नेपालमा अटिजम पहिचानमै समस्या
काठमाडौँ । ललितपुरका चार वर्षीय विनोद (परिवर्तित नाम) खाना खुवाउँदा मोबाइल दिनैपर्थ्यो । डेढ वर्षको उमेरदेखि नै उनलाई खाना खानेबेलामा मोबाइल देखाउने गर्थे आमाबुवाले । विनोद मोबाइल हेर्दा शान्त भएर खुसी हुँदै धेरै खाना खान्थे ।
उनलाई मोबाइलको लत नै लाग्यो । मोबाइल नदिए भुईंमा पल्टिने, मोबाइल नपाएसम्म रोइरहने गर्थे । अरुसँग आँखा जुधाएर कुरा नगर्ने, घरीघरी खेले पनि एकोहोरो भएर एक्लै खेल्ने, खेलिरहेको बेला बोलाउँदा चिच्याएर रुने र अन्य बालबालिकासँग राम्रोसँग घुलमिल हुन नमान्नेसम्मको अवस्था आउन थाल्यो ।
प्रि-स्कुल जान नमानेपछि छिमेकीको सल्लाहमा उनलाई पाटन अस्पतालमा जँचाउन लैजाँदा अटिजम देखियो ।
विनोदको जस्तो समस्या अहिले धेरै बालबालिकामा देखिएको छ । नेपालमा अटिजमको ढिला पहिचान हुने गरेको बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् ।
‘धेरैजसो अभिभावकले बालबालिकालाई ढिलो बोल्यो भनेर अस्पताल ल्याउने गर्नुहुन्छ । जाँच गर्दा ती बालबालिकालाई अटिजम भएको प्रमाणित हुन्छ,’ उनी भन्छन्, ‘गाउँघरतिर कोही केटाकेटी ढिला बोल्छन् भनेर सल्लाह दिने चलन छ । अझै केटीभन्दा केटा ढिला बोल्छन् समेत भनिन्छ । यद्यपि त्यस्तो हुँदैन । त्यस्तो समस्या देखिएमा तत्काल अस्पताल लैजानुपर्छ ।’

बालबालिकामा ६ महिना हुँदासम्म नहाँस्ने, अनुहारमा नहेर्ने, एक वर्ष उमेरका बालबालिकाले ‘बा–बा’ नभन्ने वा हातको ईशाराले ‘बाइ बाइ’ नभन्ने, १८ महिनासम्म एउटा शब्द उच्चारण गर्न नसक्ने (जस्तै- आमा बाबा, २४ महिनाको अवधिमा दुईवटा शब्द जोडिएका वाक्य बोल्न नसक्ने) समस्या देखिएमा अस्पताल लैजान डा. कार्की सुझाउँछन् ।
‘१८ देखि २४ महिनासम्म सामान्य विकास भएको हुन्छ । भाषा र सामाजिक विकासमा सिकेका कुरा फेरि विकास नहुने, हराएर जाने लक्षण भएमा तत्काल अस्पताल लैजान सल्लाह छ,’ उनी भन्छन् ।
सरकारले अपाङगता भएका त्यसमा पनि अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाको पहिचान, उपचार, हेरचाह र सहयोगका लागि कुनै निर्देशिका नबनाउँदा पनि समस्या उत्पन्न भएको बालमनोचिकित्सक बताउँछन् ।
२०७८ सालको राष्ट्रिय जनगणनाले ४ हजार ८८६ जनालाई अटिजम भएको प्रतिवेदन दिएको थियो । सन् २०२४ मा अटिजम स्क्रिनिङ गर्दा एक अध्ययनले ९ देखि १३ वर्ष उमेरका ग्रामीण बालबालिकामध्ये ०.३ प्रतिशतलाई अटिजम देखाएको थियो । तर सरकारसँग अटिजम भएका बालबालिकाको यकिन तथ्याङ्क छैन । यद्यपि नेपालमा करिब ७ हजार बालबालिकामा अटिजम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा अटिजमको समस्या रहेको अनुमान गरेको छ । अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्युरो डेभलपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । जसले सञ्चार, सामाजिक अन्तरक्रिया र व्यवहारलाई असर गर्छ । सेन्टर फर डिजिज कन्ट्रोल सीडीसी २०२५ अनुसार विश्वव्यापी रूपमा अनुमानित ३१ बालबालिकामध्ये एक जनालाई अटिजम छ ।
बालमनोरोग विशेषज्ञ डा. अरुण कुँवर अटिजमको न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक अनुसन्धानको आवश्यकता रहेको बताउँछन् ।
अभिभावकले अटिजमलाई हस्तक्षेप गर्ने, विद्यालयहरूले अटिजम भएका बालबालिका स्वीकार नगर्ने र दीर्घकालीन हेरचाहको अनिश्चितता जस्ता गहन चुनौती देखिएको डा. कुँवर बताउँछन् । यस्तै नेपालमा बाल विकास ट्रयाकिङमा शारीरिक पक्षमा मात्र ध्यान दिइने र संज्ञानात्मक, सामाजिक तथा सञ्चार विकासको समग्र ट्र्याकिङको अभाव रहेको उनको भनाइ छ ।
‘इन्टरभेन्सन राम्ररी पाएका छैनन्, बच्चाको सुधार भएको छैन, स्कुलले लिँदैन, अनुकूल स्कुल छैन, ठूला भइसकेकाहरूलाई घरमै राखिरहेका छौँ । कतै लैजान सकेका छैनौँ भन्ने अभिभावकहरूको गुनासो छ,’ डा. कुँवर भन्छन्,’ यस्ता कुराले दीर्घकालीन प्रभाव पार्छ ।‘
अटिजम केयर सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेखु तीन वर्षभन्दा कम उमेरमै अटिजमको पहिचान गर्न सके सामान्य अवस्था ल्याउन सकिने बताउँछिन् ।
हाल स्वास्थ्य प्रणालीमा बालबालिकाको उचाइ, तौल र पोषणमा मात्रै ध्यान दिइने गरिएकोमा अब संज्ञानात्मक, सामाजिक र सञ्चार विकासमा लगायत समग्र कुराको ट्र्याकिङ अनिवार्य गर्नुपर्ने उनी बताउँछिन् । अटिजम भए नभएको पत्ता लगाउन खोप कार्डमा नै यी जानकारी समावेश गर्न सके राम्रो हुने उनको सुझाव छ ।
अटिजमलाई विश्वव्यापी साझा समस्याको रुपमा हेरिएको छ । धेरै मुलुकले यसका लागि नीति र कार्यक्रम बनाएर सुधार गरिरहेका छन् । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका व्यक्तिको हेरचाह र सहयोगका लागि निर्देशिकाको ड्राफ्ट तयार गरिरहेको छ ।
काठमाडौँको बूढानीलकण्ठमा अटिजम स्कुल निर्माण सुरु गरिएको र सातै प्रदेशमा यस्ता स्कुल विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । यसका लागि बजेटमा यस वर्ष तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।
महानगर र उपमहानगरपालिकामा नियुक्त ७३७ जनस्वास्थ्य अधिकृतहरूलाई पालिका स्तरमा अटिजम पहिचान गर्न र विशेष कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी दिइनेछ । आधारभूत अस्पतालहरूमा अटिजमका लागि छुट्टै वार्डको व्यवस्था गर्ने, खेल्ने स्थान बनाउने र आवश्यक परेमा सिकलसेल एनिमियाका लागि जस्तै विशेष सुविधा प्रदान गर्ने योजना मन्त्रालयको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण