बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एन्फाभित्रको विवाद र गतिरोध

महासचिव भन्छन्, ‘एन्फा अब सुध्रिने लाइनमा छ’

‘प्रदेश र स्थानीय तहहरूसँग सम्बन्ध सुधारेर फुटबललाई बढाउन खोज्दै छु’
बुधबार, ०८ असोज २०८२, १७ : ००
बुधबार, ०८ असोज २०८२

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा) विवाद र गतिरोधका कारण चर्चामा रहेको छ, तर फुटबल गतिविधि अपेक्षित रूपमा चलायमान हुन सकेको छैन।
  • एन्फा महासचिव किरण राईले 'बी' डिभिजन लिगमा राजनीतिक समस्या आएको र 'ए' डिभिजन लिगका लागि मैदान तयार भएको बताएका छन्, साथै खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेको दाबी गरे।
  • राईले एन्फामा चुनाव जितेदेखि असहयोग भएको र लिग नहुँदा क्लबलाई अप्ठ्यारो पार्न खोजेको आरोप गलत भएको दाबी गर्दै आगामी कार्यसमितिलाई फाइदा हुने गरी लिग सुरु गर्ने बताए।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) पछिल्लो समय विभिन्न विवाद र गतिरोधका कारण चर्चामा छ । फुटबलका गतिविधिहरू भइरहेका छन् तर अपेक्षित रूपमा चलायमान हुन सकेको छैन । एन्फाभित्र कार्यसमितिका सदस्यहरूले ‘फुटबल विकासमा ध्यान दिनुको सट्टा अन्य विषयमा चासो देखाउँदा’ विवाद बढेको छ । 

मैदानमा हुनुपर्ने जति फुटबल गतिविधि नभएको र प्रतियोगिताहरू पनि नियमित हुन सकेको अवस्था छैन । तर एन्फा महासचिव किरण राईले ‘बी’ डिभिजन लिगमा राजनीतिक कारणले केही समस्या आएको र त्यसलाई पनि बोल्ड निर्णय गरेर कार्यान्वयन गरेको बताएका छन् । अब ‘ए’ डिभिजन लिगको लागि मैदान तयार भएको र लिग हुने उनले विश्वास दिलाए ।

एन्फाले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा व्यस्त बनाएको दाबी पनि राईले गरे । दुई वर्षपछि रंगशालामा खेल्न पाएको र धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेलेको उनको भनाइ छ । ‘लिग नभएदेखि अहिलेसम्म दशौँ वटा मैत्रीपूर्ण खेलहरू भएका छन्, हामीले अफगानिस्तान जस्तो देशलाई जितेर आएका छौँ, सिंगापुर, हङकङ लगायतका देशसँग खेलेका छौँ,’ राईले भने । 

नेपाली खेलाडीहरू विदेशमा खेल्न जानुपरेको बाध्यतालाई भने उनले स्विकारे । लिग नहुँदा सीमित खेलाडीहरू मात्र विदेश गएका र धेरै खेलाडीलाई व्यस्त बनाउन नसकेको उनको भनाइ थियो । यस्तो हुनुको मुख्य कारण भने उनले एन्फामा चुनाव जितेर आएदेखि नपाइएको असहयोग भएको बताए । 

‘हामी चुनाव जितेर आएको पहिलो दिनदेखि नै असहयोग देखिरहेका छौँ । साधारणसभामा अविश्वासको प्रस्तावहरू देख्नुभयो । सुरुवाती एक वर्ष असहयोग भयो, फुटबल भन्ने कुरा अहिले गरेर अहिले भन्ने हुँदैन, ब्रेक भएपछि त्यसको असर दुई वर्षसम्म जान्छ,’ राईले भने । 

फुटबल विकासको कुरालाई चुनावसँग नजोड्न पनि उनले अनुरोध गरेका छन् । लिग नहुँदा क्लबलाई अप्ठ्यारो पार्न खोजेको भन्ने आरोप गलत भएको दाबी गर्दै उनले कतिपयले लिग सेन्ट्रल भेन्युमा गर्दा उपयुक्त हुने र कतिपयले अहिले लिग गर्नु नै ठुलो कुरा भएको सुझाव दिएका उनले बताए । 

होम एण्ड अवे लिगको अवधारणा ल्याउनुको कारणबारे राईले भने, ‘क्लबहरूलाई अलि स्पेस दिएर, अलिकति मार्केटिङमा, फ्यान फलोइङ बेसमा लाने हाम्रो कुरा हो ।’ जिल्ला फुटबल संघ र क्लबबिच समन्वय गराउन खोजेको र काठमाडौँको क्लब झापा जाँदा त्यहाँका मानिसहरूले कसरी अपनत्व महसुस गर्ने भन्ने विषयमा छलफल चलाउने सहासचिव राइको योजना छ । 

स्थानीय पालिकाहरू, प्रदेश सरकारहरूसँग सम्बन्ध सुधार गरेर फुटबललाई बढाउन आफूले खोजिरहेको उनी बताउँछन् । ए डिभिजन क्लबहरूसँग छलफल गरेर उनीहरूको समस्या समाधान गर्ने प्रयास गर्ने एन्फाले योजना बनाएको पनि उनले बताए, जसका लागि मैदानको लिजिङ, भेन्युको विषयमा छलफल भइरहेको र १४ वटा भेन्युमा जाने वा सात वटामा डबल होम गरेर गर्ने विभिन्न विकल्प रहेको उनको भनाइ थियो ।
क्लबहरू बाहिर जाँदा हुने आर्थिक भारलाई एन्फाले सब्सिडी (अनुदान) दिने वा टिकटिङमा सेयरिङ गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ थियो । 

चुनावको मुखमा लिग गर्न लागेको भन्ने आरोप खण्डन गर्दै राईले भने, ‘चुनाव हुने अनि हामी आउने/नआउने कुरासँग फुटबल डेभलपमेन्टको कुरालाई जोड्नु हुन्न ।’

लामो समयको ग्यापपछि लिग सुरु हुन लागेको र यसलाई राम्रो सुरुवात गर्न सके आउने कार्यसमितिलाई पनि फाइदा हुने राई दाबी गर्छन् । एन्फाको बजेटबारे पनि जानकारी दिँदै उनले भने, ‘हाम्रो वार्षिक अपरेसन कस्ट ६ लाख डलर वरिपरि हो । गतिविधिका आधारमा अरू चार–पाँच लाख डलर थप हुन्छ ।’ फिफा र एएफसीबाट इन्फ्रास्ट्रक्चर (पूर्वाधार)का लागि आउने पैसा पहिलेको कार्यसमितिले खर्च गर्न नसक्दा त्यही रकम जम्मा भएर आएको उनको भनाइ थियो । 

‘हामी जग्गा लिजमा लिएर त्यहाँ एउटा स्टेडियम निर्माण गर्ने योजनामा छौँ, त्यो पैसा खर्च गर्न कम्तीमा २५ वर्ष जग्गाको लिजिङ चाहिन्छ,’ राइले उल्लेख गरे । 

फुटबल विकास नभएको भन्ने प्रश्नमा राईले एन्फाको गतिविधि धेरै भए पनि प्रचारप्रसारमा ध्यान नपुगेको भने स्विकारे । ‘हाम्रो एउटा गल्ती के भयो भने, हामीले गतिविधिमै ध्यान दियौँ, त्यसलाई डिजिटलाइज गर्ने, प्रचारमा लाने काम गरेनौँ,’ उनले बताए । 

यू–१६ लिग, महिला क्वालिफाइङलगायत प्रतियोगिताहरू भइरहेका र नयाँ क्यालेन्डर पनि सार्वजनिक हुने बताएका राईले ए डिभिजन लिग छिट्टै सुरु हुने र यसका लागि आफूहरूले कसैलाई दोष नदिई काम गरिरहेको पनि प्रस्ट्याए । 

नेपाल सुपर लिग (एनएसएल)लाई आफूहरूकै प्रतियोगिता भनेर मान्नुपर्ने दाबी गरेका उनले ‘ए’ डिभिजन लिग नभएको समयमा खेलाडीहरूलाई व्यस्त राख्न एनएसएललाई स्वीकृति दिइएको पनि खुलाए । 

प्रतियोगिता भए पनि एन्फाले यसको क्रेडिट लिन सकेन भन्ने प्रश्नमा राईले प्रस्ट्याए, ‘एन्फाले अरूलाई एउटा गर्ने पाटो देखाइदिएको हो । फ्रेन्चाइजी लिग गर्नुस्, विदेशी खेलाडी आउँछन्, नेपाली खेलाडीहरूले सिक्न पाउँछन् भन्ने उद्देश्यले स्वीकृति दिएका हौँ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप