मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

आइतबार, ०५ असोज २०८२, १६ : ३७
आइतबार, ०५ असोज २०८२

सारांश

  • चितवन जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकतासहितका अत्यावश्यक सेवाहरू पुनः सुरु गरेको छ।
  • सेवाहरू गत भदौ २४ गते भएको आगजनीका कारण बन्द भएका थिए, जुन जेनजीको प्रदर्शनको परिणाम थियो।
  • कार्यालयले भवनको क्षतिको मूल्याङ्कन गर्न थालेको छ र रंगीन स्टिकरहरू प्रयोग गरेर मर्मतको आवश्यकतालाई संकेत गर्नेछ।

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आजदेखि सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाअनुसार आजदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गरे ।

उनले भने, ‘प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठयौ, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।’  जेनजी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको सरसफाइ गरेर सीमित कोठाबाट सेवा प्रवाह गरिएको उनले जानकारी दिए ।

योसँगै केही दिनभित्र राष्ट्रिय परिचयपत्रको कामसमेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । यसैबिच सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले आगलागीबाट जिल्लाका सरकारी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्नुका साथै भवनहरूको अवस्थाबारे अध्ययन सुरु गरेको छ ।

जिल्लामा रहेका सरकारी कार्यालय कतिमा काम गर्न सक्ने अवस्था छ वा छैन भन्ने बारेमा जानकारी लिँदै यसको लागत सङ्कलन तयार पारिने कार्यालयका प्रमुख झपटबहादुर कार्कीले बताए ।

कार्यालयले अध्ययनसँगै प्रत्येक कार्यालयमा तीनवटा स्टिकर टाँस गर्नेछ । रातो, पहेँलो र हरियो रङका स्टिकर टाँस गरिने उनले बताए । रातो रङको स्टिकर टाँस गरिएको भवनमा काम गर्न नसकिने, पहेँलो टाँस गरिएका ठाउँमा मर्मत गरेर काम गर्नुपर्ने र हरियो टाँस गरिएका ठाउँमा काम गर्न सकिने भन्ने हुन्छ ।

उनले भने, ‘प्रदर्शनका क्रममा क्षति भएका भवनहरूको वास्तविक विवरण सङ्कलन गरेर विभागमा पठाइने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप