बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीमा लागु औषधको प्रवृत्ति र चुनौती

सोमबार, १६ भदौ २०८२, १० : ०२
सोमबार, १६ भदौ २०८२

सारांश

  • विश्वव्यापीकरणले लागुऔषधको कारोबार र दुर्व्यसन बढाएको छ, जसले नेपालमा पनि युवाहरूलाई प्रभावित पारेको छ।
  • नेपाल लागुऔषधको ट्रान्जिट र गन्तव्य स्थल बनेको छ, विशेषगरी भारतसँगको खुला सिमानाका कारण ओसारपसार सहज भएको छ।
  • सिन्थेटिक ड्रग्स र प्रविधिको प्रयोगले लागुऔषध नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ, जसको समाधानका लागि एकीकृत रणनीति आवश्यक छ।

विश्वव्यापीकरणले कारण संसारलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ । सूचना–प्रविधि, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले भौगोलिक दुरीलाई अर्थहीन बनाएको छ । यही विश्वव्यापीकरणले अवसरका साथै अनेकौँ चुनौती पनि बोकेर आएको छ । यसको एउटा गम्भीर र विनाशकारी पाटो हो– लागुऔषधको बढ्दो कारोबार र दुर्व्यसनको जालो । विश्वको कुनै एक कुनामा सिर्जना भएको समस्याको असर आज अर्को कुनामा तत्काल देखिन्छ । यही विश्वव्यापी प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अझै धेरै विदेशीको आवतजावत हुने गण्डकी र आसपासका क्षेत्र त्यसबाट अछुतो छैनन् ।

विगतको परम्परागत लागुऔषधको समस्यादेखि वर्तमानको बदलिँदो र जटिल प्रवृत्तिसम्म आइपुग्दा यहाँका युवाले एक बहुआयामिक संकटको सामना गरिरहेका छन् । यसबाट देशको युवाशक्ति, सामाजिक संरचना र राष्ट्रिय सुरक्षामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

नेपालको विशिष्ट भौगोलिक अवस्थिति लागु औषध कारोबारका लागि अनुकूल छ । दक्षिणमा भारतसँगको खुला सिमाना र उत्तरमा चीनसँगको रणनीतिक नाकाले नेपाललाई लागु औषधको ‘स्रोत, ट्रान्जिट र गन्तव्य’ मुलुकको रूपमा स्थापित गरिदिएको छ । चीनतर्फ भन्दा बढी भारतसँगको करिब १८०० किलोमिटर लामो खुला सिमाना लागु औषध ओसारपसारको सबैभन्दा सहज र प्रमुख मार्ग बनेको छ । सीमामा प्रभावकारी अनुगमनको कमी, कमजोर सुरक्षा संयन्त्र र दुवैतर्फका नागरिकको सहज आवतजावतले कारोबारीहरूलाई निर्वाध रूपमा आफ्नो सञ्जाल विस्तार गर्न मद्दत पुर्‍याएको छ ।

विश्व बजारमा आएका नयाँ–नयाँ सिन्थेटिक (रासायनिक) ड्रग्सले नेपाली युवाहरूलाई पनि आफ्नो कब्जामा लिइसकेको छ ।

गण्डकी प्रदेशमा आयात हुने अधिकांश लागु औषध यही नाकाबाट आउँछ । ऐतिहासिक रूपमा हेर्दा नेपाल गाँजा, चरेस र पोल्यानजस्ता प्राकृतिक लागु औषधको परम्परागत उत्पादन क्षेत्र मानिन्थ्यो । तर, अन्तर्राष्ट्रिय दबाब र कानुनी प्रतिबन्धपछि यसको खेती र प्रयोग गैरकानुनी भयो । यद्यपि, आज पनि धादिङ, मकवानपुर, रोल्पा, बागलुङजस्ता पहाडी जिल्लाहरूमा लुकीछिपी हुने गाँजा खेतीले यसलाई स्रोत मुलुकको पहिचान दिइरहेको छ । यहाँ उत्पादित गाँजा र चरेस पोखरा आउने गरेको छ । पोखरामा मात्रै होइन, यहाँबाट तेस्रो मुलुकसम्म पुग्ने गरेको अध्ययनले देखाएको छ । यसरी नेपाल एकातिर प्राकृतिक लागु औषधको स्रोत बनिरहेको छ भने अर्कोतिर भारतबाट भित्रिने रासायनिक र औषधिजन्य लागु औषधको प्रमुख बजार बन्दै गएको छ ।

पछिल्ला वर्षहरूमा लागु औषधको उत्पादन, प्रयोग र कारोबारको प्रवृत्तिमा नाटकीय परिवर्तन आएको छ । परम्परागत रूपमा गाँजा, चरेस, अफिमजस्ता प्राकृतिक लागु औषधको प्रयोग बढी हुन्थ्यो । एक अध्ययनअनुसार, नेपालमा ८०.४ प्रतिशतभन्दा बढी दुर्व्यसनीले आफ्नो कुलतको सुरुवात गाँजाबाटै गर्छन्, तर आजको पुस्ताको रोजाइ बदलिएको छ ।

विश्व बजारमा आएका नयाँ–नयाँ सिन्थेटिक (रासायनिक) ड्रग्सले नेपाली युवाहरूलाई पनि आफ्नो कब्जामा लिइसकेको छ । रसायनशास्त्रीहरूले प्रयोगशालामा बनाएका एम्फेटामाइन, मेथाम्फेटामाइन (आइस), एमडीएमए जस्ता शक्तिशाली र घातक लागु औषधको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यी ड्रग्स बोक्न र लुकाउन सजिलो हुने, थोरै मात्राले पनि बढी असर गर्ने र युवाहरूमाझ ‘पार्टी ड्रग्स’ का रूपमा लोकप्रिय भएकाले यसको नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।

यसका साथै, औषधि पसलमा सहजै पाइने तर चिकित्सकको सिफारिसविना प्रयोग गर्दा लागु औषधको रूपमा काम गर्ने औषधिहरूको दुरुपयोग अर्को विकराल समस्याको रूपमा देखा परेको छ । विशेषगरी, ट्रमाडोल, टपेन्टाडोल, कोडिन युक्त कफ सिरप, डाइजेपामजस्ता औषधि ‘मेडिकल कट’ को नाममा युवाहरू माझ व्यापक बनेका छन् । कास्की, तनहुँजस्ता जिल्लामा ठुलो मात्रामा यस्ता औषधि बरामद हुनुले यो समस्या स्थानीय तहसम्म फैलिएको देखिन्छ ।

लागु औषध दुर्व्यसन एक व्यक्तिको स्वास्थ्य समस्यासँग मात्रै सीमित हुँदैन । यसले सामाजिक र आर्थिक रूपमा गम्भीर संकटसमेत निम्त्याउँछ ।

अर्कोतर्फ, सूचना–प्रविधिको विकासले लागु औषध कारोबारीहरूलाई आफ्नो सञ्जाल विस्तार गर्न थप सहज बनाएको छ । आजको कारोबार परम्परागत शैलीमा मात्र सीमित छैन । कारोबारीहरूले आफ्नो पहिचान लुकाएर कारोबार गर्न ‘डार्क वेब’ प्रयोग गरिरहेका छन् । डार्क वेबमा क्रेता र बिक्रेताबिच सिधा सम्पर्क हुन्छ र कारोबार पूर्ण रूपमा गोप्य रहन्छ । भुक्तानीका लागि पनि परम्परागत मुद्राको सट्टा क्रिप्टोकरेन्सी जस्तै बिटक्वाइनको प्रयोग हुन थालेको छ । यसबाट वित्तीय कारोबारको अनुगमन गर्न सुरक्षा निकायहरूलाई असम्भवप्रायः भएको छ । यसरी प्रविधिले कारोबारीलाई एक कदम अगाडि राखेको छ भने कानुन कार्यान्वयन गर्ने निकायहरूलाई पछाडि राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुरियरमार्फत हुने तस्करीका घटनाहरूले पनि यसको सञ्जाल कति संगठित र प्रविधिमैत्री छ भन्ने देखाउँछ ।

  • सामाजिक–आर्थिक प्रभाव

लागु औषध दुर्व्यसन एक व्यक्तिको स्वास्थ्य समस्यासँग मात्रै सीमित हुँदैन । यसले सामाजिक र आर्थिक रूपमा गम्भीर संकटसमेत निम्त्याउँछ । परिवार विखण्डन, घरेलु हिंसा र सामाजिक विचलन निम्त्याउँछ । दुर्व्यसनीहरू आफ्नो कुलत पूरा गर्न चोरी, डकैती, लुटपाटलगायतका आपराधिक क्रियाकलापमा संलग्न हुन्छन्, जसले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गरेको छ । यसको सबैभन्दा ठुलो मार देशको भविष्य मानिने युवाशक्तिमा परेको छ । बेरोजगारी, पारिवारिक कलह, साथीहरूको दबाब, मानसिक तनाव र पश्चिमा संस्कृतिको अन्धानुकरणले धेरै युवाहरूलाई दुर्व्यसनको दलदलमा फसाइरहेको छ । एकपटक कुलतमा फसेपछि उनीहरूको शैक्षिक र व्यावसायिक भविष्य अन्धकार हुन्छ । देशले एउटा ऊर्जाशील र उत्पादनशील जनशक्ति गुमाउँछ ।

नेपाल सरकार र गैर–सरकारी संस्थाहरूले लागु औषध नियन्त्रणका लागि प्रयासहरू नगरेका होइनन् । कडा कानुनी व्यवस्था, सीमा क्षेत्रमा निगरानी, जनचेतनामूलक कार्यक्रमहरू र सुधार केन्द्रहरूको सञ्चालनजस्ता कार्यहरू भइरहेका छन् । तर, यी प्रयास समस्याको अगाडि फितला छन् । भारतसँगको खुला सिमानाको प्रभावकारी व्यवस्थापन गर्न नसक्नु, सुरक्षा निकायहरूलाई आधुनिक प्रविधि, उपकरण र पर्याप्त जनशक्ति उपलब्ध गराउन नसक्नु, सरकारी निकायहरू, गैर–सरकारी संस्था र समुदायबिच प्रभावकारी समन्वयको अभाव र कतिपय अवस्थामा सुरक्षाकर्मी र कर्मचारीहरूको संलग्नताले नियन्त्रण प्रयासलाई कमजोर बनाउनु तथा दुर्व्यसनीलाई अपराधीको रूपमा मात्र हेर्ने तर उनीहरूको उपचार र सामाजिक पुनर्स्थापनामा पर्याप्त ध्यान नदिनु अहिलेको प्रमुख चुनौती हो ।

हामी के निष्कर्षमा छौँ भने नेपालमा लागु औषधको समस्या परम्परागत सीमाहरू तोड्दै विश्वव्यापीकरण, प्रविधि र बदलिँदो सामाजिक परिवेशसँगै थप जटिल र भयावह बनेको छ । अब यो कानुन कार्यान्वयनको विषयमात्रै होइन, सार्वजनिक स्वास्थ्य संकट र राष्ट्रिय सुरक्षाको चुनौतीसमेत हो । यो गम्भीर संकटबाट पार पाउन एक बहुआयामिक र एकीकृत रणनीति आवश्यक छ । राज्यपक्षले सीमा सुरक्षामा ‘अंकुश’ लगाउन लगानी बढाउनुपर्छ । कानुन कार्यान्वयनमा ‘दबाब’ सिर्जना गर्नुपर्छ र प्रविधिमा आधारित अनुसन्धान प्रणालीको विकास गर्नुपर्छ ।

अर्कोतर्फ, गैर–सरकारी क्षेत्र, नागरिक समाज र परिवारले जनचेतना अभिवृद्धि र रोकथामका कार्यक्रमहरूलाई गाउँ–गाउँसम्म पुर्‍याउनुपर्छ । दुर्व्यसनीलाई घृणा होइन, माया र उचित उपचार दिएर समाजमा पुनर्स्थापित गर्ने वातावरण सिर्जना गरिनुपर्छ । रोकथाम, उपचार र नियन्त्रणको त्रि–आयामिक रणनीतिलाई राज्य र समाजले एकसाथ अगाडि बढाउन सके मात्र नेपालको भविष्यलाई लागु औषधको अँध्यारो छायाबाट जोगाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अदित्य शर्मा
अदित्य शर्मा
लेखकबाट थप