बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पेशागत सञ्जालद्वारा राष्ट्रपतिलाई ज्ञापनपत्र : लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया मान्य नहुने

शुक्रबार, २७ भदौ २०८२, १६ : ०६
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • पापड ले वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ।
  • सञ्जालले युवा पुस्ताको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागमा ऐक्यबद्धता जनाउँदै लोकतन्त्र रक्षाका लागि कदम चाल्न आग्रह गरेको छ।
  • पापडले देशलाई संकटबाट जोगाउन, संविधानको रक्षा गर्न र गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न राष्ट्रपतिलाई अपिल गरेको छ।

काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले वर्तमान राष्ट्रिय सङ्कटको संवैधानिक निकासका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ। नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल प्राध्यापक संघ र नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरूको यो सञ्जालले युवा पुस्ताको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागमा पूर्ण ऐक्यबद्धता जनाएको छ।

सञ्जालले आन्दोलनमा भएको घुसपैठका कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। पापडले लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिहरूमाथि प्रश्नचिह्न खडा हुने जोखिम बढेको भन्दै संविधानको मर्मभित्रै समाधान खोजिनुपर्ने आफ्नो दृढ मान्यता रहेको बताएको छ। 

युवा पुस्ताको माग सम्बोधन र लोकतन्त्रको रक्षाका लागि निम्न कदमहरू चाल्न सञ्जालले राष्ट्रपतिलाई आग्रह गरेको छ:

  • संवैधानिक कर्तव्य: संविधान र संघीय संसद क्रियाशील रहेकाले राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्दै संवैधानिक संरचनाहरूको निरन्तरता कायम राख्नुपर्ने।
  • राष्ट्रिय सरकार गठन: जेनजी युवाहरूले सरकार परिवर्तन चाहेकोले उनीहरूको मागको मर्म र संविधानअनुसार अविलम्ब राष्ट्रिय सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने।
  • लोकतान्त्रिक मूल्यको रक्षा: संवैधानिक वैधता, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया आफूहरूलाई मान्य नहुने र अन्यथा भएमा प्रतिरोध गर्न बाध्य हुने चेतावनी।
  • सार्वभौमिकतामाथि खतरा: सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन युवा पुस्ताको जायज माग भए पनि भूराजनीतिको चपेटामा परेर बाह्य शक्तिको चलखेल तथा गैरनागरिक सरकार गठनको खतराबाट सजग रहन आग्रह।
  • उपलब्धिमा सम्झौता नगर्ने: लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समानुपातिक समावेशी जस्ता सङ्घर्षबाट प्राप्त उपलब्धिहरूमाथि कुनै पनि बहानामा सम्झौता गरिनु हुँदैन।

अन्तमा, पापडले देशलाई गम्भीर सङ्कटबाट जोगाउन, संविधानको रक्षा गर्न र गणतान्त्रिक सङ्घीय समावेशी संविधानलाई जीवन्त राख्नका लागि संवैधानिक अभिभावक र संरक्षकका रूपमा राष्ट्रपतिलाई तत्काल आवश्यक कदम चाल्न हार्दिक अपिल गरेको छ।

PAPAD_Letter-to-Rt.-HonPAPAD_Letter-to-Rt.-Hon२

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप