जलेर नष्ट भयो बागमती प्रदेश सभा भवन
सारांश
- हेटौंडा उपमहानगरपालिका-१० मा रहेको प्रदेश सभा सचिवालयमा आगलागी हुँदा भवन र संरचनामा क्षति पुगेको छ।
- आगलागीमा प्रदेश सभाका सवारी साधन, फर्निचर र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
- सचिवालयका अनुसार आगलागीबाट करिब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
मकवानपुर । छरपस्ट सामग्री, जलेका सवारी, कुर्सी–टेबल, फुटेका सिसाबिच २ वटा प्लाष्टिकका टेबलमा ५/७ जना व्यक्ति– हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेश सभा सचिवालय, बागमती प्रदेश सभा, हेटौंडाको कार्यालय अघिल्तिर बिहीबार र शुक्रबार देखिएको अवस्था हो यो ।
२ जना सचिवसहित २ उपसचिव, केही अधिकृत र सहायकस्तरका कर्मचारी २ दिनदेखि सचिवालय आउने र असरल्ल भवन संरचना हेरेर फर्किने गरेका छन् । प्रदेश सभाका २ वटा मुख्य भवन जलेर ध्वस्त छन् । संसदीय दलका कार्यालयहरूका कुनै पनि संरचना बाँकी छैनन् ।
_CrI7QGCChX.jpg)
सचिवालयभित्र दक्षिणतर्फ रहेको कांग्रेस, राप्रपा, एकीकृत समाजवादी र माओवादी केन्द्रको संसदीय दलको कार्यालय भवन पनि जलेको छ । यद्यपि सो भवनको माथिल्लो तलामा भने आगलागीले त्यति क्षति पुर्याएको छैन ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते दिउँसो प्रदेश सभा सचिवालय भवनमा आगलागी भएको थियो । प्रदर्शनकारीले सचिवालयभित्रका साना–ठुला गरेर ४ वटा भवनमा आगो लगाएका थिए । सो आगलागीबाट प्रदेश सभाका ३ वटा चार पाङ्ग्रे सवारीसाधनसहित केही मोटरसाइकल जलेर खरानी बनेका छन् ।
_Cr7kRhRozD.jpg)
प्रदेश सभाको प्राङ्गणमा जलेका संरचनाका टुक्रा,आल्मुनियमका सामान, सिसा, फुटेका गमला र जलाइएको मोटरसाइकल तथा फर्निचर छरिएको अवस्थामा छन् । भवनभित्रका संरचना पूर्ण रूपमा ध्वस्त छन् भने हालै बनेको प्रदेश सभाको नयाँ भवन संरचना खरानीमा परिणत भएको छ । प्रिफ्याबको उक्त भवनका बोर्डसहित कुर्सी–टेबल तथा अन्य संरचना जलेका छन् ।
‘गरौँ भने केही छैन, नगरौँ भने अवस्था विजोग छ,’ प्रदेश सभाका सचिव रामकुमार पौडेलले भने, ‘कुनै संरचना बाँकी छैन । कहाँबाट सुरु गर्ने भन्ने नै भएन । पुरानो हल भएको घरको भित्ता समेत खरानी भएको छ । बसेर काम गर्ने टेबलसम्म छैन ।’
_vxX56oubXj.jpg)
पौडेलका अनुसार प्रदेश सभामा रहेका रेकर्डसमेत नष्ट भएको छ । प्रदेश सभामा २०७४ सालदेखिका कागजात तथा कानुनका दस्तावेज र संसदका रेकर्ड जलेर नष्ट भएको उनले बताए ।
प्रदेश सभा सचिवालय हेटौंडाका सचिव पूर्णबहादुर दर्जीका अनुुसार तत्काल भवन संरचना मर्मत गरेर सञ्चालन हुने अवस्था छैन । सुरक्षाका लागि गेटसमेत नरहेको उनले बताए ।
कांग्रेस संसदीय दल रहेको भवनको माथिल्लो भागमा क्षति कम देखिए पनि तल्लो भागका पिल्लर समेत जलेकाले जीर्ण अवस्थामा रहेको सचिव दर्जीले बताए ।
_Cv6GoggtBV.jpg)
प्रदेश सभा सञ्चालनका लागि अर्को भवन तयार गर्नुपर्ने अवस्था रहेको उनले बताए । त्यसका लागि संघीय सरकारको समेत सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
प्रदर्शनकारीको आक्रमणबाट प्रदेश सभाको नयाँ सभा हलमा १४ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक आकलन छ । त्यसबाहेक अन्य संरचनामा करिब २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको सचिवालयले जनाएको छ ।
_ZeeXB6xgDY.jpg)
_TBt0Fin2eA.jpg)
_qBT6csOOse.jpg)
_KTFurF8Lmv.jpg)
_PI1M5o8X1N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण