संविधानको कार्यान्वयनमा कमजोरी भयो, ऐना नपुछी आफ्नो अनुहार हेर्नुहोस्: देवकोटा
सारांश
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा भएका त्रुटिलाई स्वीकार गर्नुपर्ने बताए।
- उनले संविधान दिवसमा सम्बोधन गर्दै संविधान जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी भएको उल्लेख गरे।
- देवकोटाले विकास, समृद्धि, सुशासन र युवा पुस्ताको चासोलाई संविधानभित्रैबाट पूरा गर्न सकिने बताए।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनको सिलसिलामा भएका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष दिनु नहुने बताएका छन् । उनले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई दलहरूले स्वीकार गर्नुपर्ने र त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताए ।
संविधान दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले आफ्नो अनुहारमा लागेको धुलो मैलो पुछ्नुको सट्टा ऐना पुछ्नुले आफ्नो गल्ती नचिनिने टिप्पणी गरे । उनले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानुनी दस्ताबेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह भएको उल्लेख गरे । प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरूको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज, राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताए ।
‘कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन ।’ उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो । गल्तीहरू बारम्बार दोहोर्याउनु मूर्खता सिवाय अरू केही होइन ।’
वर्तमान संविधानको परिधिभित्र रहेर नै विकास, समृद्धि, सुशासन, र युवा पुस्ताको चासो र चाहनालाई साकार पार्न सकिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । संविधानको सर्वोच्चता न्यायमूलक समाजको अपरिहार्यता भएकोमा जोड दिँदै उनले कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्न नहुने बताए ।
प्रदेश प्रमुख देवकोटाले स्वाभिमान र स्वाधीनतामा कहीँ कसैसँग सम्झौता गर्न नहुने दाबी गरे । समारोहमा उपस्थित सबैलाई आ–आफ्नो तह र तप्काबाट सुशासन, पारदर्शिता, मितव्ययिता र जबाफदेहितालाई शिरोपर गरेर आम जनताले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी कार्यहरूमा जोड दिन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण