दुर्व्यसनीको रुप बदलिएको छ
सारांश
- पोखरामा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएको छ, जसमा युवाहरू बढी प्रभावित छन्।
- भारतबाट तस्करी भई आउने औषधिजन्य पदार्थको प्रयोग र 'ककटेल कल्चर' ले समस्या जटिल बनाएको छ।
- दुर्व्यसनी घटाउन स्वास्थ्य केन्द्रित नीति, पुनर्स्थापना र सामाजिक पुनःएकीकरण आवश्यक छ।
पोखरा जति सुन्दर छ, त्यसमा नदेखिएको एउटा अँध्यारो पाटो हो– लागु औषध दुर्व्यसनको जालो । कुनै वेला ‘हिप्पी संस्कृति’सँगै गाँजा र चरेसजस्ता परम्परागत नशालु पदार्थमा हराएका हुन्थे पोखरेली युवा ।
पोखरा लागु औषध उत्पादनको केन्द्र होइन । यहाँ भित्रिने अधिकांश औषधिजन्य पदार्थ खुला सिमानाको फाइदा उठाउँदै भारतबाट तस्करी भएर आउँछन् । सीमा क्षेत्रमा सय रुपैयाँमा पाइने वस्तु पोखरा आइपुग्दा हजारौँ रुपैयाँ पर्छ । यहाँ एउटा संगठित कालोबजार सक्रिय छ भन्ने यसले देखाउँछ । उसले नाफा कमाउनका लागि कसैको जीवन र स्वास्थ्यसँग खेलिरहेको छ ।
आज आएर त्यसको स्वरुप फेरिएको छ । औषधिजन्य दुर्व्यसनको महामारीसँग जुधिरहेको छ । यो समस्याको स्वरुप केवल बदलिएको मात्र छैन, यसले एउटा पूरै पुस्तालाई पासोमा पारेको छ । जसबाट आर्थिक, सामाजिक र मानवीय हिसाबले पनि जटिल अवस्था निम्त्याएको प्रस्ट छ ।
विगतमा हिप्पीहरूको आगमनसँगै पोखरामा लागुऔषधको अनौपचारिक प्रवेश भएको हो भन्दा फरक पर्दैन, तर त्यो समयको दुर्व्यसन र आजको अवस्थामा आकाश–जमिनको फरक छ । आज पोखराको सडक र गल्लीहरूमा हिरोइन, ब्राउन सुगर वा कोकिनजस्ता महँगा ड्रग्सको भन्दा कैयौँ गुणा बढी दबदबा औषधि पसलमा सहजै पाइने तर चिकित्सकको सिफारिसविना बेच्न नपाइने नियन्त्रित औषधिहरूको छ । ट्रामाडोल, डाइजेपाम, बुप्रिनर्फिन, नाइट्राभेटजस्ता औषधि दुर्व्यसनीका लागि ‘सजिलो नशा’ बनेका छन् ।
यी औषधि तुलनात्मक रूपमा पहुँचयोग्य हुनाले यसको प्रयोगकर्ताको संख्या ठुलो छ । अझ चिन्ताजनक पक्ष त के छ भने एउटामात्र औषधिमा सीमित नरहेर विभिन्न औषधि मिसाएर सेवन गर्ने ‘ककटेल कल्चर’ मौलाएको छ । खोकीको झोलमा निद्रा लाग्ने ट्याब्लेट घोलेर पिउनेदेखि लिएर विभिन्न औषधिलाई सुईमार्फत एकैपटक शरीरमा प्रवेश गराउनेसम्मका खतरनाक अभ्यासहरू सामान्य बन्दै गएका छन् । यसले स्वास्थ्यमा पार्ने तत्कालीन र दीर्घकालीन असर झनै विनाशकारी हुन्छ । यसबाहेक, ‘केमसेक्स’ जस्ता नयाँ प्रवृत्तिहरू पनि भित्रिँदैछन्, जहाँ यौन क्षमता बढाउने भ्रममा एम्फेटामाइनजस्ता उत्तेजक पदार्थहरूको प्रयोग गरिन्छ । यसले दुर्व्यसनको समस्यालाई थप जटिल र बहुआयामिक बनाएको छ ।
दुर्व्यसनको यो दलदलमा फस्ने अधिकांश १४ देखि २५ वर्ष उमेर समूहका युवा छन् । विद्यालय र कलेजमा पढ्दै गरेका किशोरकिशोरीदेखि लिएर बेरोजगारीको पीडामा छटपटाइरहेका युवाहरूसम्म यसको मुख्य सिकार बनेका छन् । साथीभाइको लहलहै, जिज्ञासा, मानसिक तनाव, पारिवारिक कलह र जीवनको उद्देश्यहीनता जस्ता कारणले उनीहरूलाई नशाको अँध्यारो सुरुङतर्फ धकेलिरहेको छ ।
यो समस्या कुनै निश्चित वर्ग वा समुदायमा मात्र सीमित छैन । मध्यमवर्गीय परिवारका, राम्रो शिक्षादीक्षा पाएका युवा पनि यसको चपेटामा परेका छन् । कतिपय अवस्थामा त आफ्नो दुर्व्यसनको लत पूरा गर्नकै लागि उनीहरू आफैँ स–साना कारोबारी बन्न बाध्य भएका छन् । यसले एकातिर उनीहरूलाई स्वास्थ्य जोखिममा पार्छ भने अर्कोतिर कानुनी झमेलामा फसाउँछ, जसबाट उम्किन लगभग असम्भव हुन्छ ।
पोखरामा हुने लागु औषध दुर्व्यसनीमा कारोबारीको भूमिका ठुलो छ । व्यावसायिक कारोबारी र आफ्नै प्रयोगका लागि गर्ने कारोबार लगभग उस्तै छ । यद्यपि, सबै कुरा निराशाजनक मात्रै छैन । विगतमा सुईद्वारा नशा लिने प्रयोगकर्ताहरूमा एचआईभी संक्रमणको दर २२ प्रतिशतसम्म पुगेकोमा अहिले घटेर २ प्रतिशतमा झरेको छ । यो ‘क्षति न्यूनीकरण’ कार्यक्रमको एउटा ठुलो सफलता हो ।
सुरक्षित सुई तथा सिरिन्ज वितरण, मेथोडोन र बुप्रिनर्फिन जस्ता प्रतिस्थापन उपचार र निरन्तरको सचेतनाले यो सम्भव भएको हो । यसले के प्रमाणित गर्छ भने दुर्व्यसनलाई केवल कानुनी र दण्डात्मक दृष्टिकोणले मात्र नभई स्वास्थ्य समस्याको रूपमा हेरेर वैज्ञानिक विधिहरू अपनाइयो भने सकारात्मक परिणाम ल्याउन सकिन्छ ।
दुर्व्यसनी घटाउनका लागि पोखरामा ‘ड्रग्स फ्री’ अभियान चलाइएको छ । पोखरामा हाल १७–१८ वटा पुनर्स्थापना केन्द्र सञ्चालनमा छन् । यीमध्ये अधिकांश केन्द्र कुनै वेला आफैँ दुर्व्यसनको पीडा भोगेका र त्यसबाट बाहिर निस्किएका व्यक्तिहरूले चलाएका छन् । उनीहरूको भोगाइ र समर्पण प्रशंसनीय छ, तर यी केन्द्रहरू स्रोत र साधनको अभावमा गुज्रिरहेका छन् । पुनर्स्थापना केन्द्रहरू केवल दुर्व्यसनबाट टाढा राख्ने थलोमात्र होइनन्, त्यहाँ व्यक्तिलाई जीवन जिउने कला, अनुशासन, आफ्नो जिम्मेवारी र सामाजिक व्यवहार सिकाइन्छ । बिहान समयमै उठ्ने, आफ्नो ओछ्यान मिलाउने, सरसफाइ गर्नेजस्ता सामान्य दैनिकीबाट सुरु भएर मानसिक परामर्श र जीवनोपयोगी सिपसम्मको तालिम दिइन्छ ।
तर, यी प्रयास अपर्याप्त छन् । पुनर्स्थापनापछि पनि कुलतमा फर्किने दर निकै उच्च छ । यसको मुख्य कारण हो–पुनर्स्थापनापछिको सामाजिक तथा आर्थिक पुनःएकीकरणको अभाव । तथ्याङ्कमा हेर्ने हो भने पुनर्स्थापना केन्द्रमा बसेर पूर्ण रूपमा सामान्य जीवनमा फर्किएका जम्मा २० प्रतिशत जति होलान् । अरु पटके रूपमा पुनर्स्थापना केन्द्रमा आउने र कुलतबाट मुक्त हुने बाटोमा जान मान्दैनन् । केन्द्रबाट निको भएर समाजमा फर्किंदा उसले रोजगारी पाउँदैन । परिवार र समाजले उसलाई शंकाको दृष्टिले हेर्छ । यो तिरस्कार र आर्थिक सङ्कटले उसलाई फेरि पुरानै अँध्यारो बाटोमा फर्किन बाध्य बनाउँछ । त्यसैले पुनर्स्थापनाको चक्र पूरा हुनका लागि उपचारपछिको पुनःएकीकरण सबैभन्दा महत्त्वपूर्ण कडी हो, जसमा राज्य र समाज दुवैको ध्यान पुग्न सकेको छैन । राज्यले पुनर्स्थापना केन्द्रमा विज्ञहरूको व्यवस्था गरिदिने, संरचना थप गरिदिने हो भने अझै प्रभावकारी काम गर्न सकिन्छ ।
अब के गर्ने ?
लागु औषध दुर्व्यसनको यो जटिल समस्यालाई समाधान गर्न अब दृष्टिकोणमा ठुलो परिवर्तनको खाँचो छ । कुनै एक पक्षले मात्रै दुर्व्यसन अन्त्य गर्न सक्दैन । यसमा सरोकारवाला सबै पक्षको भूमिका छ । अहिले हेर्ने हो भने दुर्व्यसनीलाई अपराधीको रूपमा हेरेर जेल पठाउने नीति सरकारको छ । यो असफल भइसकेको छ । जेलले उनीहरूलाई सुधार्नुको सट्टा झन् कठोर र समाजप्रति नकारात्मक बनाउँछ । अब राज्यले दुर्व्यसनलाई एक मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको रूपमा स्वीकार गरी स्वास्थ्य केन्द्रित नीति अपनाउनुपर्छ । सजाय होइन, सहारा र उपचार पहिलो प्राथमिकता हुनुपर्छ । उपचारभन्दा रोकथाम उत्तम हो भन्ने ध्येयबाट लगानी गर्नुपर्छ ।
विद्यालय तहदेखि नै केवल ‘लागुऔषध हानिकारक छ’ भन्ने सतही जानकारीमात्र होइन, जीवनोपयोगी सिप, तनाव व्यवस्थापन, भावनात्मक बौद्धिकता र मानसिक स्वास्थ्यसम्बन्धी बृहत् पाठ्यक्रम लागु गर्न आवश्यक छ । परिवार र समुदायस्तरमा पनि अभिभावकीय सचेतना र युवामैत्री वातावरण निर्माणमा जोड दिनुपर्छ ।
पुनर्स्थापना केन्द्रहरूलाई सरकारी अनुदान, प्राविधिक सहयोग र व्यावसायिक परामर्शदाताहरूको व्यवस्था गरेर सुदृढ गरिनुपर्छ । यी केन्द्रहरूलाई केवल दुर्व्यसनी राख्ने ठाउँको रूपमा मात्र नभई व्यावसायिक तालिम र सिप विकास केन्द्रको रूपमा विकास गर्नुपर्छ, ताकि त्यहाँबाट निस्किँदा व्यक्तिले आफ्नो जीवनयापन गर्न सकोस् । अनि छुटाउनै नहुने कुरा भनेको उपचारपछि समाजमा फर्किएका व्यक्तिहरूलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । उनीहरूलाई घृणा र शंकाले होइन, माया र अवसरले स्वागत गर्नुपर्छ ।
स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर उनीहरूका लागि रोजगारी र आयआर्जनका अवसरहरू सिर्जना गर्नुपर्छ, ताकि उनीहरूले सम्मानित जीवन जिउन सकुन् र कुलतमा फर्किने सम्भावना शून्य होस् ।
अन्त्यमाः दुर्व्यसनसँग जोडिएको सबै समस्याको समाधान प्रहरीको लाठी वा अदालतको फैसला हुँदै होइन । यसका लागि परिवारको माया, समाजको स्वीकारोक्ति, राज्यको जिम्मेवारीपूर्ण स्वास्थ्य नीति र सबैभन्दा महत्त्वपूर्ण दुर्व्यसनमा फसेका व्यक्तिको आफ्नै दृढ इच्छाशक्तिको खाँचो छ । जनचेतना नै दुर्व्यसन न्यूनीकरण गर्ने सबैभन्दा गज्जबको उपाय हो । जब हामी दुर्व्यसनीलाई अपराधी होइन, बिरामीको रूपमा हेरेर उपचारको हात बढाउँछौँ, तबमात्र हामी यो अँध्यारो सुरुङबाट बाहिर निस्किने उज्यालो बाटो पहिल्याउन सक्छौँ । पोखरालाई साँच्चिकै सुन्दर बनाइराख्ने हो भने युवाहरूको भविष्यलाई सुरक्षित गर्नु हाम्रो साझा कर्तव्य हो । यो महान् अभियान हो, सबैले हातेमालो गरौँ ।
(रिकभरी नेपालका पूर्वअध्यक्ष गुरुङसँग गरिएको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण