शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

मितेरी सहकारी ठगी प्रकरण : कुम्भराज गुरुङको थुनछेक बहस नसकिएपछि थुनामा पठाउने आदेश

बुधबार, १८ भदौ २०८२, १९ : ४०
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ अदालतमा उपस्थित भएर बयान दिएका छन् । 

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा आज गुरुङको बयान सकिएपछि सहकारी अध्यक्ष गुरुङलाई थुनामा पठाइएको छ ।

गुरुङको बयान सकिएपनि थुनछेक बहस भोलिबाट हुनेछ । त्यसपछि अदालतले थुनामा पठाउन सक्ने या धरौटी लिएर छाड्न आदेश दिन सक्नेछ ।

यसअघि न्यायाधीश योङयाको इजलासले तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अदालतले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ४ जना फरार छन् ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो ।

सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो ।ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।

धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् । 

‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।

मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप