बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

जलिरहेको अदालत र न्यायको खरानी

शनिबार, ०४ असोज २०८२, ११ : ००
शनिबार, ०४ असोज २०८२

सारांश

  • अदालतमा आगलागी हुँदा न्यायको भवन जलेर खरानी भएको र न्यायप्रतिको आस्थामा धक्का लागेको कुरा उल्लेख छ।
  • आगजनीले मुद्दाका प्रमाण नष्ट हुनुका साथै दोषी उम्किएका छन्, जसले गर्दा निर्दोषहरू अन्यायमा परेका छन्।
  • लेखमा आगलागीलाई सुनियोजित षड्यन्त्रको रूपमा चित्रण गरिएको छ, जसले न्याय प्रणालीको सुरक्षामाथि प्रश्न खडा गरेको छ।

जलिरहेको अदालत र न्यायको खरानी आफैँमा अति पीडादायी अश्रुपुरित शब्द हो । जहाँ खुसी रित्तिएको हुन्छ । अग्रगामी कदम रोकिएको हुन्छ । मन बेचैन छटपटीमा हैरान भइरहेको हुन्छ । 

खरानीको खण्डहरमा मनको प्रतिध्वनि कसैले सुन्दैन । सुन्ने चेष्टासम्म गर्दैन । धर्ती हल्लिएझैँ मुटु कम्पायमान भइरहेको हुन्छ । त्यो कम्पन कुनै भूकम्पको होइन, यो मनभित्र उठेको अदृश्य आँधी हो । आँखाअगाडि खरानीको खण्डहर दृश्य, जहाँ हिजोसम्म जीवनका सौन्दर्य–रङहरू थिए । आज त्यहाँ कालोमुस्लो धुवाँ कुइरीमण्डल बनेर आकाशमा तैरिरहेको छ ।

यतिबेला मन भक्कानिएको छ । हो, यो आँसुको कुनै मूल्य छैन । यो पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । बेवारिसे लासजस्तै, जसको अन्तिम संस्कार पनि हुन पाएन । हृदय छियाछिया भएको छ । त्यसबाट निस्किएको आलो रगतको बाछिटाले सम्पूर्ण अस्तित्वलाई भिजाइदिएको छ ।

यो दृश्य बाहिरी विनाशको होइन, यो हाम्रो आत्माको विनाश हो । हामीले हाम्रो आफ्नो सम्पत्ति जलाउँदा हाम्रो अस्तित्वलाई पनि जलाउँछौँ । हामीले न्यायको घरलाई आगो लगाउँदा हाम्रो न्यायको भावनालाई पनि जलाउँछौँ ।

त्यो कुइरीमण्डल धुवाँ आकाशमा मात्र उठिरहेको छैन, त्यो धुवाँले हाम्रो विवेकलाई पनि ढाकिरहेको छ । हाम्रो आँखालाई अँध्यारो पारिरहेको छ, ताकि हामीले सत्य देख्न नसकौँ । हामीले कसरी आफ्नै घरमा आगो लगायौँ ? कसरी आफ्नै सपनालाई खरानी बनायौँ ?

अन्याय गर्ने पक्षले स्वतः उन्मुक्ति पाउँछ । न्यायको भिख माग्ने पक्ष जसको कुनै गल्ती नभए पनि अब पराजित भएर झन् बढी हारको चोट सहन बाध्य हुन्छ । न्याय पाउने आधार जलाइएपछि, खुसीका दिनमा अनायासै तुँवालोले ढाकिएपछि न्यायको आशा, विश्वास, भरोसा सबै चकनाचुर हुन पुग्छ ।ं

अदालत जलाइँदा त्यसको धुवाँ मात्र आकाशमा उड्दैन, न्यायप्रतिको नागरिकको आस्था पनि खरानीमा परिणत हुन्छ । प्रश्न उठ्छ— कसलाई फाइदा भयो ? प्रहरी प्रशासन ध्वस्त पारिँदा, सर्वोच्च न्यायका कागजातहरू खरानी हुँदा, फाइदा तिनैलाई भयो जसको अपराध प्रमाणित हुन थालिसकेको थियो, जसका मुद्दा विचाराधीन थिए । निर्दोषको मुद्दा त झन् अधुरै रह्यो, पीडितको आशा बिझायो, तर दोषी भने हाँस्यो, किनभने उसलाई बाँध्ने प्रमाण अब छैन ।

यो दृश्य बाहिरी विनाशको होइन, यो हाम्रो आत्माको विनाश हो । हामीले हाम्रो आफ्नो सम्पत्ति जलाउँदा हाम्रो अस्तित्वलाई पनि जलाउँछौँ । हामीले न्यायको घरलाई आगो लगाउँदा हाम्रोे भावनालाई पनि जलाउँछौँ ।

हुन त न्यायालयका धरोहर र तिनमा सुरक्षित अभिलेखहरू मात्र खरानी भएनन्, अन्य सार्वजनिक सम्पत्तिलाई पनि खरानी बनाइयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सर्वोच्च निकाय नै अग्नि ज्वालामा दन्कुटी बालियो । खास आन्दोलनकारीले यस किसिमको विध्वंस गर्न सक्दैन । उनीहरूको आन्दोलनको माग भन्नु भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र कानुनी राज्य थियो । प्रशासनिक कार्यालयमा आगजनी गरिँदा हाम्रै नागरिकता जले । मालपोतमा आगो लगाइँदा हाम्रै लालपुर्जा भष्म भए । पसलहरू बालिँदा हाम्रै किनमेलका स्थान सकिए । एउटाको रिस अर्कोलाई पोखिँदा नराम्ररी देशले क्षति भोग्नुपर्‍यो ।

यसरी आन्दोलनका नाममा आगो लगाइने यो घटना आन्दोलनकै लक्ष्यसँग मेल खाँदैन । आन्दोलन न्यायका लागि हुन्छ, समानताका लागि हुन्छ, भ्रष्टाचार र अन्याय अन्त्य गर्न हुन्छ, तर न्यायको प्रतीक भवनलाई जलाउनु भनेको आफ्नै आधार स्तम्भलाई खण्डहर पार्नु हो । जलेर खरानी भएका ती फाइलमा केवल मस्यौदा थिएनन्, त्यहाँ असंख्य परिवारको भरोसा थियो, रगत–पसिनाले खोजिएको सत्य थियो । त्यसैलाई ध्वस्त पारिदिँदा आन्दोलन न्यायको यात्राबाट विचलित भयो ।

यसमा प्रशासन नितान्त कमजोर साबित भयो । सुरक्षा दिनुपर्ने निकाय नै असक्षम रह्यो । त्यही कमजोरीलाई अपराधी तत्त्वहरूले अवसर बनाए । आन्दोलनकारीको भिडमा घुसपैठ गर्ने तिनै समूह थिए, जसलाई अदालतमा आफ्नो अपराध उजागर हुने ठुलो भय थियो । उनीहरूले आफ्नै अपराध लुकाउन न्यायको आधार नै जलाइदिए ।

न्यायको सर्वोच्च निकायलाई आगोले बाल्दा यसले दिएको सन्देश स्पष्ट छ— देशमा न्याय प्रणाली कति असुरक्षित छ र राज्यका संयन्त्र कति लापरबाहीमा डुबेका छन् तर यस्तै कमजोरीमा अपराधीलाई अवसर मिल्छ, निर्दोष अझै अपमानित हुन्छन् । दोषीहरू विजयको अट्टहासमा दिउँसै ताण्डव नृत्य देखाउँछन् ।

अदालतको भवन पुनः बनाउन सकिन्छ तर मुद्दाका फाइलहरू, आवश्यक कागजातका चाङहरू, न्याय निरुपणका लागि सबुत–प्रमाणका पत्रहरू सबै खरानीको थुप्रोमा परिणत हुँदा त्यहाँ कसरी न्याय स्थापित हुन सक्छ ? नयाँ फाइल खडा गर्न सकिएला तर त्यसअघिका आधारहरू कहाँ पाउन सकिन्छ ? भरोसा सजिलै पुनः जन्मिँदैन । भरोसा भत्कियो भने न्यायको आत्मा नै भत्किन्छ । प्रमाणहरू सबै जलाएपछि बाँकी रहेको खरानीमा भड्किएको आत्माको छटपटीबाहेक अरु केही हुन सक्दैन ।

त्यसैले अदालत जलाउनु केवल भवन जलाउनु होइन, यो राष्ट्रको न्यायप्रतिको विश्वास जलाउनु हो; अन्यायमा परेर न्यायको पर्खाइमा रहेका कैयौँ जीवनको सपना पनि खरानी पार्ने अक्षम्य अपराध हो । त्यो आगोले फाइदा केवल अपराधीलाई दिन्छ, राष्ट्रलाई होइन । यो खरानीले न्यायप्रेमीको आत्मालाई भतभती पोल्छ, नरोकिने आँसुको धारा खसाउँछ, छाती छियाछिया पार्छ, मन र मुट भक्कानिएर मुर्छा पार्छ ।

न्यायको खरानी हुनु विवेकको अभाव मात्रै हुन सक्दैन, यसमा लामो समयदेखिको योजना तयारीले मौका हेरिरहेको थियो । तिनै अवसरवादीद्वारा आन्दोलनको फाइदा लिँदै आगो दन्काइयो, त्यसले भवन र सरसामान मात्र जलाएन; त्यसले हाम्रो विश्वास, हाम्रो आशा र हाम्रो सामूहिक विवेकलाई पनि खरानी बनाइदियो । देशको मुटुमा अवस्थित न्यायको मन्दिरमा अग्निज्वाला मच्चिँदा यौटा भवनको विनाश थिएन, त्यो त न्यायको अन्तिम आशामाथि गरिएको निर्मम प्रहार थियो ।

अदालत जलाइँदा कसलाई फाइदा भयो ? प्रहरी प्रशासन ध्वस्त पारिँदा कसलाई फाइदा पुग्यो ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । ती गरिब, निर्दोष मानिस जो वर्षौंदेखि न्यायको प्रतीक्षामा थिए, उनीहरूका लागि त्यो आगोले उनीहरूको अन्तिम आशाको दियो निभाइदियो । उनीहरूका मुद्दाका प्रमाणहरू, वर्षौंको दुःख र आँसुका दस्ताबेजहरू, त्यस आगोमा जलेर खरानी भए । अब उनीहरूले कहाँ गएर न्याय माग्ने ? कसरी आफ्नो निर्दोषिता प्रमाणित गर्ने ?

यसको विपरीत फाइदा तिनैलाई भयो जसले देश र जनतालाई अन्याय गरेका थिए । जसका विरुद्ध मुद्दा विचाराधीन थिए, जसलाई सजाय हुने निश्चित थियो, उनीहरूका लागि त्यो आगो जीवनदान बन्यो । त्यो आन्दोलनको भेषमा आएका अवसरवादीहरूले आफू चोखिनका लागि न्यायको मन्दिरलाई नै आगो लगाइदिए । न्यायको घरको ढोका नै बन्द गरिदिए ।

न्यायको सर्वोच्च निकायका कागजातहरू जलिरहँदा त्यसलाई सुरक्षा दिन नसक्नु, प्रशासनको ठुलो कमजोरी हो । यो कमजोरीको फाइदा घुसपैठियाहरूले उठाए । मौकामा चौका हान्ने अवसरको खोजीमा रहेका ती स्वार्थी समूहले आन्दोलनकारीको खोल ओढेर देश र जनताको भविष्यलाई नै आगो लगाइदिए । वास्तविक आन्दोलनकारीको उद्देश्य यस किसिमको उद्दण्ड अग्निकाण्ड मच्चाएर नेपाल आमाको आत्मालाई रुवाउनु कदापि थिएन । उनीहरूको काम त न्याय र अधिकारका लागि आवाज उठाउनु थियो ।

यसरी न्याय जलेर खरानी हुँदा स्पष्ट भयो, यो घटना कुनै आकस्मिक दुर्घटना थिएन । यो त एउटा सुनियोजित षड्यन्त्र थियो, जसको उद्देश्य न्यायलाई मार्नु र अन्यायलाई जिताउनु थियो । समाजमा भय र त्रास प्रारम्भ गरी शान्ति खलबल्याउनु थियो । यो घटनाले हामीलाई एउटा कटु सत्यको सामना गर्न बाध्य बनाउँछ । जब हामी आफ्नो सम्पदा, सार्वजनिक सम्पत्ति, आफ्नो नैतिकता र आफ्नो विवेकको सुरक्षा गर्न सक्दैनौँ, तब हामी हाम्रो सबैभन्दा ठुलो सम्पत्ति न्याय गुमाउँछौँ । एकपटक न्याय गुमाएपछि समाजमा खरानीबाहेक बाँकी केही पनि रहँदैन ।

यो निबन्ध मेरो व्यक्तिगत पीडा र निराशाको अभिव्यक्ति मात्र होइन, यो हामी सबैको सामूहिक पीडाको अभिव्यक्ति हुनुपर्छ । यो हाम्रो विवेकको अभावमाथि एउटा प्रश्नचिह्न हो । यो खरानीको खण्डहरमाथि उठाइएको एउटा मौन आवाज हो, जसले हामीलाई भविष्यका बारेमा सोच्न बाध्य बनाउँछ ।

हामी सबैको हृदयमा अहिले अव्यक्त पीडा छ, आत्मामा घाउ छ तर यो पीडा र घाउले नै हामीलाई अगाडि बढ्ने प्रेरणा दिनेछ । हामीले हाम्रो विवेकलाई जगाउनुपर्छ र हाम्रो मानवतालाई पुनर्जीवित गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप