कोशी प्रदेश- तत्काल प्रदेशसभा बैठक आह्वान गर्नेबारे एमाले संसदीय दलमा छलफल
सारांश
- एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको बैठक तत्काल बोलाउन छलफल गरेको छ।
- बैठकमा राजनीतिक अन्योलता हटाउन, शान्ति सुरक्षा कायम राख्न र जनमुखी कार्य गर्न जोड दिइयो।
- भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिइएको छ।
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको बैठक तत्काल आह्वान गर्नुपर्ने विषयमा छलफल गरेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता तथा एमाले सांसद रेवतीरमण भण्डारीले सोमबार भर्चुअल बैठक बसेको जानकारी दिए ।
प्रवक्ता भण्डारीले प्रदेशमा व्याप्त अन्योलपूर्ण राजनीतिक अवस्था र जनसरोकारका विषयमा केन्द्रित रहँदै एमाले संसदीय दलको बैठकमा प्रदेशसभाको बैठक तत्काल आह्वान गर्नुपर्ने कुरा आएको बताए ।
बैठकले अहिलेको परिस्थितिलाई सहज बनाउन, समाजमा शान्ति सुरक्षा कायम राख्न र ‘जेनजी आन्दोलन’ लगायतका अभियानबाट उठेका सकारात्मक विषयवस्तुहरूलाई सम्बोधन गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएको छ। यसका साथै राजनीतिक दलहरूबिच सहकार्य गर्दै प्रदेशका पालिका तथा जिल्लास्तरमा पनि जनमुखी कार्यहरू गर्न निर्देशन बैठकमा दिइएको छ।
बैठकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले थप कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसका लागि आवश्यक पर्ने कानुनी तथा संरचनात्मक सुधारका विषयमा अध्ययन गरी सम्बोधन गर्न बैठकले सरकारलाई सुझाव समेत दिएको छ।
प्रवक्ता भण्डारीका अनुसार एमाले संसदीय दलले सरकार सञ्चालन र संसदीय गतिविधि प्रभावकारी बनाउनुका साथै पार्टीका संरचनाहरूलाई पुनर्संरचना गरी थप सशक्त बनाउने विषयमा पनि छलफल गरेको छ। यसका लागि आन्तरिक छलफलहरू जारी रहनेछन्।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकमा कोशी प्रदेशका मुख्यमन्त्रीसहित करिब २८ जना एमाले सांसदहरू उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण