बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी, समाजवादी, नेकपा र नेसपाबिच एकता प्रक्रिया सुरु

बिहीबार, ०९ असोज २०८२, ११ : २४
बिहीबार, ०९ असोज २०८२

सारांश

  • माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपाबीच पार्टी एकता प्रक्रिया सुरु भएको छ।
  • एकीकृत समाजवादी र नेकपाले कम्युनिस्ट एकताका लागि औपचारिक निर्णय गरिसकेका छन्।
  • पार्टी एकता र बृहत् मोर्चा बनाउने प्रस्ताव माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेको छ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपाबिच पार्टी एकताको प्रक्रिया सुरु भएको छ ।

हालै बसेका ती दलका बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूबिच पार्टी एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै एकता प्रक्रियाको औपचारिक सुरुवात भएको हो ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट एकताका लागि औपचारिक निर्णय नै गरिसकेका छन् ।

भदौ ३ गते बसेको  एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न औपचारिक अपिल गरेको छ ।

‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ’, एकीकृत समाजवादीले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ ।’

त्यस्तै एकीकृत समाजवादीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णय समेत गरेको छ ।

यस्तै नेकपाले पनि कम्युनिस्ट एकता गर्ने पार्टी बैठकबाटै निर्णय गरिसकेको छ । भदौ २३ देखि २६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले एकताका लागि वार्ता टोली नै गठन गरेर एकता प्रक्रियाको सुरुवात गरेको हो ।

नेकपाले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।

वार्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । पार्टीको निर्णयबारे बुढाथोकीले भने, ‘माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य वार्ता टोली बनाइएको छ ।’

यसअघि साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि केन्द्रीय कमिटी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गर्ने तयारी गरेका छन् ।

बिहीबार (भदौ ९ गते) बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमा पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव अघि बढाउन लागेका हुन् ।

यसअघि लामो समयदेखि पार्टी एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत हुँदै आएको छ । समाजवादी मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेसपा रहेका छन् ।

सम्भव भएसम्म मोर्चामा रहेका चारवटै पार्टीबिच एकता गर्ने तयारी भएको ती दलका नेताहरूको भनाइ छ ।

‘कम्युनिस्ट पार्टी एकताका लागि तीनवटै पार्टीले औपचारिक फोरमबाट निर्णय गरेको अवस्था छ । यसले पार्टी कम्युनिस्ट पार्टी एकताका लागि ढोका खुल्दै गएको र सुरुवात भएको भनेर बुझ्दा हुन्छ’, एकीकृत समाजवादीका नेता बेदुराम भुसालले भने, ‘प्रक्रियागत रूपमा सुरु भयो अव थप गृहकार्य गर्दै अघि बढ्नु पर्छ ।’

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि पहल भइरहेको बताए ।

‘सकेसम्म समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्नेगरी पहल भइरहेको छ’, सापकोटाले भने, ‘विचार मिल्ने देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा वा पार्टी एकताको पहल हुनु स्वाभाविक हो ।’

मोर्चामा रहेको अर्को दल नेसपा अध्यक्ष यादवले पनि समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा छलफल भइरहेको बताएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूलाई रूपान्तरण र एकताका लागि थप दबाब परेको छ । यो दवाबसँगै उनीहरुले एकताको गृहकार्यका लागि तीव्रता समेत दिएका छन् ।

आन्दोलनका कारण दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको शक्तिशाली भनिएको सरकार सत्ताच्युत हुन पुगेको छ भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप