शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऐतिहासिक पदक विजेता एरिका दुई लाखसहित सम्मानित

आइतबार, २२ भदौ २०८२, १९ : ११
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।

नेपाल कराते महासङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । 

उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन् । उनै एरिकालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमकाबिच सम्मानित भएकी हुन् । 

नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे । एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।

यसै सफलताका कारण महासङ्घले उनलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि उपस्थित थिए । विश्व कराते महासङ्घका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन् । 

एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी थिइन् । एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई हराउँदै सो सफलता पाएकी हुन् ।

यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो । एरिका विश्वको उत्कृष्ट ३२ को सूचीमा थिइनन् । कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ ।

एरिकाको प्रशिक्षण टोलीले पनि अवसर पाइन्छ कि भनेर उनको नाम दर्ता गरेको थियो । अन्तिम समयमा विश्व कराते महसंघले एरिकाको सहभागिता पक्का गरिदियो र उनले ऐतिहासिक पदक पनि दिलाइन् । 

सन् २०११ देखि सुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेले पनि सफलता पाएकी हुन् । सोही सफलताका कारण महासङ्घले उनलाई आइतबार सम्मान गरेको हो । एरिकालाई थप प्रोत्साहन गर्ने उद्देश्यअनुरूप उनलाई सम्मान गरिएको महासङ्घले जनाएको छ । 

कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पहिलोपल्ट पदक जितेको हो । यसबाहेक उनीसँग अन्य कीर्तिमान पनि छ । उनले चीनको झाङझाउमा हुने १९औँ एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

एरिकाको पदक नेपाली खेलकुदमा अहिलेसम्मकै ठुलो सफलतामध्ये एक हो । यसअघि तेक्वान्दोकी सबिता राजभण्डारीले सन् १९९८ मा र नेपालको पुरुष पाराग्लाइडिङ टोलीले सन् २०१८ को एसियाली खेलकुदमा रजत पदक जितेका छन् । त्यसपछि यो सफलता एरिकाले दोहोर्‍याएकी हुन् । एरिकाले चीनमा नै सम्पन्न एकेएफ सिनियर कराते च्याम्पियनसिपमा पनि पदक जितेकी छन् ।

त्यसबाहेक एरिकाले थाइल्यान्ड ओपन, अमेरिका ओपन र १६औँ एसियन सितोरियो प्यासिफिकमा पनि स्वर्ण पदक जितेकी छन् । नेपाली खेलकुदमा एकपछि अर्को सफलता दिलाएकी एरिकालाई महासङ्घले प्रोत्साहन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप