देवता र बागी
सारांश
- एउटा मन्दिरमा महायज्ञ चलिरहँदा भोका मानिसहरुको पीडा बढ्छ।
- मन्दिरका पुजारी र उनका अनुयायीहरूले मानिसहरुलाई दुःख दिन्छन्, र बागीहरुले मन्दिर ढाल्ने प्रयास गर्छन्।
- अन्ततः बागीहरुले मन्दिर भत्काउँछन् र नयाँ जीवनको निर्माण सुरु गर्छन्।
आदिम प्रकृतिको बस्तीबिच एउटा तीनतले मन्दिर थियो । त्यस मन्दिरलाई शासनमहल भने पनि खासै फरक पर्दैनथ्यो । किनभने त्योे त्यस बस्तीको शासनको प्रेरणाको मुहान थियो । हो त्यो त्यसको प्राण थियो, त्राण थियो र थियो त्यसको दह्रो जग पनि । विशाल र भव्य मन्दिर वरिपरि सेपिला र स–साना, जीर्ण र फुकिढल पाटी र पौवा, छाप्रा र टहरा, सत्तल र धर्मशाला थिए, जसमा बस्थे हरिकङ्गाल र नरकङ्काल एवं सुकिढल र फुकिढलहरू ।
मन्दिरमा अहोरात्र घण्टका मधुर झङ्कार र मन्त्रोच्चारणका लयदार स्वरबिच अजीर्ण डकारका ढ्याउ–ढ्याउ सुनिन्थे । यता छिमेकको सेपिलो छायामा भोका जनहरूका गनगन र भनाभन, रोगी जनहरूका वेदना र क्रन्दन, अकाल कालग्रस्त तन्नमहरूका आर्तनाद र चीत्कार सुनिन्थे । त्योे विशाल र भव्य मन्दिरको चिल्लो र चम्किलो परिसरमा सालिन्दा नानाओली उत्सव र महोत्सव, चाड र पर्व, बढाइँ र खुसियाली, भोज र भतेर, यज्ञ र महायज्ञको ताँती लाग्थ्यो । गोप्य भनाइ के थियो भने, उताको चैन र यताको बैचैन, उताको ऐन र यताको खलबली, उताका डकार र यताको भोकको संयोजनकारी साइनो कायम राख्न यस्ता अवसर प्राण र त्राण दुवै हुुन् ।
सानातिना पर्व र उत्सव छिचोल्दै त्यो सालको महायज्ञको पवित्र र पूज्य, अपूर्व र विलक्षण घडी आइपुग्यो । यज्ञको नाम थियो, अनुपम मन्दिरको कोटी पूजा । सिन्दूर र अबिर, रङ र रोगन, तुल र फूल एवं चन्दन र चमत्कारले मन्दिर चिरिच्याट्ट सिँगारियो । भोलि महायज्ञको थालनी हुने शुभ दिन हो ।
सिँगारपटार र साजसज्जा, तयारी र सजगतामा कतै केही नपुग पो भयो कि ? कतै केही खोट पो रह्यो कि ? जाँचबुझ र परिष्कार गर्ने मनसुवाले छुट्यो अब देव औतारहरूको फूर्तिलो टोली । अघि–अघि पुजारी र पुरोहित, पछि–पछि पण्डित र गणेश, झाँक्री र धुपौरे, दासानुदास र कनसुत्ले । तिनले सिन्दूर र अबिर, रङ र रोगन, तुल र फूल, चन्दन र चमत्कारले सुशोभित मन्दिरका कण–कणको सूक्ष्म निरीक्षण गरे ।
‘कतै केही कसर छैन, हगि ?’ प्रशन्न र आल्हादित स्वरमा पुजारीले भने, ‘सर्वाङ्ग परिपूर्ण छ । कति सुन्दर !’
सबैले सहमतिको मुद्रामा मुन्टो हल्लाए तर झाँक्री भने किञ्चित् खिन्न र उदास देखिए ।
‘छैन त झाँक्री ?’ पुजारीले केरकार गरे ।
‘छन् त छ, ख्वामित, तैपनि...,’ झाँक्री केही भनुँ–भनुँ गर्दै अनकनाए ।
‘किन ? केही अपुग, केही खोट देख्यौ र झाँक्री ?’ पुजारीसँग कुम जोडेर पण्डितले सोधे ।
‘जे जति र जे जस्तो छ, गुरु, त्यसमा बेठिक केही छैन ।’
‘अनि ?’ अधीर मुद्रामा गणेशजी जाइलागे ।
‘प्रभु, मेरो एकथोक भन्नु छ, आज्ञा पाउँ,’ विनीत स्वरमा झाँक्रीले बिन्ती चढाए ।
‘भन,’ पुजारीले घोप्टा हातले सान गर्दै अभयदान गरे ।
‘यो रङ फिका छ, गुरु,’ निधार तीन मुजा पार्दै झाँक्रीले भने, ‘फिका र त्यसै–त्यसै फुङ्ग उडेको ।’
‘हो, गुरुजी,’ धुपौरेले हत्तपत्त होमा हो मिलाउँदै भने ।
‘के नपुग देख्यौ त यसमा ?’ मन्दिरको तल्लो भागदेखि माथि गजुरसम्म दिव्य दृष्टि छर्दै पुजारीले हप्काइको पाराले सोधे ।
‘यसमा पशुरङ छुट्न गएछ, गुरु ।’
‘के रगत भन्न खोजेका हौ ?’
‘हो, गुरु ।’ धुपौरेले कुरामा धूप हाले, ‘सुसंस्कृत भाषामा यसलाई पशुरङ भनिन्छ, गुरु ।’
‘यहाँ पशुबलि वर्जित छ नि त, बाबु ।’ पण्डितले लयालु स्वरमा तर्क गरे ।
‘चलन हो, गुरु । परमेश्वरका आज्ञाले सनातन भइआएको अकाट्य चलन ।’
‘साँचो भन्यौ,’ पुजारीले जानिफकार मुद्रामा सही थाप्दै भने, ‘धन्य हो तिम्रो दृष्टिको तीक्ष्णता, जुन बेजोड छ ।’
मन्दिरका भित्तामा पशुरङ लेपन गर्ने कुरा सर्वसम्मतिले सदर भयो । केहीबेरपछि झाँक्री र धुपौरे डेक्चीमा तात्तातो बाफ आइरहेको पशुरङ लिएर हाजिर भए ।
‘के हो यो ?’ विस्मित भावमा पण्डितले सोधे, ‘कतै नरबलि त भएन ?’
‘त्यही हो, गुरु,’ झाँक्रीले सहज पाराले भने, ‘पशुको त सिकार खान मिल्छ नि गुरु । यस्तो मौकामा त्यत्रो खति किन गरौँ भनेर ।’
‘हँ, यो कतै अनिष्ट त भएन ?’ गणेशजीले सोधे ।
—चलनै हो, गुरु । परमेश्वरका आज्ञाले सनातन भइआएको अकाट्य चलन ।’
‘साँचो भन्यौ,’ पुजारीले जानकार मुद्रामा सही थापे, ‘धन्य हो तिम्रो मीतव्ययी दृष्टि, जुन बेजोड छ ।’
यथास्थान पशुरङ लेपन गरियो र मन्दिरको सोह्र शृङ्गार सर्वाङ्ग परिपूर्ण भयो ।
‘दुष्ट !’ पण्डितले जङ्गिँदै भने, ‘यो होम परमेश्वरको भोजन हो । उनले प्रशन्न वा रुष्ट भएर ज–जसलाई जे–जे दिन्छन्, त्यही नै उसका कर्मको फल हो । तेरा कर्मको फल तँ भोग्दै छस्, मेरो कर्मको फल म ।’
महायज्ञको शुभ दिन आइपुग्यो । गोबर र श्रीखण्ड चन्दनले लेपेर कोटिहोम गर्ने थलो तयार भयो । ज्ञानी, पुण्यात्मा र महात्माहरू विराजमान हुने भव्य मण्डप पनि सजिसजाउ भयो । महायज्ञको पुनीत उपलक्ष्यमा कतैबाट कुनै बाधा–अड्चन नआओस् भन्ने हेतुले जो चाहिँदो कडिकडाउ शान्ति–सुरक्षाको प्रबन्ध गरियो । लाखबत्ती र सुवासिलो धूप–धुवाँरसँगै यज्ञको शुभारम्भ गर्ने शुभघडी आयो । शुभारम्भ गर्न पुजारी उठे । बङ्गुरको मासुले पोतेको बङ्गुरकै देहजस्तो उनको ओजिलो र गहकिलो देह थाम्न अभ्यस्त नभएका उनका गोडालाई पर्नु धौ–धौ पर्यो । पुजारीको पवित्र देह मण्डपमा ढल्ला र यज्ञमा अनिष्ट पर्न जाला भनेर मण्डपका पुण्यात्मा त्राहि–त्राहि भए । झाँक्रीको सङ्केत बुझेर धुपौरेले हत्तपत्त दुई फुकीढल मानवलाई मण्डपमा हाजिर गराए । ती दुई फुकीढलले निहुुरेर पुजारीका दुई काखीमुनि काँध थापे । पुजारीको ओजस्वी देहको चापले ती जिउँदा बैसाखीका चिम्टे गोडा धरमराए । पुजारीका पवित्र कण्ठमा शान्तिसूचक परेवाको माला झुन्डिएको थियो । र ती परेवाका घाँटीमा रुद्राक्षका दाना पहिराइएका थिए ।
पुजारीले मुद्रामा दिव्य चमक प्रकट गर्दै यज्ञको दैलो उघारे । उनले भने, ‘यहाँ उपस्थित सबैका इच्छाले यो पावन यज्ञको शुभारम्भ गर्न म अब उठेँ । यो मन्दिर सकल ब्रह्माण्डभरि कहीँकतै नभएको, कहीँकतै हुुन नसक्ने, हामीले कहीँकतै हुुन दिन नहुने अपूर्व, अनुपम र अजर–अमर मन्दिर हो । पवित्रतम यस मन्दिरले कोटी–कोटी वर्षको दीर्घजीवन पूरा गरेको औसरमा यसको महिमागान गर्न यो पवित्र घडी आयोजित छ ।’ उनले आफ्ना तीक्ष्ण दृष्टि यज्ञको सेरोफेरोमा सरसरी डुलाए । अनि गम्भीर मुद्रा धारण गर्दै उनले भने, ‘दैवदेखि पितृसम्मका सपना, जपना, कामना, पसिना, प्रतिभा र सिर्जनाले सिञ्चित यो मन्दिर सत्य र शान्तिको एक अनुपम प्रतीक हो । अतः ती हाम्रा देवता र पितृको पुण्यस्मृतिमा सर्वप्रथम हामी दुई पल मौन धारण गरौँ ।’
मौन मुद्राको चरण पूरा हुुन नपाउँदै उता दुरात्माहरूको गोलोबाट गगनभेदी खलबली उठ्यो । पुरोहितले गर्जिंदै सोधे, ‘यस्तो बखतमा त्यहाँ त्योे के हो ?’
उताको एक दुरात्माले वेदना र त्रासले कामेको स्वरमा भन्यो, ‘एक गर्भिणी नारीको चोला उठ्यो, गुरु ।’
‘त्योे त सनातन हो,’ पण्डितले कड्किएर भने, ‘त्यसो हुँदैमा यज्ञमा व्यवधान उत्पन्न गर्नु किन ?’
‘आमा र शिशुको भोकले प्राण गयो, गुरु । हो, भोकले, रोगले, अत्याचारले... ।’
गणेशजी पाखुरा खैँचिँदै जुरुक्क उठे । अनि कर्कश र कठोर स्वरमा उनी गर्जिए, ‘यहाँ यो पवित्र मन्दिरको सेरोफेरोमा भोको र अघाको, हुने र नहुने, ठुलो र सानो कोही छैन । त्योे जो छ जस्तो देखिन्छ, त्योे त दृष्टिदोष हो, त्योे केवल अज्ञान हो ।’
मण्डपको कुनै अदृश्य कोणबाट गुलेली र घुँयेँत्रो प्रहार गरेको आवाज सुसायो । उता दुरात्माहरूको हुल पलभर आतङ्कित भयो । अनि गाढा मौन व्याप्त भयो । मण्डपअगाडि कोटिहोम सुरु भयो । रासका रास चामल घिउको कुण्डमा डुब्यो । श्रीखण्डका पवित्र दाउराको थुप्रोमाथि आगाको ज्वाला दन्कियो । त्यो ज्वालामा चरु भकाभक होमिन थाल्यो । श्रीखण्ड र घिउको बास्ना वायुमण्डलभरि पैmलियो । भोकको आगोले पिल्सिएका उताका दुरात्माहरू बास्नाको छनक पाएर ओठ चाट्दै जमजमाउन थाले । पेटमा केही चारो पर्ला कि भन्ने व्यर्थको आशाले छटपटाउन थाले । जे होला–होला भनेर आँखै चिम्लेर तिनले चरुको रासतिर खनिने जमर्को पनि गरे । तर यताको स्वर्ग र उताको नर्कको साँधमा लक्ष्मणरेखा कोरिएको थियो । लक्ष्मणरेखामा लास समान भएर मुस्तन्ड तिघ्रेहरू घोप्टो परेका थिए । ती तिघ्रेको नाउँ देवरक्षक थियो । तिनलाई नाघेर आउन दुरात्माहरू हच्किए ।
‘गुरु,’ साँधपारि उभिएर एउटा नास्तिकले सोध्यो, ‘यत्रो खुसीको यज्ञमा यी जवानहरू किन यसरी लम्पसार परेका हुन्, गुरु ?’
‘लम्पसार होइन, मूर्ख,’ पुरोहितले जवाफ दिए, ‘मोक्ष प्राप्तिका निम्ति यो त महाध्यान हो, पवित्र समाधि हो यो ।’
‘गुरु,’ अर्को विधर्मीले आँट गरेर भन्यो, ‘यता हामी भोकले तड्पिरहेका छौँ, त्यता आगोले भोजन नाश गरिरहेछ । यो त अन्याय भएन र गुरु ?’
‘दुष्ट !’ पण्डितले जङ्गिँदै भने, ‘यो होम परमेश्वरको भोजन हो । उनले प्रशन्न वा रुष्ट भएर ज–जसलाई जे–जे दिन्छन्, त्यही नै उसका कर्मको फल हो । तेरा कर्मको फल तँ भोग्दै छस्, मेरो कर्मको फल म ।’
‘त्योे चामल र घिउ त हाम्रो कर्मको फल हो नि, गुरु । त्योे त्यसरी व्यर्थमा पोल्नु किन ?’ एक वर्णसङ्कर कुर्लियो, ‘हाम्रा कर्मको त्योे फल हामी भोग गर्न पाऔँ । गुरु, हामी त्योे फिर्ता पाऔँ ।’
दासानुदास सन्किँदै बुरुक्क उफ्रियो र उसले हावामा हात नचायो । लक्ष्मणरेखामा घोप्टो परी लम्पसार परेका मुस्तन्ड ध्यानीहरू जादुको अदृश्य प्रभावले झैँ बिजुली वेगमा जर्याकजुरुक उठे । अनि तिनले गुलेली र घुएँत्रा अन्धाधुन्ध चलाए । दुरात्माहरूको बगालमा कोलाहल र हाहाकार मच्चियो ।
कोटिहोम पुनः सुरु भयो । वातावरणमा फेरि मनोहारी सुगन्ध व्याप्त भयो । अपूर्व, अनुपम र अजर–अमर मन्दिरको मङ्गलकामना गर्दै वेदका ऋचा उच्चारण गर्दाको मधुर ध्वनि समस्त वायुमण्डलमा घन्कियो । त्यसैबिच दुरात्माहरूको गोलोमा चट्याङझैँ केही पड्कियो र वातावरण सन्न भयो ।
‘त्योे के हो ?’ रुष्ट स्वरमा पुजारीले सोधे ।
‘गुरु ।’ एक दुरात्माले प्रत्युत्तर दियो, ‘हामी सबैजना भोकको बेदीमा बलि हुुन लाग्यौँ । त्यसैले गुरु, अन्त्यकालमा भोक विस्फोट हुुन लाग्यो ।’
‘बलि भन्नुहुुन्न, मूर्ख,’ गणशजीले सम्झाए, ‘यसलाई त मोक्ष प्राप्ति पो भन्नुपर्छ । शुभ चिजलाई अशुभ संज्ञाले पुकार्दा फल नष्ट हुुन्छ । यस्तो दुर्लभ मुहूर्तमा मोक्ष प्राप्त गर्नु कत्रो सौभाग्य !’
‘गुरु,’ एक मठ्याहाले मुख फोर्योे, ‘हामी जाडाले कक्रियौँ, गुरु, एक्कैछिन यज्ञको आगो ताप्न पाऔँ ।’
‘असम्भव,’ दासानुदासले फड्कार्यो, ‘यहाँ आउने सोझो बाटो कहाँ छ र ? सन्तोष र सत्कर्मद्वारा ज–जसले मोक्ष प्राप्त गर्छन्, ती माथि स्वर्गबाट फर्केर यहाँ आइपुग्छन् । हामी जो–जो यहाँ छौँ, पहिले हामी पनि त्यही नर्कमा थियौँ । देख्यौ, पुण्य कर्मको फलले गर्दा आज हामी के र कहाँ छौँ ?’
‘अफसोस नमान बाबु हो,’ पुजारीले आश्वस्त तुल्याउन खोज्दै भने, ‘यो मण्डपको ढोका सबैका लागि सदैव खुला छ । तर... ।’ उनले निधार चाउरी पारेर एकछिन गमे अनि भने, ‘तर बाटो लामो र घुमाउरो छ । अर्थात् सत्कर्मद्वारा मोक्ष प्राप्ति । जीवनको सरल र सुगम मार्ग कहाँ छ र, बाबु हो ?’
महायज्ञ अलिबेर रोकियो । मण्डपमा विराजमान भएका पुण्यात्मा र महात्माहरू फलाहार गर्न लागे । तिनका अघिल्तिर सुनका थालीमा थरी–थरीका पाकपरिकार र मेवा–मिष्ठान्न देखेर भोका दुरात्मा र्याल चुहाउन थाले ।
‘गुरु,’ एक बागीले कम्मरमा हात राखेर भन्यो, ‘गुरु, यो जीर्ण मन्दिर भत्काइयोस् ।’
त्योे अनर्थ वचन मण्डपवासीका कानमा वज्रझैँ चड्कियो । अतालिँदै ती जर्याकजुरुक उठे । तिनको हडबडी र खलबली देखेर मोक्ष प्राप्तिको मार्गमा लीन भएका ध्यानी तिघ्रेहरू चलमलाए ।
‘त्योे के भनिस् रे तैँले, शूद्र ?’ लाल–लाल नेत्रले बागीलाई दागा धर्दै मूल गुरु कराए, ‘तैँले त्योे के भनिस् ?’
‘यो मन्दिर जराजीर्ण छ, गुरु । तसर्थ दुनियाँको रक्षार्थ यसलाई ढालियोस् ।’
अडिग र हक्की त्योे बागी शिर ठाडो पारेर उभिइरह्यो ।
‘जसको गौरवगानका खातिर यत्रो महायज्ञ आयोजित छ, त्यसैलाई ढाल्ने ?’ पण्डितले हुुङ्कारमय स्वरमा बागीको सातो खान खोजे ।
‘क्रूरताको प्रतिमूर्तिमा रङ–रोगन पोतेर थोत्रो कहिल्यै नयाँ हुुन्न, गुरु,’ बागीले रत्तिभर नलत्रिईकन भन्यो, ‘तसर्थ यो अजर–अमर मन्दिर होइन, गुरु । यो त ढालिनलायकको जर्जर वस्तु पो हो ।’
‘दुष्ट, ढालिनलायक त तैँ छस् ।’
बागीलाई पलभरमै ढालियो ।
‘गुरु,’ अर्को कङ्गाल खडा भयो र भन्यो, ‘यसलाई ढाल्नैपर्छ, गुरु ।’
‘तँ नबोल्, नत्र...,’ कन्सुत्लेले दागा धर्यो । तर कङ्गाल दबेन ।
‘यसको सेपमुनि हामी कठ्याङ्ग्रियौँ, गुरु । बियाँलोे नगरीकन यसलाई अहिल्यै ढालियोस् ।’
त्यो कङ्गाललाई पनि ढालियो ।
‘गुरु,’ बागी अगुवाका पाइला पछ्याउँदै अर्को बागी खडा भएर भन्यो, ‘गुरु, हामी जिउन चाहन्छौँ । हामी जीवनको पुनर्निर्माण गर्न चाहन्छौँ । त्यसैले गुरु, हाम्रा बाटाको तगारो भई खडा भएको यो धराप मन्दिर अहिल्यै ढालियोस् ।’
‘जे निर्माण गर्छौ, गर,’ केही सशङ्कित र भयभीत झैँ भई किञ्चित् शान्त भावमा पुजारीले भने, ‘कल्ले समात्या छ तिमीहरूका हात–पाउ ?’
‘गुरु,’ बागीले आवेगले कामेको स्वरमा भन्यो, ‘यो जीर्ण मन्दिरका जर्जर जरा सर्वत्र पैmलिएका छन् । र यसको सेप सर्वत्र व्याप्त छ । त्यसैले... ।’
त्योे बागी पनि थलैमा ढालियो ।
त्यसपछि दुरात्माहरूको बगालमा कङ्कला शब्द व्याप्त भयो । मुस्तन्ड मोक्षमार्गीहरू सुताहा आसनबाट जर्याकजुरुक उठे । र त्योे लक्ष्मणरेखा नाघ्दै हानेको काँडसरि उतातिर खनिए । त्योे ब्रह्ममुहूर्तमा थुप्रै नास्तिक, अज्ञानी, विधर्मी, दुरात्मा, वर्णशङ्कर र मठ्याहाहरूले काल प्राप्त गरे । अनि ती कुमार्गीको पाँतमा मसानघाटे चकमन्नता व्याप्त भयो । यसरी अनुपम मन्दिरको कोटिहोम निर्विघ्न ढङ्गले सम्पन्न भयो । पुण्यतिथिको जोग पारेर सारा बागी असुरलाई दमन गरेपछि सुरहरू दिग्विजयको मुद्रामा उभिए । साँझपख भजन र कीर्तनका सुमधुर राग गुन्जिए । र सुरहरू दिग्विजयको मुद्रामा उभिए । भजन र कीर्तनका सुमधुर रागको रस लिँदै पुण्यात्माले सोमरस पान गरे । अनि अति प्रशन्न र निर्भय मुद्रामा ती आ–आफ्ना गोपिनीहरूका साथ रासलीलामा मग्न भए ।
आफ्ना अनेक प्रियजनले अकालमै जीवनबाट हात धुनुपरेको प्रत्यक्ष देख्दा मोक्षमार्गविरोधी दुरात्माजगत् शोकाकुल भयो । रुवाबासीको कोलाहलबिच एउटा बागीले अघि सरेर भन्यो, ‘अब पुग्यो । रोएर आखिर पाउनु के छ ? जो–जो ज्युँदा छन्, लौ तिनले आँट गरुन् ।’
‘के गर्ने मनसुवा हो तेरो ?’ अर्को बागीले खुल्दुली प्रकट गर्यो ।
‘भाइ हो, यो थोत्रो मन्दिर ढाल्ने । अब कि जीवन कि मरन । बिचको बाटो छैन ।’
‘हामी सबैका हात बाँधिएका छन्, ढाल्ने केले ?’ अर्को बागीले तर्क गर्यो ।
‘हात बाँधिए पनि दाँत त फुक्कै छन् कि ?’ पहिलो बागीले गम्भीर मुद्रा धारण गर्दै भन्यो ।
अब बन्धित बागीको ताँती जीर्ण मन्दिरतर्फ लम्कियो । मन्दिर चकमन्न थियो, घोर चकमन्न र मौन । चौकीदारी र खबरदारीमा खटिएकाहरू समेत पनि जितबाजी र सोमरसको नशामा लट्ठ थिए । बागीहरूले दाँतले टोक्दै र कुइनाले ठोक्दै कण–कण गरीकन जीर्ण मन्दिरका भित्ता–भित्तामा प्वाल पारे । दाँत फुक्लिएपछि र कुइना रक्ताम्मे भएपछि तिनले गिँजाले चिथोरे । र लखतरान परेका ती बागी एकछिन थकाइ मार्न बसे ।
‘भाइ हो,’ सबभन्दा वृद्ध बागीले विस्मित मुद्रामा सोध्यो, ‘भाइ हो, जीर्ण भित्तामा उदेकलाग्दो केही गन्हाउँदै छ । के होला यो ?’
‘यो ?’ एक तरुण र चतुर बागीले उदास स्वरमा जवाफ दियो, ‘यसलाई उनीहरू पशुरङ भन्छन्, बढी बा ।’
‘पशुरङ ? त्योे भनेको के हो ?’
‘त्योे ? त्योे हाम्रै अभागी आफन्तहरूको जीवनको गाढा रङ हो, बढी बा ।’
त्योे सुनेर सबै मर्माहत भए । तिनले व्यथित सुस्केरासाथ एकअर्कालाई टुलुटुलु हेरे ।
आखिरमा जीर्ण मन्दिरका ती नवनिर्मित दुलोमा गल लगाउने बेला आयो । साथमा न गल छन्, न हात फुक्का छन् । बागीहरूले आँखा चिम्लेर दाह्रा किट्दै बितेका र बाँचेका प्रियजनलाई सम्झे ।
‘आँट गर भाइ हो,’ वृद्ध बागीले दृढ स्वरमा हौस्याउँदै भन्यो, ‘अर्को बाटो नै के छ र ?’
आफ्नै जिउलाई गल बनाएर ती प्वाल–प्वालमा घुसारे । अनि तिनले आफ्नो सारा तागत र साहस सँगालेर गल लगाए । महायज्ञको भोज खाएर ढाडिएको थोत्रो शासनमहलको परम मित्रका रूपमा रहेको त्योे मन्दिर फस्को पहराको पहिरो झैँ गर्ल्याम्म ढल्यो ।
जनश्रुति भन्छ— ‘जे–जति दुरात्मा र बागीहरू बाँची–बर्ती रहे, ती अचेल जीवनको पुनर्निर्माणमा मग्न छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण