धनगढी र महेन्द्रनगरमा व्यापक तोडफोड र आगजनी
सारांश
- सुदूरपश्चिम प्रदेशमा 'जेनजी' पुस्ताको आन्दोलनले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेको छ।
- धनगढीमा कर्फ्यु जारी गरिएको छ, जहाँ प्रदर्शनकारीले सातवटै मन्त्रालय, प्रदेश सभा भवन र अन्य सरकारी कार्यालयमा क्षति पुर्याएका छन्।
- कञ्चनपुरको महेन्द्रनगर र कैलालीका विभिन्न नगरपालिकामा पनि आगजनी तथा तोडफोड भएको छ, जसले गर्दा धनगढीको अवस्था जटिल बनेको छ।
धनगढी । ‘जेनजी’ पुस्ताले देशव्यापी रूपमा गरिरहेको आन्दोलनको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ।
मंगलबार बिहानैदेखि धनगढी, महेन्द्रनगर लगायतका मुख्य सहरहरूमा प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन कैलाली जिल्ला प्रशासन कार्यालयले धनगढीमा कर्फ्यु आदेश जारी गरेको छ।
आन्दोलनकारीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेका सातवटै मन्त्रालय, प्रदेश सभा भवन, र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सरकारी गाडीमा तोडफोड र आगजनी गरेका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको छ।प्रदर्शनकारीले मुख्यमन्त्री कमल बहादुर शाहले प्रयोग गर्ने गाडीमा समेत क्षति पुर्याएका छन्।
यस्तै, धनगढीमा रहेका नेपाल कांग्रेसको प्रदेश कार्यालय, नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी भएको छ। प्रदर्शनकारीले सरकारी गाडीहरूमा पनि आगजनी गरेका छन्, टेम्पल रिसोर्टमा पार्किङ गरिएका गाडीहरू पनि परेका छन्। धनगढीको भाटभटेनी सुपरमार्केटमा पनि तोडफोड भएको छ।
कञ्चनपुरको महेन्द्रनगरमा पनि आन्दोलनको असर देखिएको छ। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेका छन्। साथै, उनीहरूले कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखकको घरमा पनि आगजनी गरेका छन्। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त नगरपालिकास्थित घरमा पनि तोडफोड र आगजनी भएको छ।
कैलाली जिल्लाका गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, र लम्किचुहा नगरपालिकाका कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको छ।
प्रदर्शन नियन्त्रण बाहिर गएपछि धनगढीको अवस्था जटिल बनेको छ। मंगलबार बिहानैदेखि विभिन्न समूहमा विभाजित प्रदर्शनकारीले सडकमा टायर बालेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण