बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

‘जीवनभरको पसिना एकै झट्कामा खरानी भयो, खरानीबाटै उठ्नेछौँ’

आइतबार, २९ भदौ २०८२, १२ : २८
आइतबार, २९ भदौ २०८२

सारांश

  • पोखराका व्यवसायी विन्दुकुमार थापाको घर र व्यवसायमा प्रदर्शनकारीले आगजनी गर्दा ठूलो क्षति भयो।
  • आगजनीमा थापाको घर, होटल, रेस्टुरेन्ट लगायतका संरचनामा क्षति पुग्यो, र दुई जनाको मृत्यु भयो।
  • थापाले भ्रष्टाचार नगरेको र सुशासन कायम राख्ने प्रतिबद्धता जनाएका छन्, र फेरि उठ्ने दृढ संकल्प गरेका छन्।

पोखरा । एक समय मोटरसाइकल भाडामा माग्दा नपाएपछि पोखराका विन्दुकुमार थापाले आफै मोटरसाइकल भाडामा लगाउने व्यवसाय सुरु गरे । नेपाल राष्ट्र बैंकमा सहायक क्लर्कको रूपमा काम गरेपछि उनले बिस्तारै आफ्नो व्यवसाय बढाउँदै गए । अंशभरा ग्रुप मार्फत उनले अटोमोवाइल, रियल स्टेट, होटल–रेष्टुरेन्ट, मल, वित्तीय सेवा, आइटी लगायत क्षेत्रमा लगानी गरेका छन् ।

व्यवसायकै दौरान उनी राजनीति मार्फत सेवामा लाग्ने सोचे । नेपाली कांग्रेसबाट २०७४ मा पहिलो पटक कास्की २ (ख) बाट गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित भए । उनी दोस्रो पटक २०७९ मा पनि सोही क्षेत्रबाट निर्वाचित भए । दुवै कार्यकालमा थापा मन्त्री भएर काम गरिसकेका छन् । हाल पनि प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीका रूपमा कार्यरत छन् ।

तर उनले जीवनभर गरेको मेहनत जेनजी प्रदर्शनका क्रममा खरानी भयो । प्रदर्शनकारीहरूले उनका सबै निजी र व्यवसायीक प्रतिष्ठानहरूमा आगजनी गरे । एक हिसाबले थापा परिवार अहिले सडकमा झरेको छ । नयाँ बजारमा रहेको घर, लेकसाइडको होटल, रेस्टुरेन्ट र अन्य विभिन्न संरचनामा प्रदर्शनकारीले आगो लगाए ।

‘जीवनभरको पसिना, आँसु र मिहिनेतले बनाएको सपना एकै झट्कामा खरानी भयो । यो देख्दा मुटु भक्कानिन्छ,’ थापा भन्छन्, ‘जेनजीको पारदर्शिताको पक्षमा भएको आन्दोलनप्रति मेरो नैतिक समर्थन थियो । तर आपराधिक समूहले आन्दोलनलाई अपहरण ग¥यो र त्यसैको बहानामा मेरो घर, पसिना र सपनामाथि आगो लगाइयो ।’ थापा पोखरामा गिनेचुनेका व्यवसायी हुन् । उनले भ्रष्टाचार र राज्यको स्रोत दुरुपयोग गरेर सम्पत्ति आर्जन गरेका होइनन् ।

तर, प्रदर्शनका क्रममा उनको सम्पत्ति र जायजेथामाथि ताकेरै आक्रमण भयो । उनको प्रतिष्ठानमा कार्यरत दुईजना घरभित्रै जलेर मृत्युवरण गरे । ‘मेरो घर जलाइयो, सम्पत्ति लुटियो, तर त्योभन्दा ठुलो पीडा दुई निर्दोष बहिनीलाई जिउँदै जलाएर मारियो । उनीहरूको के दोष थियो ?,’ थापा अघि भन्छन्, ‘के मेरो नामसँग जोडिएकै कारण उनीहरूले यति कठोर सजाय पाउनुपर्ने हो ?’

थापाले सांसद निर्वाचित भएपछि पनि आफूले पाउने सुविधा समेत समाज सेवामा लगाएका थिए । उनले हरेक वर्षको रकम सामाजिक काममै लगाएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने गर्छन् । यसबाट उनले पारदर्शिताको उदाहरण समेत पेस गरेका थिए । थापा आफूले भ्रष्टाचार गरेको ठहर भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताउँछन् । ‘मैले जीवनभर सुशासन र पारदर्शितालाई धर्म ठानेको छु । यदि मैले एक पैसा भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने, म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु,’ उनी भन्छन्, ‘तर निर्दोष हुँदा पनि यसरी अपमानित हुनु घोर अन्याय हो ।’

उनले सञ्चालन गरेका व्यावसायिक प्रतिष्ठानहरूमा सयौँले रोजगारी पाएका छन् । धेरैको चुल्हो उनकै व्यवसायमा काम गरेर बलेको छ । सयौंको घरमा चुल्हो बाल्ने थापाको आफ्नै चुल्हो कहिलै नबल्ने गरी सल्किएको छ । पोखराको लेकसाइडमा केही समयअघि मात्रै ७० करोड भन्दा बढी लगानी गरेर उनले बँगैचा रिसोर्ट उद्घाटन गरेका थिए । घरअघि गाडीको शोरुम थियो । सबै जलेर खरानी भएपनि फेरि उठ्ने संकल्प गरेका छन् ।

‘भौतिक सम्पत्ति जलेर खरानी भयो, तर मेरो आत्मबल, इमानदारी र निष्ठालाई कुनै आगोले जलाउन सक्दैन,’ उनले भने, ‘मलाई माया गर्ने जनताको सद्भावले यही खरानीभित्रैबाट नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प दिएको छ ।’ थापाको मात्रै होइन, उनकै आडमा भएका भाइ ध्रुब थापाको समेत घर र व्यवसायमा प्रदर्शनकारीले आगो लगाएका थिए ।

थापा परिवारको फेक आइडीबाट ठगी

घर र व्यवसाय नष्ट भएपछि पनि थापा परिवारमाथि आक्रमण रोकिएको छैन । अहिले उनीहरूकै फेक आइडी बनाएर विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र ठगी गर्ने गरेको भेटिएको छ । विन्दुका छोरा सौगातले प्रहरीले त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘हामीले अहिलेसम्म कसैलाई दुख दिएका थिएनौँ । घर व्यवसायको हालत त्यस्तो गरे,’ उनले भने, ‘अझै पुगेन भनेर फेक आइडीबाट ठगी गरिरहेका छन् ।’

विन्दुका भाइ ध्रुवले पनि ठगी गर्नेलाई कारबाहीको माग गरे । ‘पीडाको समयमामा पनि केही असामाजिक व्यक्तिहरूले हाम्रो परिवारलाई थप पीडा दिन खोजेको भेटिएको छ,’ उनले भने, ‘हाम्रो परिवारका सदस्यहरूको नाममा फेक आइडीहरू बनाएर केही व्यक्तिहरूले सहयोग रकम माग गर्दै ठगीधन्दा चलाइरहेको पाइएको छ । तुरुन्त कारबाही होस् ।’ प्रहरीले केही व्यक्तिहरू पक्राउ गरिसकेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप