१० बजे १० समाचार : ‘निजामती कर्मचारीको उमेरहदबारे विवाद’देखि ‘मन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी’सम्म
सारांश
- निजामती कर्मचारीको अवकाश उमेर हदमा विवाद कायमै छ, मन्त्रीले सचिवको गाडीको चाबी खोसे।
- रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने, गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको बैठकले ९ बुँदे निर्णय गर्यो।
- सरकारले सामाजिक सञ्जाल दर्ता गर्न दिएको समय सकिँदै गर्दा निजी विद्यालयका बसको र्याली प्रदर्शन, प्रधानमन्त्रीको शाङ्घाई शिखर सम्मेलनमा सम्बोधन।
आज २०८२ भदौ १६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा निजामती कर्मचारीको अवकाश उमेरहदमा विवाद, सचिव चढ्ने गाडीको चाबी मन्त्रीले खोसे, विवादका बाबजुद रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने, गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीसहितको बैठकमा ९ बुँदे निर्णय, धरानका मेयरलाई काठमाडौँमा समर्थकको स्वागत, दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ला सरकारले ? लगायत छन् ।
१. निजामती कर्मचारीको अवकाश उमेरहदमा विवाद
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा निजामती कर्मचारीको अवकाश उमेरहदका विषयमा विवाद भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफलका क्रममा सरकारले कर्मचारीको अवकाश उमेर ५९ वर्ष हुनुपर्ने अडान राखेपछि विवाद भएको हो ।
२. सचिव चढ्ने गाडीको चाबी मन्त्रीले खोसे
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् । आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् ।
३. विवादका बाबजुद रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिए पनि रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।
४. गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीसहितको बैठकमा ९ बुँदे निर्णय
गण्डकी र लुम्बिनी प्रदेशबिच विकासमा सहकार्य गर्ने उद्देश्यका साथ सोमबार बसेको समन्वयात्मक बैठकले ९ बुँदे निर्णय गरेको छ । स्याङ्जाको धार्मिक क्षेत्र उत्तरबाहिनीमा दुवै प्रदेशका मुख्यमन्त्रीसहित बसेको बैठकले दुई प्रदेशबिच समन्वय र सहकार्यसम्बन्धी निर्णय गरेको हो ।
५. धरानका मेयरलाई काठमाडौँमा समर्थकको स्वागत
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन् ।
६. दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ला सरकारले ?
सरकारले सामाजिक सञ्जाललाई दर्ता हुन एक साताको समय दिएको थियो । उक्त समयावधि बित्न लाग्दा न्यूनमात्र सामाजिक सञ्जाल दर्ता भएका छन् । सामाजिक सञ्जाल बन्द गर्न कानुनी रूपमा सरकारलाई बलियो आधार रहे पनि व्यावहारिक चुनौती र कठिनाइ कायमै छन् ।
७. निजी विद्यालयका बसको र्याली
विद्यालय शिक्षा विधेयकमा राखिएका प्रावधानको विरोधस्वरुप निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
८. भदौ ३० देखि सुपथ मूल्य पसल
सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
९. शाङ्घाई शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका छन् ।
१०. पोखरामा लागु पदार्थ दुर्व्यसन बढ्दो, कसरी रोक्ने ?
पोखरामा लागु पदार्थ दुर्व्यसन बढ्दो छ । यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण