मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीमा डाक्टरको हत्या र लुटपाटमा संलग्न मुख्य योजनाकारसहित दुई नेपाली पक्राउ

बिहीबार, १९ भदौ २०८२, १९ : ४८
बिहीबार, १९ भदौ २०८२

नयाँ दिल्ली । भारतको दिल्ली प्रहरीको अपराध शाखाले राजधानीको जंगपुरा क्षेत्रमा एक चिकित्सकको हत्यामा संलग्न मुख्य योजनाकार र उनका सहयोगीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै नेपाली नागरिक हुन् ।

अपराध शाखाका अनुसार पक्राउ परेका व्यक्तिहरूमा चितवन निवासी ४२ वर्षीय देवराज र देव सिंह भनिने प्रेम बहादुर नेपाली र ३० वर्षीय आसाम बस्ने पंकज नरजारी रहेका छन् । 

उनीहरूलाई धनगढी नजिक भारतीय सीमा क्षेत्रमा पक्राउ गरिएको हो। दिल्ली प्रहरीले दुवैलाई पक्राउ गर्न प्रतिव्यक्ति ५० हजार ००० रुपैयाँ इनाम घोषणा गरेको थियो ।

प्रहरी उपायुक्त विक्रम सिंहका अनुसार जङ्गपुरा एक्सटेन्सनस्थित आफ्नै निवासमा २०२४ मे १० तारिख साँझ ६ः५० बजे ६३ वर्षीय जनरल फिजिसियन डा. योगेश चन्द्र पलको हत्या गरिएको थियो। भान्सामा घाँटी थिचेर हत्या गरेपछि आरोपीहरूले नगद र गहना लुटेका थिए ।

सीसीटीभी फुटेज अनुसन्धानपछि घरमा कामदारको रूपमा रहेकी बसन्ती अपराधमा संलग्न भएको पत्ता लागेको थियो। उनीमार्फत योजनाकार प्रेम बहादुर नेपालीसम्म पुगिएको प्रहरीको भनाइ छ ।

यसरी रचियो षड्यन्त्र

मृतक डा. पलको घरमा काम गर्ने बसन्तीले अर्का अभियुक्त भीम र उनकी पत्नी वर्षा रावतलाई  घरमा ठूलो मात्रामा नगद र सुन रहेको जानकारी उपलब्ध गराएकी थिइन्। यो सूचना उनीहरुले चोरीमा संलग्न विष्णु स्वरूपसम्म पुर्‍याएका थिए ।

विष्णुले हिमांशु र आकाशसँग मिलेर डकैतीको योजना बनाए। पछि योजनामा प्रेम बहादुर नेपाली र उनका सहयोगी पंकज नरजारी पनि सहभागी भए ।

रेकीपछि २०२४ मे १० मा पंकज र अन्य साथीहरू जबरजस्ती घरमा प्रवेश गरेका थिए। त्यतिबेला डा. पल घरमा एक्लै थिए। आरोपीहरूले उनलाई समातेर बाँधे र घाँटी थिचेर हत्या गरे। त्यसपछि घरमा रहेका नगद र गहना लुटे ।

प्रहरीका अनुसार यी सबै आरोपीहरू नेपाली मूलका हुन् र उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, दिल्लीलगायतका क्षेत्रमा चोरी गर्ने कार्यमा सक्रिय थिए । उनीहरूले नेपाली महिलाहरूलाई घरमा कामदारको रूपमा पठाएर रेकी गराउने गर्थे र पछि गिरोहका अन्य सदस्यलाई सूचना दिन्थे। अपराध गरेपछि प्रायः नेपाल फर्केर लुकेको पाइन्थ्यो ।

यस घटनामा संलग्न हिमांशु, आकाश, विष्णु स्वरूप र बसन्तीलाई पहिले नै पक्राउ गरिएको थियो भने भीम र वर्षा अझै फरार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप