आपतकालीन सचिवालय गठन गरी संघले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ : शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले ‘जेनजी’ आन्दोलनपछि उत्पन्न संकटपूर्ण अवस्थामा संघले तत्काल आपतकालीन सचिवालय गठन गरी समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपछिका घटनामा ३४ जनाको ज्यान गएको र कैयन घाइते भएको स्मरण गर्दै शर्माले दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा उपचाररतहरूलाई सहयोग गर्ने कार्यमा एनआरएनएले तत्काल भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
शर्माले बिहीबार जारी गरेको अपिलमा बालुवाटारस्थित एनआरएनए सचिवालयमा आगजनी हुनु पीडादायी भए पनि यसबाट विचलित नभई त्यही कार्यालयलाई पुनः सक्रिय बनाएर मानवीय सहयोगमा जुट्नुपर्ने बताएका छन्।
उनले वैशाखमा भएको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा आपतकालीन सचिवालय गठन गरी राहत, उपचार र आवास/यातायात सुविधामा सहयोग पुर्याउनुपर्ने बताएका छन्।
'यो संकटपूर्ण घडीमा अध्यक्ष महेश श्रेष्ठज्यू सक्रिय भएर लाग्नुको विकल्प छैन,' शर्माले भनेका छन्, 'म आफ्नो तर्फबाट आवश्यक आर्थिकसहित सबै सहयोग गर्ने घोषणा गर्दछु।'
संघभित्रको विवादप्रति संकेत गर्दै उनले अब सबै एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् । संघमा हाल दुई समूह रहेका छन् । एउटा समूहको नेतृत्व महेश श्रेष्ठ र अर्को समूहको बद्री केसीले नेतृत्व गर्दै आएका छन् । केसीले अक्टोबरमा महाधिवेशन गर्न लागेपनि जेनजी आन्दोलनपछिको अवस्थाका कारण स्थगित गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण