ता कारणले युवाहरू दुर्व्यसनको दलदलमा भासिँदै गएका छन् । दुर्व्यसनी तथा कारोबारीमा युवा उमेर समूहको बाहुल्यता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी श्यामबाबु ओलियाले बताए ।

यसलाई तथ्याङ्कले पनि पुष्टि गर्छ । पक्राउ परेकामध्ये २० देखि २४ वर्ष उमेर समूहका ३४ प्रतिशत र २५ देखि २९ वर्षका ३५ प्रतिशत छन् । खासगरी कलेज तहका विद्यार्थी र किशोरावस्थाका युवायुवतीहरू उच्च जोखिममा रहेका ओलिया बताउँछन् ।

समयसँगै पोखरामा लागु औषधको प्रकृतिमा पनि फरक देखिएको छ । आजभोलि गाँजा, चरेसजस्ता परम्परागत लागु औषधभन्दा फर्मास्युटिकल ड्रग्सको प्रयोग र कारोबार मौलाएको छ । ‘टेपन्टाडोल’ जस्ता औषधिहरू बोक्न, लुकाउन र सेवन गर्न सजिलो हुने भएकाले यसको प्रयोग बढेको प्रहरीको निष्कर्ष छ । प्रयोगकर्ताहरू यस्ता औषधि २५ गुणासम्म बढी मूल्य तिरेर खरिद गर्छन् । २५० रुपैयाँ पर्ने एक पत्ता ट्याब्लेटलाई १० हजारसम्म तिर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको छ ।

कास्कीमा लागु औषध प्रयोगको मुद्दा कम देखिए पनि प्रयोगकर्ताहरू खासै घटेका छैनन् । आर्थिक वर्ष २०७९/०८० मा लागु औषध सम्बन्धी १०२ वटा मुद्दा दर्ता भएकोमा १४३ जना पक्राउ परेका थिए । तीमध्ये ३ जना विदेशी छन् । आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या बढेर १२९ मुद्दा पुग्यो । त्यसमा १९८ जना पक्राउ परे, जसमा ३ जना विदेशी थिए । पक्राउ परेकामध्ये १० प्रतिशत हाराहारी महिला छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा ९५ मुद्दामा १४३ जना पक्राउ परेको तथ्याङ्क प्रहरीसँग छ ।

प्रहरी निकट एक अध्ययनले ७२ प्रतिशत युवाले ‘आनन्द लिनका लागि’ लागु औषध प्रयोग गर्ने गरेको देखाएको छ । झन्डै ९६ प्रतिशतचाहिँ साथीभाइको संगतबाट दुर्व्यसनमा फस्ने गरेको ओलियाले बताए । उनका अनुसार लागु औषध प्रयोगकर्ता नै आफ्नो कुलत धान्नका लागि कारोबारी बन्ने प्रवृत्ति पनि बढ्दो छ ।

प्रहरीले रेस्टुरेन्ट, डिस्को, एकान्त गल्ली, बसपार्क, पुलमुनि र पर्यटकीय स्थलहरूलाई दुर्व्यसनका सम्भावित स्थानका रूपमा पहिचान गरेको छ । यसको नियन्त्रणका लागि ‘लागु औषधविरुद्धको महाअभियान’ सञ्चालन गरिरहेको छ ।

  • पुनःस्थापना केन्द्रबाट ४० प्रतिशतमा मात्रै सुधार

पोखरामा दुर्व्यसनीमा फसेकाहरूलाई सुधार गर्न १८ वटा पुनःस्थापना केन्द्र (रिहाब सेन्टर) सञ्चालनमा छन् । तीमध्ये १६ वटा पुरुषका लागि र २ वटा महिलाका लागि छन् । तर, ती पुनःस्थापना केन्द्रमा पुगेका पनि पूर्ण सुधार भएर फर्किएका छैनन् ।

पुनःस्थापना केन्द्रहरूका अनुसार, आफ्नो केन्द्रमा आएका लगभग ४० प्रतिशत जतिमात्रै स्वस्थ भएर फर्किने गरेका छन् । ‘प्रयास त सबैलाई उस्तै गरिन्छ, तर पीडित नै मानसिक रूपमा तयार नहुँदासम्म दुर्व्यसनबाट बाहिर निस्किन सकिँदैन,’ रिकभरी नेपाल कास्कीका पूर्वअध्यक्ष शिव न्यौपानेले भने, ‘हामी बानी ब्यहोरा सुधार्न अभ्यस्त गराउँछौँ । लगभग ४० प्रतिशतमात्रै पूर्ण निको भएर फर्किन्छन् ।’

प्रहरी, विद्यालय, अभिभावक र समाजको एकीकृत प्रयासविना यो समस्या नियन्त्रणमा ल्याउन कठिन हुने न्यौपानेले सुनाए । ‘यो नियन्त्रणको काम प्रहरीको मात्रै हो भन्ने बुझ्न हुँदैन । पुनःस्थापनाको जिम्मा पनि रिहाब सेन्टरको हो, त्यहाँ लगेपछि पूर्ण निको हुन्छ भन्ने मानसिकता छ,’ उनले भने, ‘पहिला बिरामी र उनका परिवार यसका लागि तयार हुनुपर्छ । दुर्व्यसनमा फस्नुअघि नै नियन्त्रणको प्रयास गर्ने हो । फसेपछि निस्किन गाह्रो हुन्छ ।’

  • २५ प्रतिशत दुर्व्यसनी अपराधमा

कास्की प्रहरीका अनुसार, लागु औषध दुर्व्यसनमा फसेकाहरूमध्ये झण्डै २५ प्रतिशत जति अपराध कार्यमा संलग्न छन् । आत्महत्यादेखि बलात्कार, देह व्यापार र सवारी दुर्घटनाको दरसमेत यसैका कारण उच्च छ । जिल्लाको पूरा मुद्दामध्ये ५ प्रतिशतभन्दा धेरै लागु औषधसँग सम्बन्धित छन् ।

‘हरेक फौजदारी कसुरको शीर्षकमा लागु औषध दुर्व्यसनी जोडिएका छन् । करिब २५ प्रतिशतजति ड्रग्स युजर आपराधिक कार्यमा लागेका छन् भन्ने हाम्रो आकलन हो,’ एसपी ओलियाले भने ।

पहिला युवाहरू समूहमा लागु औषध प्रयोग गर्थे । आजभोलि एक्लाएक्लै सेवन गर्नेहरू बढी छन् । ‘हिजो समूहमा हुन्थे । आजका युवाहरू कोठामा एक्लै छन्,’ यहाँका रिहाब सेन्टरहरूको निष्कर्ष छ, ‘यो एकान्त दुर्व्यसन झनै खतरनाक छ । किनकि यसले व्यक्तिलाई समाजबाट पूर्ण रूपमा अलग्याउँछ र उसलाई कसैले सुन्दैन ।’

  • कहाँबाट आउँछ लागु औषध ?

२०८० भदौ २५ गते अमेरिकाको ठेगानाबाट एउटा कार्टुन हुलाकमार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । यसमा पठाउने र पाउनेको नाम नै नक्कली थियो । लेकसाइडको ओम शान्ति हेयर सैलुनको ठेगाना लेखेर पठाइएको कार्टुन शंका लागेपछि हुलाक कार्यालयले नै चेकजाँच गरिदिन प्रहरीलाई पत्र पठायो । उक्त कार्टुन खोलेर हेर्दा खरानी रङको सोभनियरबाट १ किलो ४०० ग्राम गाँजा बरामद भयो ।

त्यसपछि प्रहरीले गज्जबको जुक्ति लगायो । उक्त कार्टुनमा छुट्टै चिज हालेर प्याक गरी पठाइयो । यो सामान क्षेत्रीय हुलाक कार्यालय पोखराले डेलिभरी गर्नुपर्ने थियो । सामान लिएर सम्बन्धित व्यक्ति खोज्दै जाँदा भदौ २७ गते हुलाक कार्यालय छेउबाटै भारत, केरलाका २४ वर्षीय अजिन भारगेस पक्राउ परे । उनलाई सोधपुछ गर्दा उक्त गाँजा आफैँले मगाएको स्विकारे ।

भारगेस बस्ने कोठामा खानतलासी गर्दा थप ७२० ग्राम गाँजा भेटियो । उनको कोठामा डिजिटल तराजु राखिएको थियो । फेरि असारतिर पनि थप गाँजा हुलाकमार्फत आयो । उनले उसैगरी हुलाक कार्यालयबाट गाँजा लिए । उसैगरी भदौमा पनि गाँजा उनलाई हुलाक मार्फत नै पठाइएको थियो । हुलाक मार्फत गाँजाको कारोबार गर्ने उनीमात्रै होइनन् ।

यस्ता घटनाको सूचना आइरहेको र वेलावेलामा आफूहरूले खानतलासी समेत गर्दै आएको प्रहरीले जनाएको छ । पोखरामा लागु पदार्थ आयात हुने धेरै बाटो छन् । प्रमुख बाटो भारतसँगको खुला सीमा हो । औषधिहरूको अवैध आयात र तस्करीको सञ्जाल नाकामा निकै बलियो छ । यही क्षेत्रमा काम गर्नेहरू ठुलै संख्यामा लागु औषध त्रिभुवन विमानस्थलबाटै छिराउने गरेको दाबी गर्छन् ।

त्यतिमात्र होइन, प्रविधिले पनि यो समस्यालाई झन् जटिल बनाएको छ । युवाहरू इन्टरनेट र डार्क वेबमार्फत कुन औषधिमा के मिसाउँदा कस्तो नशा लाग्छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्छन् । ‘च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई सोधेर पनि ड्रग्सको मिश्रण बनाउन सक्ने अवस्था छ,’ रिहाब सेन्टर चलाउँदै आएका एक युवाले भने, ‘यसले दुर्व्यसन नियन्त्रणलाई झन् जटिल बनाएको छ । युवाहरू एक्लै कोठामा बसेर, मोबाइलबाटै डिलरलाई सम्पर्क गरेर नशा प्रयोग गर्छन् ।’

  • कुन लागु औषध बढी प्रयोग हुन्छ ?

आर्थिक वर्ष २०७९/०८० सम्म लागु औषधको सूचीमा नरहेको टापेण्टाडोल आर्थिक वर्ष २०८०/०८१ मा प्रतिबन्ध लगाएपछि १ हजार ५४५ चक्की बरामद भयो । २०८१/०८२ मा ह्वात्तै बढेर १ लाख २२ हजार ९७५ चक्की बरामद भएको छ ।

२०७९/०८० मा ५०८ चक्की बरामद भएको नाइट्रोभ्याट २०८०/०८१ मा ४ हजार ६८१ चक्की बरामद भएको थियो भने २०८१/०८२ मा केही घटेर २ हजार ९९५ चक्की बरामद गरिएको छ ।

परम्परागत लागु औषध गाँजा २०७९/०८० मा ४२ केजी, २०८०/०८१ मा १०५ केजी र २०८१/०८२ मा ४० केजी प्रहरीले बरामद गरेको छ । पछिल्लो समय पोखरामा बुप्रिनर्फिन, डाईजपाम र फेनरागन बढी बरामद भएको देखिन्छ ।

प्रहरीका अनुसार यसको कम्बिनेसन प्रयोग गरेर ड्रग्सका रूपमा प्रयोग गर्ने धेरै छन् । आर्थिक वर्ष २०७९/०८० भन्दा २०८०/०८१ म बुप्रिनर्फिन २ हजार ५२६ बाट बढेर ३ हजार ३२९, डाईजपाम २ हजार ७२९ बाट ३ हजार ४२९, फेनरागन २ हजार ५४८ बाट बढेर ३ हजार ५८२ एम्पुल बरामद भएको थियो । तर २०८१/०८२ मा यी सबैको बरामद परिमाण घटेको छ । सो वर्ष बुप्रिनर्फिन २ हजार २ सय ४२, डाईआजपाम १ हजार ८०३ र फेनरागन १ हजार ८९३ एम्पुल बरामद गरिएको प्रहरी तथ्याङ्क छ ।

फेनरागन एण्टी एलर्जीको औषधि हो । डाईजापाम निन्द्रा लाग्ने र बुप्रिनर्फिन दुखाई कम गराउनका लागि प्रयोग हुन्छन् । तर यी तीन वटै औषधि अहिले निषेधित छन् ।

सुईबाट लागु औषध प्रयोग गर्नेमध्ये करिब ५ प्रतिशतलाई एचआइभी सङ्क्रमण सर्ने जोखिम हुन्छ । आजभोलि ट्याबलेट प्रयोग गर्ने भएकाले एचआइभी र हेपटाइटिसको समस्या घट्दो क्रममा छ । ब्राउन सुगर, चरेस, पिस र एम्फेटामाइन जस्ता लागु औषधको प्रयोग घट्दो क्रममा छ ।

कास्कीमा पछिल्ला वर्ष केही नयाँ लागु औषध पनि देखिएका छन् । अफिम, स्टागन, निटकोर, विनसेरेक्स जस्ता लागु औषध नयाँ देखिएका हुन् । समग्रमा कास्कीमा लागु औषध प्रयोग दर हेर्दा टापेन्टाडोल र नाइट्रोभ्याटको प्रयोग पछिल्ला वर्षहरूमा बढेको छ भने गाँजा, बुप्रिनर्फिन, डाईआजपाम र फेनरागनको प्रयोग उतारचढाव छ । ब्राउनसुगर र चरेस लगायतका केही लागु औषधहरूको प्रयोग घट्दो क्रममा देखिएको छ ।

२०७६ को सर्वेक्षण अनुसार गण्डकीमा ८ हजार ९५६ जना लागु पदार्थ प्रयोगकर्ता छन् । अहिले त्यो बढेर १० हजार भन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । प्रयोगकर्तामध्ये १० प्रतिशतजति महिला र बाँकी सबै पुरुष रहेको तथ्याङ्क छ । तथ्याङ्क अनुसार २१ प्रतिशत प्रयोगकर्ता विभिन्न खालको सरुवा रोगबाट पीडित छन् । झन्डै १ हजार जना उपचारका क्रममा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप