एमालेभित्र पार्टी पुनर्गठनबारे बहस : अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई संरक्षक राखेर नयाँ नेतृत्व
सारांश
- जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था सामान्य नभएपछि एमालेभित्र पार्टी पुनर्गठनबारे बहस सुरु भएको छ।
- पार्टीभित्र नेतृत्व परिवर्तन र युवा पुस्तालाई जिम्मेवारी दिने विषयमा नेताहरूबीच छलफल भइरहेको छ।
- एमालेका नेताहरूले नेपाली कांग्रेसको रणनीतिलाई पनि हेरेर पार्टी पुनर्गठन गर्नेबारे छलफल गरिरहेका छन्।
काठमाडौँ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति सामान्य बन्न सकेको छैन । प्रमुख दलका शीर्ष नेता अझै सार्वजनिक भइसकेका छैनन् । युवा पुस्ताको आन्दोलनले पुराना पार्टीहरू पुरानै ढंगले अब चल्न सक्दैनन् भन्नेबारे बहस भइरहेको छ । यसैक्रममा नेकपा एमालेभित्र पनि पार्टी पुनर्गठन (रिफर्म)बारे बहस सुरु भएको छ ।
नेताहरूबिच आन्तरिक रूपमा भएका छलफलमा कतिपय नेताले अहिलेको नेतृत्वलाई कार्यकारी पदबाट बिदा गरेर युवा पुस्ताबाटै पार्टी सञ्चालन गर्नुपर्ने आवाज उठाएका छन् । अहिलेको नेतृत्वको विकल्प खोज्दा हाल केन्द्रीय पदाधिकारीमा रहेका नेताहरूभित्रैबाट खोज्नुपर्नेमा पनि उनीहरू लगभग एकमतजस्तै देखिएका छन् ।
त्यसो गर्दा महासचिवभन्दा माथिका नेताहरूलाई संरक्षकका रूपमा राखेर पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्न सकिने धारणा आएको नेताहरूको भनाइ छ ।
भदौ २३ र २४ को आन्दोलनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै समयको प्रवाह र युवा पुस्ताको मागलाई समेत आत्मसात् गरी पार्टी पुनर्गठन र पुनर्संचनाका लागि छलफल चलाउनु स्वाभाविक रहेको एमाले नेताहरू बताउँछन् ।
जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता खुला भइनसके पनि एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल माध्यमार्फत उनीहरूका धारणा बुझ्ने प्रयास गरेका छन् । त्यसक्रममा महासचिव पोखरेलले विकसित राजनीतिक घटनाक्रम र पार्टीले तत्काल गर्नुपर्ने कामका बारेमा सामान्य जानकारी गराएका छन् ।
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलका अनुसार भर्चुअल मिटिङमा महासचिव पोखरेलले आन्दोलन र आगजनीपछि मुलुक पीडामा रहेकाले सबै मिलेर जनजीवन सामान्य पार्नतिर लाग्ने र त्योसँगै आफ्नो राजनीतिक गतिविधिलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
‘मुलुक खरानी भएको छ । यसको सामना गर्न सक्नुपर्छ । जनताको मनोबल उठाउनुपर्छ’, महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै ढुंगेलले भने, ‘अवस्था सहज भएपछि पार्टी कमिटीको बैठक बसेर ठोस कार्यक्रम ल्याउनुपर्ने त छँदैछ ।’
स्रोतका अनुसार एमालेको भर्चुअल मिटिङमा खासगरी ३ वटा विषयमा छलफल भएको छ ।
पहिलो– नेतृत्वका निम्ति संयम रहने ।
दोस्रो– वर्तमान परिस्थितिको डटेर मुकाबिला गर्ने ।
तेस्रो– पार्टीभित्रै समीक्षा गर्ने ।
छलफलमा महासचिव, उपाध्यक्ष र अध्यक्षलाई संरक्षक बनाएर पार्टीको पुनर्संरचना गर्न सकिने कतिपय नेताहरूले धारणा राखेका छन् । त्यसो गर्दा हालका उपमहासचिव प्रदीप ज्ञवाली वा सचिव योगेश भट्टराईमध्ये कसैलाई तत्कालका लागि पार्टीको नेतृत्व दिन सकिने ढंगले मतहरू प्रकट भएको स्रोतको दाबी छ ।
‘अहिले नै ठ्याक्कै यही भन्ने त होइन, तर कतिपय साथीहरूबाट महासचिवभन्दा माथि रहेका नेताहरूलाई संरक्षक बनाएर त्यसभन्दा तल्लो तहका नेतालाई जिम्मेवारी दिएर पनि जान सकिने ढंगले कुराहरू आएका छन्’, एक जिल्ला अध्यक्षले भने, ‘रिफर्मको विकल्प त छैन, तर कसरी गर्ने भन्ने कुरा पार्टीको बैठक बसेर नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।’
नेकपा एमालेमा अध्यक्ष, उपाध्यक्ष, महाचिव, उपमहासचिव र सचिव गरी १९ जना पदाधिकारी छन् । अध्यक्ष, महासचिवसहित सात उपाध्यक्ष गर्दा नौ पदाधिकारी संरक्षकमा रहन सक्छन् ।
बागमती प्रदेश अध्यक्ष ढुंगेल आधिकारिक बैठक बसेर सबैका धारणा सुनेपछिमात्र पार्टीले नयाँ रणनीति बनाउनुपर्ने बताउँछन् । ‘अध्यक्ष बाहिर आइसकेपछि बैठक बसेर निकास निकाल्ने कुरा आउला । परिस्थिति बदलिएको छ । बदलिएको परिपे्रक्ष्यमा विधिवत बैठक बसेर धारणा बनाउनु त छँदैछ’, ढुंगेलले रातोपाटीसँग भने, ‘खरानीको डल्लोबाट उठ्नुपर्ने अवस्था छ ।’
- कांग्रेसको रणनीति पर्खंदै
अर्का एक प्रदेश अध्यक्षका अनुसार पार्टी पुनर्गठन गर्दा नेपाली कांग्रेसलाई समेत हेरिने छ । कांग्रेसले महामन्त्रीभन्दा माथिको नेतृत्वलाई हटाएर नयाँ ल्याएमा एमालेले पनि सोही अनुसार रणनीति अख्तियार गर्ने एमाले नेतृत्वको चाहना देखिएको छ ।
‘पुरानो भनिएको नेपाली कांग्रेस, जो हामीसँगै हिजो सरकारमा पनि थियो । त्यो पार्टीले कसरी आफूलाई प्रस्तुत गर्छ भन्ने पनि हेर्नुपर्छ भन्ने अहिलेको नेतृत्वको चाहना बुझ्न सकिन्छ’, ती जिल्ला अध्यक्षको भनाइ छ ।
एमाले संगठन विभाग सचिवसमेत रहेका केन्द्रीय सदस्य माधव ढुंगेल हालको पार्टी नेतृत्वले समयको प्रवाहलाई आत्मसात् गर्ने क्षमता राख्ने दाबी गर्छन् । ‘गतिमा अस्तित्व हुन्छ । प्रतिकूलतामा नेतृत्वमाथि अश्लील आक्रमण नितान्त गलत तरिका हो’, ढुंगेलले भने, ‘नियति र षड्यन्त्रको मसिनो विश्लेषण हुनुपर्छ । ढुक्क हुनुहोस्, हाम्रो नेतृत्वले समयको प्रवाहलाई आत्मसात् गर्ने क्षमता राख्छ ।’
यसै क्रममा एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीसँग समेत एमालेका दोस्रो पुस्ताका नेताहरूले अनौपचारिक संवाद बढाएका छन् ।
‘विषम परिस्थितिमा एकता गरेर जान सकिन्छ भन्नेमा एकीकृत समाजवादीका केही नेताहरू पनि रहेकाले अनौपचारिक ढंगले कुरा भइरहेका छन्’, संवादमा रहेका एक एमाले नेताले रातोपाटीसँग भने, ‘अप्ठ्यारो सबैलाई छ । अब एक ढिक्का भएर र सच्चिएर अघि बढ्नुको विकल्प छैन, तर ठोस वार्ता र संवाद नभई निचोडमा पुग्ने अवस्था छैन ।’
- पार्टी पुनर्गठनको पक्षमा खुल्ने नेता को–को ?
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पोलिटब्युरो सदस्यहरू गोकुल बाँस्कोटा, कर्ण थापा, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालगायत पार्टी पुनर्गठनको पक्षमा खुलेका छन् । प्रदेश र जिल्ला तहका नेताहरू पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् तर उनीहरूमध्ये धेरैजसो खुल्न सकेका छैनन् ।
एमाले पोटिव्युरो सदस्य गोकुल बाँस्कोटाले समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्ने भन्दै त्यसका लागि सबै तयार हुनुपर्ने बताएका छन् ।
‘अरू क्षति रोक्न जे भो–भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ’, बास्कोटाले भने, ‘अप्रिय लाग्ला तर सत्य यही हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्तत्रविना समाज । समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण