शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा जेनजी आन्दोलनमा अर्बौँको भौतिक संरचना ध्वस्त

बुधबार, २५ भदौ २०८२, १० : ४४
बुधबार, २५ भदौ २०८२

सारांश

  • धनगढीमा जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बन्दा अर्बौँको क्षति भयो, सरकारी कार्यालय र नेताका घरमा तोडफोड र आगजनी गरियो।
  • प्रशासनले कर्फ्यु जारी गरेपनि प्रदर्शन रोकिएन, प्रदेश सभा सचिवालय र विभिन्न मन्त्रालयहरूमा तोडफोड भयो।
  • आन्दोलनकारीले राजनीतिक दलका कार्यालय र नेताको घरमा आगजनी गरे, कैलालीका अन्य स्थानीय तहमा पनि तोडफोड भयो।

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेनजी पुस्ताले गरेको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दा अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको छ। प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शन रोकिएन।

मंगलबार बिहानैदेखि सडकमा उत्रिएका प्रदर्शनकारीहरूको अनियन्त्रित भीडले प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायत सातवटै मन्त्रालयमा तोडफोड र आगजनी गरेको छ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, प्रदेश प्रमुखको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, मालपोत तथा नापी कार्यालय, र सीटीईभीटी प्रदेश कार्यालय जस्ता महत्त्वपूर्ण सरकारी निकायहरू पनि आक्रमणको निशाना बनेका छन्।प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत तोडफोड गरेका छन्।

dhangadi xati (2)

आन्दोलनको आक्रोश राजनीतिक दल र तिनका नेताहरूप्रति पनि सोझिएको छ। प्रदर्शनकारीहरूले धनगढीमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका पार्टी कार्यालयहरूमा आगजनी गरेका छन्। यस्तै, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढी-४ स्थित निर्माणाधीन निजी निवास र परराष्ट्र मन्त्री आरजु राणा देउवाको निवासमा पनि तोडफोड र आगजनी भएको छ।

dhangadi xati (3)

प्रदर्शनकारीले धनगढीस्थित भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेका छन्।आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण भने अझै आइसकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार अर्बौँको क्षति भएको छ।

dhangadi xati (4)

तनावपूर्ण स्थिति सिर्जना भएपछि यातायात व्यवस्था पूर्ण रूपमा ठप्प भएको छ। स्थिति गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र नेपाली सेनाले सर्वसाधारणलाई सुरक्षाको कारण देखाउँदै घर बाहिर ननिस्कन आग्रह गरेको छ।

dhangadi xati (6)

धनगढी उपमहानगरपालिका बाहेक कैलाली जिल्लाका गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, र लम्किचुहा नगरपालिकाका कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको छ। जसले गर्दा पूरै जिल्लाको अवस्था तनावग्रस्त बनेको छ।सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको यो आन्दोलनले सुदूरपश्चिममा पनि हिंसात्मक रूप लिँदा जनजीवन अस्तव्यस्त बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप