ज्ञवाली र पाण्डेको फरक मतबारे सचिवालय बैठकमा छलफल हुने
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उनको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘नेताहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ’, महासचिव पोखरेलले भने, ‘त्यो दस्ताबेजमाथिको फरक मत होइन केन्द्रीय कमिटीको निर्णय माथिको हो,त्यसैले भोलि बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुन्छ ।’
उनले ती नेताहरूले विचारमा नभई निर्णय मात्र फरक मत राखेको दाबी पनि गरे । निर्णय र दस्ताबेजमाथिको फरक मतमा भिन्नता हुने भन्दै फरक मतमाथिको छलफल गर्ने आफ्नै विधि रहेको महासचिव पोखरेलले बताए ।
‘कुनै पनि अधिवेशनमा राखिने फरक मत सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टी नियमावलीले गरेको छ’, पोखरेलले भने, ‘कसैले फरक मत राख्नुभयो भने सम्बन्धित अधिवेशनमै छलफल गर्ने हाम्रो वैधानिक व्यवस्था छ ।’
विधान महाधिवेशनमा फरक मत आएमा सोही वेला छलफल हुनसक्ने भन्दै अहिले आएको फरक मत निर्णयको मात्रै भएकाले विधान अधिवेशनमा छलफल नहुने आफूले बुझेको महासचिव पोखरेलले बताए ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले स्थायी कमिटी सदस्य कर्ण थापाले विधानमाथि असहमति जनाएको भन्दै त्यसबारेपनि सचिवालयले कसरी सम्बोधन गर्ने भनेर छलफल हुनसक्ने बताए ।
उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको बताए ।
‘सदस्यता खोसिएको होइन, परित्याग गरेको विषय हो । परित्याग गरेको विषयलाई पुनः कायम गर्ने कि नगर्ने भन्ने कुराको निर्णय पार्टीले गर्ने हो’, उनले भने, ‘परित्याग गरेको विषयमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको हकमा पार्टीले गरेको फैसलामा पार्टी कायमै छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण