एमाले विधान महाधिवेशन : तय गर्नुपर्छ पार्टीको आगामी २५ वर्षे कार्यदिशा
सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले विधान महाधिवेशनको संघारमा छ । यही भदौ २०–२२ गते ललितपुर गोदावरीमा हुने यस अधिवेशनले पार्टिको नीति र विधान पारित गर्नेछ । पार्टीको नीति र विधानका आधारमा सांगठनिक संरचनाको आगामी बाटो समेत तय गर्नेछ ।
समृद्ध नेपाल सुखी नेपालीको लागि कस्तो नीति, कस्ता कार्यकर्ता, कस्ता कमिटी र कस्ता जनसंगठन आवश्यक पर्नेछ भन्ने कुराको छिनोफानो पनि लगाउने छ । कम्युनिस्ट पार्टीको स्थापनाको १०० वर्षलाई ‘टार्गेट’ समय मान्ने हो भने अबको २५ वर्षमा के-के गर्नुपर्ने हो ? डे वानबाट सुरु गरिने कार्यक्रम के-के हुन् ? सामन्यतया अल्पकालीन र दीर्घकालीन नीति यस महाधिवेशनले तय गर्नेछ ।
हामीले कस्तो पार्टी बनाउदैछौं भन्ने कुराले कस्तो राष्ट्र निर्माण गर्ने हो भन्ने कुराको पनि निर्क्योल हुन्छ । त्यसकारण पार्टीको विधान महाधिवेशनले निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
सदस्यता र सांगठनिक संरचना
एमाले संगठनात्मक संरचनाका हिसाबले एसियाकै राम्रो पार्टीमध्येमा पर्छ । जनवादी केन्द्रीयतामा आधारित संगठनात्मक सिद्धान्तले जनआधारित कार्यकर्ता निर्माणमा विशेष जोड दिन्छ । पार्टीभित्र आलोचना–आत्मालोचना, अनुशासन, जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्छ । पार्टीका नेता र कार्यकर्ताहरू सूर्यमुखी जस्तो सूर्यतिर फर्किरहने होइन, बरु सयौं वर्ष बाँचिरहने वरजस्तै निरन्तर जमिनसँग जोडिने जरा विस्तारमा लागिरहनुपर्छ ।
जनतातिर फर्किने र जनमत सिर्जना गर्ने जनताको नजिक रहन, समस्या बुझ्न र समाधानका लागि क्रियाशील कार्यकर्ता आजको आवश्यकता हो । मदन भण्डारीका अनुसार ‘सच्चा कम्युनिस्ट नेता जनताको सपनालाई आफ्नै सपना ठान्छ ।‘ यसले पार्टीको नेतृत्वमा त्याग, इमानदारी र जनभावनाको सम्मानप्रति सदैव दृढ रहन प्रेरित गर्छ । पार्टी सदस्यता गौरवको विषय बन्नुपर्छ । सदस्यता प्रवेशका लागि निश्चित प्रक्रिया (कोर्स) पार गर्नैपर्ने वाध्यात्मक बाटो बनाउनुपर्छ । सदस्यताको नाम संगठित तर त्यो सदस्यता प्राप्त गर्ने व्यक्ति असंगठित हुने अररो परिस्थिति अन्त्य गरिनुपर्छ । पार्टीभित्र जनआकर्षण पैदा गर्ने र विशेषगरी सबै क्षेत्रका युवाहरुको कमिटीमा उपस्थिति रहने विषय सुनिश्चितताको विधि कायम गरिनुपर्छ ।
विचार स्पष्ट भएपछि मात्र त्यसले वास्तविकता परिवर्तन गर्न सक्छ । यही दृष्टिकोणमा अडिएर जननेता मदन भण्डारीले ‘मार्क्सवादलाई नेपालीकरण गर्नुपर्छ’ भनेका थिए । वैचारिक आधार मार्क्ससवाद–लेनिनवादको जगमा टेकेर त्यसलाई नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग जोडेर प्रयोग नगरेसम्म सफल समाजवादी क्रान्ति सम्भव छैन । त्यसैले आजको वैचारिक स्पष्टता भनेको राष्ट्रिय पुँजीको विकास र समाजवादको निर्माणको यात्रा तय गर्नु हो ।
नेपाली समाजको सामाजिक–आर्थिक रूपान्तरणलाई वैज्ञानिक आधारमा अघि बढाउन पार्टीले मार्क्सवाद–लेनिनवाद र लोकतान्त्रिक गणतन्त्रको आधारमा समाजवादसम्म पुग्ने बाटोमा अगाडि बढाउने घोषित लक्ष्यलाई सफल पार्न सक्ने कमिटी निर्माण गर्नु आजको मुख्य काम हुन गएको छ । यो विषय नीति महाधिवेशनको एउटा महत्वपूर्ण सवाल बन्नुपर्छ ।
नीति र कार्यक्रमको तालमेल
समृद्धिका लागि उद्यमशीलताको विकास, रोजगारीको सिर्जना, कृषिमा आधुनिकीकरण, औद्योगिक विकास, शिक्षा र स्वास्थ्य सुधारमा पार्टीको स्पष्ट नीति तय गर्नुपर्नेछ । निर्वाचनताका पार्टीले तयार पारेका घोषणा पत्रहरु कहिलेसम्म, कस-कसले र कसरी कसरी लागु गर्ने हो ? त्यसमा पार्टी कमिटी र जनसंगठनहरुको भूमिका के हुने हो ?
स्वाबलम्बी अर्थतन्त्र, सामाजिक समानता र राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्ने मूलबाटोलाई अझ फराकिलो बनाउन पार्टी कमिटी र जनसंगठनहरुले के-कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? यी यावत् विषयको निर्क्योल निकाल्ने ऐतिहासिक थलोको रुपमा सिंगो देशले एमालेको विधान महाधिवेशनलाई हेरिरहेका छन् ।
मार्क्सले भनेका छन्- ‘संसारलाई व्याख्या मात्र गर्ने होइन, संसारलाई बदल्ने हो ।‘ नेपालको वर्तमान अवस्थालाई व्याख्या मात्रै गर्ने होइन, बदल्ने योजना आजको आवश्यकता हो । बदल्नका लागि महत्त्वपूर्ण नक्सा कोर्ने थलो बन्नुपर्छ यो विधान महाधिवेशन ।
वैचारिक स्पष्टता
कम्युनिस्ट आन्दोलन, राजनीतिक दल वा कुनै पनि सामाजिक रूपान्तरणको यात्रामा वैचारिक स्पष्टता नै मेरुदण्ड हो । योविना संगठनहरू केवल भीड, आन्दोलनहरू क्षणिक र नेताहरू अवसरवादी बन्न पुग्छन् । लोकप्रियतावाद, मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सताइरहेको वर्तमान नेपाली समाजलाई सही दिशानिर्देश गर्ने गरी मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई अझ सिर्जनात्मक बनाउनुपर्नेछ ।
भ्लादिमिर लेनिनले वैचारिक स्पष्टताको महत्वलाई गहिरो ढंगले पस्तुत गरेका छन्- ‘क्रान्तिकारी सिद्धान्त विना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।‘ कस्तो विचार निर्माण गर्ने भन्ने सन्दर्भमा अझ माओत्से तुङले भनेका छन्- ‘अनुसन्धान नगरेसम्म बोल्ने अधिकार छैन ।‘
यसले विचार पुस्तकमा होइन, जनजीवनमा परीक्षण हुनुपर्छ भन्ने देखाउँछ । विचार स्पष्ट भएपछि मात्र त्यसले वास्तविकता परिवर्तन गर्न सक्छ । यही दृष्टिकोणमा अडिएर जननेता मदन भण्डारीले ‘मार्क्सवादलाई नेपालीकरण गर्नुपर्छ’ भनेका थिए । वैचारिक आधार मार्क्ससवाद–लेनिनवादको जगमा टेकेर त्यसलाई नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग जोडेर प्रयोग नगरेसम्म सफल समाजवादी क्रान्ति सम्भव छैन । त्यसैले आजको वैचारिक स्पष्टता भनेको राष्ट्रिय पुँजीको विकास र समाजवादको निर्माणको यात्रा तय गर्नु हो ।
राष्ट्रिय पुँजीको विकास गर्ने कार्यकर्ता भनेका उत्पादन र उद्यममा जोडिएका, राज्यलाई राजस्व वृद्धि गर्ने साझेदारको रुपमा खडा हुनुपर्नेछ । एउटा कमिटीले एक वर्षमा समाजवादको निर्माणको आधारशीलामा कति योगदान गर्यो भन्ने विषयलाई नेतृत्व विकासको मापदण्ड बनाइनुपर्छ । एक कार्यकर्ताले राष्ट्रिय पुँजी निर्माण, उद्यमशीलता र रोजगारीको सिर्जनामा कति योगदान गरिरहेको छ ? अझ कसरी बढी योगदान गर्न सक्ने बनाउन सकिन्छ भनेर पनि पार्टीले मूल्यांकन गर्नुपर्नेछ । युवापंक्तिमा बढ्दो निराशालाई अन्त्य गर्दै देशभित्रै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने एउटा राष्ट्र निर्माणको राष्ट्रिय मनोविज्ञान सिर्जना गर्नुपर्नेछ ।
वैचारिक स्पष्टता भनेको ‘पढाइ’ वा ‘सिद्धान्त’ मात्र होइन, समाजलाई विश्लेषण गर्ने दृष्टिकोण हो । पार्टी, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने साझा आधार पनि हो । वैचारिक अस्पष्टता हुँदा संगठनमा विभाजन, नेतृत्वमा अविश्वास र आन्दोलनमा दिशाहीनता आउँछ । तर वैचारिक स्पष्टता हुँदा संगठन एक ढिक्का, जनता विश्वस्त र आन्दोलन सफल हुन्छ । यो महाधिवेशनले पार्टीको आगामी २५ वर्षे यात्रालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा स्पष्ट दिशानिर्देश गर्न सक्नुपर्छ ।
राजनीतिक कार्यक्रम
राजनीतिक कार्यक्रम आन्दोलनलाई मार्गनिर्देशन गर्ने कम्पास हो । सही राजनीतिक कार्यक्रमले जनताको आवश्यकता सम्बोधन गर्ने र जनसमर्थन बढाउने कार्य गर्छ । संगठनात्मक एकता र संगठनभित्र समान विचार र नीति निर्माणमा महत्त्वपूर्ण कार्य गर्छ । कार्यक्रमले अन्तर्राष्ट्रिय छवि र विश्व राजनीतिमा आफ्नो पहिचान स्थापित गराउँछ ।
राजनीतिक कार्यक्रम भनेको नारा मात्र होइन, यो समाजको जीवन्त दस्तावेज हो । यो जनताको आकांक्षा, संगठनको विचार र इतिहासको आवश्यकता मिलाएर बनाइनुपर्छ । हाम्रो राजनीतिक कार्यक्रमले ‘समाजवादको बाटो’ त देखाउनुपर्छ । त्यसका लागि तत्काल जनताको जीवनस्तर सुधार गर्ने कार्यक्रममा अझै ठोस कार्यान्वयनको खाँचो छ ।
आन्दोलनले कस्तो समाज निर्माण गर्ने हो ? कुन बाटो समात्ने हो ? कुन किसिमका नीतिहरू अपनाउने हो ? भन्ने कुरामा स्पष्ट दिशानिर्देश दिन्छ । एमालेसँग मूलत: राजनीतिक कार्यक्रम तीन तहमा हुने तय गरेका छन् । मूल कार्यक्रम- दीर्घकालीन लक्ष्य, जस्तै- समाजवाद स्थापना । रणनीतिक कार्यक्रम- त्यो लक्ष्यमा पुग्ने मार्ग, जस्तै- जनताको बहुदलीय जनवाद । तात्कालिक कार्यक्रम- तत्काल जनताका आवश्यकता सम्बोधन गर्ने कार्यक्रम, राष्ट्रिय पुँजीको विकास, जस्तै- उद्यम र रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्यमा पहुँच, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान आदि ।
विश्व अनुभवका उदाहरण मार्क्स–एंगेल्स (कम्युनिष्ट घोषणापत्र, १८४८), पहिलो पटक स्पष्ट राजनीतिक कार्यक्रम प्रस्तुत भयो । निजी सम्पत्तिको अन्त्य, श्रमिक वर्गको राज्यसत्ता, साम्यवादतर्फको मार्ग । लेनिन (रूस, १९१७), ‘शान्ति, भूमि, रोटी’ भन्ने राजनीतिक कार्यक्रम प्रस्तुत गरेर तत्काल श्रमिक र किसानलाई आकर्षित गरे । अर्थात् युद्ध होइन, न्यायपूर्ण शान्ति, उत्पादनको साधनमा बराबरी स्वामित्व र गरिमामय सम्मानको जीवनयापन । यही आधारमा अक्टोबर क्रान्ति सफल भयो । माओ (चीन), ‘नौलो–जनवादी क्रान्ति’ को कार्यक्रम ल्याएर उपनिवेशवाद, सामन्तवाद र दलाल नोकरशाही–पुँजीवाद विरुद्ध संघर्ष गरे ।
यो अभियानमा यतिसम्म कि ‘पश्चिमाको मानव अधिकारको पछि धेरै नदौड, बरु राष्ट्रका लागि त्याग गर्न तयार बन’ भनेर सबैले श्रम गर्ने र ‘महिनामा एक दिन मात्रै मासुभात खाऔं तर राष्ट्रका लागि योगदान गरौं’ भन्ने भावना जागृत गरे । फलस्वरुप आजको समृद्धशाली चीन बन्न सफल भयो । यी सबैले प्रमाणित गर्छन्, राजनीतिक कार्यक्रम स्पष्ट र जनताको जीवनसँग जोडिएको हुनुपर्छ ।
नेपालमा राजनीतिक कार्यक्रम झलक
२००७ सालको प्रजातन्त्र आन्दोलनको लक्ष्य थियो राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना ।
२०३६ सालको जनमत संग्रहको राजनीतिक कार्यक्रम थियो पञ्चायती शासनको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना ।
२०४६ सालको जनआन्दोलनको लक्ष्य थियो पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्रको स्थापना ।
२०६२–६३ को जनआन्दोलनको कार्यक्रम थियो राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना ।
त्यसो भए अब कार्यक्रमको नारा के हुने त ? वर्तमान नेपालमा आवश्यक राजनीतिक कार्यक्रम कस्तो हुने ?
अबको कार्यक्रमिक नारा ‘दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको निर्माण र समाजवादको स्थापना’ भन्ने हुनुपर्छ । समाजवादको स्थापना हो भने शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर संविधान कार्यान्वयनको सवाल महत्त्वपूर्ण छ । उद्यमशीलताको विकास, उद्योगको विकास, सुशानसको ग्यारेन्टी र राज्यको अभिभावकीय भूमिका आदिको चेनलाई व्यवस्थित गराई कार्यान्वयन गर्नुपर्नेछ ।
पार्टीको राजनीतिक कार्यक्रम नहुँदा के हुन्छ ? आन्दोलन दिशाहीन हुन्छ । गुटबन्दी र अवसरवाद बढ्छ । जनताको समर्थन गुम्छ । आन्दोलन अल्पकालीन लोकप्रियतामा सीमित हुन्छ । नेपालका अधिकांश पार्टीहरुमा यो महारोग बनिरहेको छ ।
आज नेपालका युवा, श्रमिक, किसान, महिला, दलित, आदिवासी जनजाति सबैका साझा समस्या छन् । बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भरता, शिक्षामा असमानता, स्वास्थ्य र सामाजिक सुरक्षाको कमी, भ्रष्टाचार र असक्षमता, कृषि र उद्योगमा मागअनुसारको सुधार नहुनु । त्यसैले अहिलेको राजनीतिक कार्यक्रमले यी बुँदामा जोड दिनुपर्छ । रोजगारी सिर्जना (उद्योग, सहकारी, पर्यटन, कृषि), व्यावसायिक र प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य र सामाजिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासन, समावेशीकरण र समानता, वातावरण संरक्षण र जलवायु न्याय ।
त्यसैले राजनीतिक कार्यक्रम भनेको नारा मात्र होइन, यो समाजको जीवन्त दस्तावेज हो । यो जनताको आकांक्षा, संगठनको विचार र इतिहासको आवश्यकता मिलाएर बनाइनुपर्छ । हाम्रो राजनीतिक कार्यक्रमले ‘समाजवादको बाटो’ त देखाउनुपर्छ । त्यसका लागि तत्काल जनताको जीवनस्तर सुधार गर्ने कार्यक्रममा अझै ठोस कार्यान्वयनको खाँचो छ । त्यसैले आजको चुनौती भनेकै वैचारिक स्पष्टताका साथ व्यावहारिक राजनीतिक कार्यक्रम मिलाएर अघि बढ्नु हो । अर्थात् विचार व्यवहारको तालमेल जरुरी छ । यो विधान महधिवशेन यस सवालमा कोसेढुङ्गा बन्न सक्नुपर्छ ।
समाजवादी अर्थतन्त्र निर्माण
प्राकृतिक स्रोत (जल, वन, खानी) को राष्ट्रिय स्वामित्व कायम गर्ने, सहकारी र उत्पादनमूलक उद्यमलाई प्रोत्साहन दिने, समावेशी समाज निर्माण, वर्ग, जाति, लिङ्ग, क्षेत्रीय तथा सांस्कृतिक आधारमा हुने भेदभाव अन्त्य गर्ने, समान अवसरको नीति कार्यान्वयन गर्ने अभियान चलाउनुपर्छ ।
कृषिमा आधुनिकीकरणमार्फत आत्मनिर्भरता स्थापित गर्ने, उद्योग र जलविद्युतमा लगानी बढाउने, युवालाई रोजगारी सिर्जना गर्ने विशेष अभियान सञ्चालन गर्ने, श्रमशक्तिको उत्पादनमुखी परिचालन गर्ने, सबै नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, लैंगिक समानता र महिला सशक्तीकरण गर्ने, सामाजिक सुरक्षा योजना (वृद्धभत्ता, अशक्त भत्ता) लाई अझ व्यवस्थित बनाउने, भ्रष्टाचारविरुद्ध कडा अभियान, कानुनी शासन र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने, स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउने, ऊर्जा, सडक, सूचना प्रविधि र सहरी–ग्रामीण विकासमा जोड दिने कार्यक्रम ल्याउनैपर्छ ।
पर्यटनलाई आन्तरिक उत्पादनमा योगदान दिने प्रमुख क्षेत्र बनाउने, रोजगार र उद्यमशीलता कार्यक्रम सञ्चालन, ‘युवा उद्यम कोष’ स्थापना, ‘स्वदेशमै रोजगारी’ राष्ट्रिय अभियान सञ्चालन, ‘एक घर–एक सीप’ अभियान सञ्चालन, प्रवासी नेपाली सञ्जाल स्थापना र युवालाई स्वदेश विकासमा सहभागी गराउने अभियान सञ्चालन गर्नु जरुरी छ ।
चुनौती र समाधान
वर्तमान राजनीतिक परिस्थिति र आगामी लक्ष्य ‘मिसन ८४’ (एमालेलाई एकल बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति बनाउने) लाई सफल बनाउन संगठनात्मक क्षमता र रणनीतिक योजना अपरिहार्य छ । त्यसमा केही चुनौती अवश्य छन् तर बाधा व्यवधान पन्छाउँदै पार्टीले लक्ष्य भेट्नैपर्ने हुन्छ ।
वैचारिक स्पष्टताका लागि निरन्तर प्रशिक्षण, स्मरण सभा, विचार–चिन्तन कार्यक्रम सञ्चालन, मार्क्स, लेनिन, माओ र मदन भण्डारीका विचारलाई व्यावहारिक राजनीतिक कार्यक्रममा रूपान्तरण अभियान सञ्चालन गर्नुपर्छ ।
गाउँदेखि जिल्ला र केन्द्रीय तहसम्म पार्टी कमिटीलाई सक्रिय बनाउने, जिम्मेवारी स्पष्ट र पारदर्शी कार्य विभाजन, कामको निश्चित कार्यतालिका, नियमित अनुगमन र मूल्यांकन विधि स्थापित गर्नुपर्छ ।
युवा, महिला, किसान, मजदुर, विद्यार्थी समुदायलाई पार्टीसँग निरन्तर जोड्ने अभियान चलाउनुपर्छ । नेतृत्व विकास, स्थानीय तहमा नीतिगत प्रभाव सुनिश्चित गर्ने, केन्द्रीय कमिटी मात्रै चल्ने तर आधारभूत तहमा कमिटी चल्न नसक्दा उद्देश्य हासिल गर्न सकिँदैन । पार्टीको वास्तविक नर्सरीको रुपमा जनसंगठन रहनुपर्छ ।
बहुमत प्राप्त निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य नै मिसन ८४ हो । यसका लागि स्थानीय तहमा सुदृढीकरण गर्ने र नगरपालिका, गाउँपालिका र प्रदेश सरकारमा प्रभाव कायम राख्नुपर्छ । जनताको विश्वास जित्ने अभियान सञ्चालन गर्नुपर्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, कृषि र उद्योग सम्बन्धी बृहत आशा जागृत गर्ने अभियान सञ्चालन गर्नुपर्छ । यो विषयमा विधान महाधिवेशनले निश्चित फैसला गर्न सक्नुपर्छ ।
पार्टीलाई परिवर्तित सन्दर्भमा अपडेट गर्ने, नेतृत्वको क्षमता अभिवृद्धिमा नियमित योगदान पुर्याउने, विश्व कम्युनिस्ट आन्दोलन र वर्तमान विश्व व्यवस्थाको विषमा विशेष अध्ययन गर्ने, हरेक पार्टी सदस्यले अनिवार्य कक्षा लिनैपर्ने, बदलिएको विज्ञान प्रविधि र एआई मैत्री नेता, कार्यकर्ता, संगठन र तिनको सञ्चालन प्रक्रियालाई अपडेट गरी पार्टी स्कुलको स्थापना गर्नुपर्छ ।
पार्टी प्रचारको कार्य अहिलेको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण सवाल हो । प्रचार कार्य पार्टीको केवल आफ्नो विचार प्रसारण गर्ने माध्यम मात्र होइन, बरु जनता र समाजसँग सशक्त संवाद गर्ने रणनीतिक कार्य हो । प्रचारलाई योजनाबद्ध, वैज्ञानिक र तथ्यमा आधारित ढंगले अघि बढाउँदा मात्र आम नागरिकको विश्वास जित्न, भ्रम चिर्न, वैचारिक स्पष्टता कायम गर्न र संगठनको दीर्घकालीन आधार सुदृढ गर्न सकिन्छ ।
(केसी राष्ट्रिय युवा संघ नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण