आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा

मङ्गलबार, ०७ असोज २०८२, २१ : १९
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ । 

माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ ।

उपन्यासबारे लेखक समर्पण भन्छन्, ‘मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।’

उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ ।

स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु, लोप हुनु हो ।

सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ । 

महत्त्वाकांक्षी किताबहरूको सूचीमा प्रकाशन गरिएको यस उपन्यासमार्फत् नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ ।

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन् । उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ ९२०७६ र २०७७० पुरस्कृत समेत भएका थिए । उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकार समेत हुन् । 

३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रूपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप