मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राज्य सत्ताको कब्जाबाहेक केही नसोच्ने प्रवृत्तिकाे उपज जेनजी आन्दाेलन’

राष्ट्रिय अनुसन्धान विभाग मन्त्रालय फर्काउनु गलत
शुक्रबार, १० असोज २०८२, १५ : ३९
शुक्रबार, १० असोज २०८२

सारांश

  • पूर्व राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माले भदौ २३ र २४ गतेको घटना विष्फोटका रूपमा देखिएको बताए ।
  • शर्माले निर्वाचनका लागि नेपाल प्रहरीको मनोबल उच्च बनाउनुपर्ने र जेनजीको आन्दोलनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
  • पूर्वराजदूत दीपकुमार उपाध्यायले मुलुक असफल राष्ट्र बन्न लागेको र नेताहरूमा आत्मबोधको कमी रहेको बताए ।

काठमाडौँ । पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माले पार्टी र राज्य सत्ताको कब्जाबाहेक केही नसोच्ने प्रवृत्तिका कारण भदौ २३ र २४ गतेको घटना विष्फोटका रूपमा देखिएको बताएका छन् । शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले यस्तो  बताएका हुन् ।

उनले वर्तमान सुशीला कार्की प्रधानमन्त्री भए लगत्तै पूर्ववर्ती सरकारको निर्णय विपरीत राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत फर्काएर गलत गरेको समेत बताए । 

शर्माले अहिलेको अवस्थामा नेपाल प्रहरीको मनोबल उच्च बनाउन सकेमात्र निर्वाचन सम्भव रहेको बताए । 

जेलबाट लगिएका हतियार र निस्केका अपराधीहरू बाहिर भएका बेला निर्वाचन सम्पन्न गर्न निकै चुनौतीपूर्ण रहेको भन्दै शर्माले जेनजीको आन्दोलनलाई पानीको फोकामात्र नठान्न पनि आग्रह गरे । उनले चुनाव नै प्रजातान्त्रिक निकास भएकाले सबै मिलेर निष्पक्ष र शान्तिपूर्ण चुनाव गर्नुपर्नेमा पनि जोड दिए ।

त्यस्तै पूर्वराजदुत दीपकुमार उपाध्यायले नेताहरूमा आत्म बोध नदेखिँदा मुलुक असफल राष्ट्र बन्न लागेको बताए ।

‘देश करिब करिब असफल राष्ट्र भैसकेको छ । यसमा सबैले नैतिक जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘प्रजातान्त्रिक एकता वा वाम एकताबाट केही हुनेवाला छैन ।’ 

उनले जेनजी आन्दोलन र त्यसपछिको मुभमेन्टलाई सङ्केत गर्दै मुलुक जटिलतातर्फ गइरहेकाले सबैले सोच्न जरुरी रहेको बताए । उनले नेताहरू स्वेच्छाले नसुध्रिने भन्दै सबै पार्टीका असल मानिस एक ठाउँमा आउनुपर्ने बताए ।

‘अब फेरि कुनै अवस्थामा विगतको अवस्था पुनरावृत्ति भयो भने त्यो भयावह हुन्छ । त्यसैले सबै असल मानिस एक ठाउँमा आएर निकास खोज्नुपर्छ’, उपाध्यायको भनाइ छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन मात्र अबको उपाय भएको बताए ।‘जसरी पनि निर्वाचन जित्ने व्यवस्था गलत छ’, उनले भने, ‘बहुमतीय प्रणाली त्यागेर पूर्ण समानुपातिक प्रणालीमा जानुपर्छ ।’

कार्यक्रममा प्राध्यापक खड्ग केसी, हिरण्यलाल श्रेष्ठलगायतले भदौ २३ र २४ को देशभरीको घटना, अब गर्नुपर्ने काम लगायतका विषयमा धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप