सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन युद्धविराम प्रयासमा पुटिनले निराश पारेको ट्रम्पको भनाइ

बिहीबार, ०२ असोज २०८२, २२ : २७
बिहीबार, ०२ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनले युक्रेन युद्ध रोक्न निराश पारेको बताए।
  • बेलायती प्रधानमन्त्री स्टार्मरले पुटिनमाथि थप दबाब दिन आह्वान गरे।
  • ट्रम्पले रुसी तेल किन्न बन्द गर्न र वार्ताका लागि पुटिनलाई अलास्कामा आमन्त्रण गर्न आग्रह गरे।

बेलायत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताएका छन् । 

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन्। 

बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन्।

यसैबिच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । यद्यपि, उनले मस्कोविरुद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ ।

अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गरेका थिए। उनले रुसी नेताप्रति बारम्बार झुकाव राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गरेका छन् ।

ट्रम्पले भने, “रुसी राष्ट्रपति पुटिनसँगको मेरो सम्बन्धका कारण मैले सोचेको द्वन्द्व सबैभन्दा सजिलो हुनेछ तर उहाँले मलाई निराश पार्नुभएको छ । उहाँले वास्तवमै मलाई निराश पार्नुभएको छ।” 

ट्रम्पले युक्रेनमा शान्ति छाउने आशा गर्दै अगाडि भने, “रुस र युक्रेनले यो काम पूरा गर्नेछन्।”

बेलायती प्रधानमन्त्री स्टार्मरले अमेरिकी नेताबाट किएभका लागि थप प्रतिबद्धताहरू सुरक्षित गर्ने प्रयास (विशेष गरी युक्रेनमा युद्ध) मा ट्रम्प र युरोपेली सहयोगीहरूको आफूलाई पुलको रूपमा प्रस्तुत गरेका छन्। 

उनले ट्रम्पलाई प्रत्यक्ष रूपमा नचिढाउन सावधानी अपनाएको देखिन्थ्यो। उनले अमेरिकी राष्ट्रपतिका रूपमा आफूले रुसी समकक्षी पुटिनमाथि कसरी ‘निर्णायक रूपमा दबाब बढाउने’ भनेर छलफललाई जारी राख्ने बताए । 

स्टार्मरले भने, “हामीले पुटिनमाथि थप दबाब दिनुपर्छ । जब अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई दबाब दिएका छन् तब मात्र उनले वास्तवमा युद्धविराम गर्ने कदम लिन खोजेको देखिएको छ । त्यसैले हामीले त्यो दबाब बढाउनु पर्छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप