बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

सामान्य मर्मत गरेर बस्न नमिल्ने अवस्थामा बानेश्वर वृत्त

मङ्गलबार, ३१ भदौ २०८२, १६ : ४०
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • भदौ २३ गते नयाँ बानेश्वर चोकमा प्रदर्शनका क्रममा डीएसपी हरि खतिवडा घाइते भए।
  • प्रदर्शनकारीले वृत्तमा आगजनी गर्नुका साथै इन्स्पेक्टरलाई बर्दी फुकाल्न बाध्य पारे, र डीएसपीको निवासको सामान लुटे।
  • आगजनीबाट नयाँ बानेश्वरस्थित प्रहरी वृत्तको मुख्य भवन पूर्ण रूपमा क्षति भएको छ र डीएसपीले अस्थायी कार्यालय खोज्दै छन्।

काठमाडौँ । यही भदाै २३ मा जेनजी प्रदर्शन सुरु हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा बानेश्वर चोकमा खटिएका थिए । 

त्यहाँ प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले उनको अनुहार र हातमा चोट लाग्यो । भोलिपल्ट प्रदर्शनको नाममा आएका उच्छृङ्खल समूहले वृत्तमा आगजनी गरे ।

आगजनी गर्नुअघि इन्स्पेक्टर समेतलाई प्रदर्शनकारीहरूले बर्दी फुकाल्न लगाए । बर्दी फुकालेर समर्पण गरेपछि अर्को समूहले मोटरसाइकल ल्याएर किच्न खोजे र बागमतीमा हामफाल्न बाध्य पारे । प्रदर्शनकारी त्यतिमै राेकिएनन्, बागमतीमा हाम फालेपछि पनि ढुंगामुढा गरे अनि, कार्यालयमा आगजनी लुटपाट सुरु गरे ।

डीएसपी खतिवडा बस्ने निवासको सामान उच्छृङ्खल समूहले लुटेर लगेका छन् । लेखा शाखामा रहेको १ लाख ५० हजार नगद आगजनी गर्नेहरूले लुटे ।

घाइते अवस्थामा खतिवडा मंगलबार वृत्त सरसफाइ गरिरहेको अवस्थामा भेटिए । स्थानीयले निर्माण गरिदिएको सिसिटिभी रुम रंगरोगन गरिँदै छ । त्यो रुमचाहिँ आन्दोलनकारीले आगजनी गरेनन् । डीएसपी खतिवडा भन्छन्, ‘यहिँबाट काम सुरु गर्ने सोचेका छौँ ।’

आन्दोलनको केन्द्रमा रहेको तीनकुने स्थित प्रहरी वृत्त नयाँ बानेश्वरको मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । सामान्य मर्मत गरेर काम गर्न नमिल्ने अवस्थामा छ । आगजनीबाट नष्ट भएको भवनको छतमा रहेको ३ वटा पानी ट्याङ्कीको बोझले छत लच्किएको छ ।

जुनियर अधिकृत, जवान र हवल्दार ब्यारेक पूर्ण रूपमा जलेका छन् । ओढ्ने, ओछ्याउने र युनिफर्म जलेका छन् ।भवन तयार नहुन्जेल अस्थायी रूपमा बस्ने गरी नयाँ कार्यालय भवन खोज्न डीएसपी खतिवडा स्थानीयसँग सहकार्य गरिरहेका छन् ।

पेरिसडाँडा नजिकै रहेको एउटा हलमा बसेर काम गर्न स्थानीयले प्रहरीलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप