बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानी कम पिउँदा तनाव बढ्छ: नयाँ अध्ययन

मङ्गलबार, २४ भदौ २०८२, ०६ : ३९
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • अनुसन्धानले कम पानी पिउँदा शरीरमा कोर्टिसोल हर्मोनको मात्रा बढ्ने देखाएको छ, जसले तनाव बढाउँछ।
  • युवाहरूमा गरिएको अध्ययनले १.५ लिटरभन्दा कम पानी पिउने समूहमा तनाव बढेको र कोर्टिसोल हर्मोनको मात्रा बढेको देखियो।
  • पानीको कमीले मस्तिष्कले भासोप्रेसिन हर्मोन निकाल्छ, जसले तनाव बढाउँछ र स्वास्थ्यमा नकारात्मक असर पार्छ।

काठमाडौँ । पानी सकेसम्म धेरै पिउनु पर्छ भनेर त हामीले सुन्दै आइरहेका छौँ । यो भन्दा पनि धेरै हामीलाई कम पानी पिउनुका बेफाइदाहरू बताइएको छ । मिर्गौला र कलेजोको स्वास्थ्यको लागि समेत पानी पिउनु विशेष गरी धेरै महत्त्वपूर्ण भनिएको छ । 

यद्यपि, तनाव कम गर्न पनि धेरै पानीको सेवन जरुरी छ । हालैको एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । यो अध्ययनले एक व्यक्तिलाई हरेक दिन कति पानी पिउन आवश्यक छ र शरीरको यो आवश्यकता पूरा नभएमा तनाव कसरी बढ्न सक्छ भनेर बताएको छ । 

दिनमा १ दशमलव ५ लिटरभन्दा कम पानी पिउने मानिसहरूको शरीरमा तनावको परिस्थितिमा कोर्टिसोल नामक हर्माेनको मात्रा बढ्ने जर्नल अफ एप्लाइड फिजियोलोजीमा प्रकाशित हालैको एक अध्ययनले खुलासा गरेको छ । 

यो शरीरमा तनाव निम्त्याउने मुख्य हर्माेन हो । अनुसन्धानका अनुसार शरीरमा थोरै मात्रै पानीको कमीले पनि सामान्य व्यक्तिमा तनावको अनुभूति बढाउँछ र प्रतिक्रियाहरू पनि परिवर्तन हुन थाल्छ । 

कसरी गरियो अनुसन्धान ?

वैज्ञानिकहरूको एक समूहले सारा अनुसन्धान युवाहरूमा गरेका थिए । यस अन्तर्गत, युवाहरूलाई दुई फरक समूहमा विभाजन गरिएको थियो । एउटा समूहले हरेक दिन १ दशमलव ५ लिटर वा कम पानी पिउँथ्यो । 

अर्को समूहले चाहिँ मापदण्ड अनुसार पानी पिउँथ्यो । एक हप्तासम्म नियम पालना गरेपछि युवाहरूको सार्वजनिक रूपमा बोल्ने र प्रश्नहरू समाधान गर्ने क्षमताको परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुवै समूह समान रूपमा चिन्तित भएको र उनीहरूको मुटुको धड्कन पनि समान रूपमा बढेको पत्ता लगाए । यद्यपि, जुन समूहका मानिसहरूले डेढ लिटर पानीको मापदण्ड पालना गरे, उनीहरूमा कोर्टिसोल हर्मोन बढी पाइयो । 

वैज्ञानिकहरूका अनुसार मानिसहरूमा कोर्टिसोल बढिरहेको छ भने यसले तनाव बढ्छ । कोर्टिसोल धेरै महिना वा वर्षसम्म बढिरह्यो भने यसले मुटु रोग, मिर्गौला समस्या वा मधुमेहको जोखिम बढाउने पाइयो । 

अनुसन्धानमा भाग लिने र कम पानी पिउने मानिसहरूलाई बढी पानी पिउनेहरूको तुलनामा तिर्खा भने लागेको थिएन । यद्यपि, उनीहरूको शरीरले अरू केही भनिरहेको थियो । पिसाबको गाढापनले उनीहरूको शरीरमा पानी कम भएको सङ्केत गरिरहेको थियो । अर्थात् अत्यधिक तिर्खाले सधैँ शरीरमा पानीको आवश्यकतालाई सङ्केत नगर्ने यसले देखायो । 

पानीको अभावले किन बढाउँछ तनाव ? 

शरीरमा पानीको अभावको सम्पूर्ण विज्ञान मस्तिष्कसँग जोडिएको छ । जब शरीरमा पानीको कमी हुन्छ, मस्तिष्कले भासोप्रेसिन नामक हर्माेन निकाल्छ, जसले पानी बचत गर्न र रगतको मात्रा व्यवस्थापन गर्न मिर्गौलालाई सन्देश पठाउँछ । यद्यपि, भासोप्रेसिन एक्लैले भने काम गर्दैन । मस्तिष्कको चेतावनी प्रणाली पनि सक्रिय हुन्छ, जसले कठिन समयमा शरीरमा कोर्टिसोल नाम गरेको हर्माेनको मात्रा बढाउँछ । फलस्वरूप, शरीरमा कम तरल पदार्थको उपस्थितिले तनावको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछ । 

यो अवस्थाले मानिसहरूको शारीरिक अवस्थालाई बिगार त गर्छ नै मानसिक अवस्था पनि बिग्रन थाल्छ । यस्तो अवस्थामा, कसैले दिनँहु दबाबको सामना गर्छ वा काम पूरा गरिसक्नु पर्ने समयसीमामा  हुन्छ वा पारिवारिक जिम्मेवारी र आर्थिक चिन्ताहरूसँग संघर्ष गरिरहेको हुन्छ भने उसको मानसिक अवस्था तनावपूर्ण हुन्छ । यो समग्र स्वास्थ्यको लागि घातक साबित हुन सक्छ । 

त्यसो भए के धेरै पानी पिउनाले तनाव कम हुन सक्छ ? 

सही मात्रा भन्दा कम पानी पिउँदा तनाव बढ्न सक्छ । तर, यसको विपरीत अर्थात् बढी पानी पिउनाले तनाव कम हुन्छ त भनेर चाँहि भन्न सकिदैंन । सरल शब्दमा भन्नुपर्दा, कम पानी पिउनु घातक साबित हुन सक्छ, तर धेरै पानी पिउनाले शरीरमा पहिले नै रहेको कोर्टिसोललाई असर गर्दैन । तनावको लागि बाहिरी संसारको अवस्था धेरै हदसम्म जिम्मेवार हुने भएकोले पनि यसले असर नगर्ने भएको हो । मानव शरीरमा तरल पदार्थको आवश्यकता पानीले मात्र पूरा गर्दैन । दिनभरि खाइने चिया, कफी, दूधले पनि शरीरमा तरल पदार्थको आवश्यकता पूरा गर्दछ । तर, पानीको प्रभाव यी सबै पेय पदार्थहरू भन्दा छिटो र तीव्र हुने अनुसन्धानमा पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप