‘हाम्रो साहित्य समाजतिरै फर्केको छ तर वास्तविक समाज देखाउन चुकेका छौँ’
सारांश
- लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ माथिल्लो मुस्ताङको जनजीवन र सम्बन्धको कथा समेटिएको छ।
- लेखनमा आत्मसन्तुष्टि र अभिव्यक्तिका लागि लेख्ने समर्पण, पछिल्लो समयका साहित्यिक बजार र चुनौतीबारे चर्चा गर्छन्।
- ‘तोरकीन’ मा जलवायु परिवर्तन र मानिसहरूको सम्बन्धलाई जोड्दै, हराउँदै गएका परम्परा र संस्कृतिको कथा प्रस्तुत गरिएको छ।
जाजरकोटका क्षितिज समर्पण (रामकुमार शाही) को एकल गजलसङ्ग्रह ‘आगोका फूलहरू’ (२०६७) र संयुक्त गजलसङ्ग्रह ‘कैफियत’ (२०७०) प्रकाशित छ ।
बाह्रखरी कथा लेखन प्रतियोगिता २०७६ र २०७७ मा पनि यिनको कथा छनोट भएको थियो । भर्खरै आफ्नो पहिलो उपन्यास ‘तोरकिन’ लिएर पाठकसामु आएका क्षितिज समर्पणलाई हामीले यसपटक रातोपाटीको ‘नौ प्रश्न' शृङ्खलामा निम्त्याएका छौँ ।
- तपाईं वास्तवमा किन लेख्नुहुन्छ ? लेख्नका लागि कुन कुराले यहाँलाई बढी प्रेरित गर्छ ?
निश्चित उद्देश्यका लागि लेख्छु, यही प्राप्तिका लागि नै लेख्छु भन्ने छैन मेरो । बच्चा बेलामा रेडियो धेरै सुनियो । रेडियोमा पनि साहित्यिक कार्यक्रम नै धेरै सुन्थेँ । यी कार्यक्रम सुनिरहँदा त्यसको प्रभाव मभित्र कहीँ न कहीँ परिरह्यो, ‘ओहो ! लेख्न पाए पनि हुने नि’ भन्ने इच्छा जाग्यो । साहित्यिक पत्रपत्रिका पढ्दै जाँदा लेखनमा रुचि बस्यो र लेख्न थालेँ । यतिखेर मैले लेख्ने भनेको आफ्नो आत्मसन्तुष्टि र अभिव्यक्तिका लागि हो । मनमा लागिरहेका कुरा कहाँ भन्ने, कसलाई भन्ने ? फेरि सबै कुरा सबैसँग भन्न सकिन्न । आफूलाई भन्न मनलाग्दा अगाडि मान्छे पनि सधैँ पाइँदैन, त्यस्तो बेलामा चाहिँ लेख्छु म । कथा लेख्नुपर्यो भने खेस्रामा लेखेर राख्छु । यो सिचुएसनमा लेख्छु भनेर फ्रेम बनाएर राख्छु अनि उपयुक्त समयमा अगाडि बढाउँछु । कविता स्पोन्टेनियस्ली आउँछ, उतिखेरै कम्प्लिट गर्छु ।
मन–मस्तिष्कमा ठोक्किएपछि, पोखिएपछि नै हामीले कुनै कुराबारे सोच्छौँ, घोत्लिरहन्छौँ । मलाई सामान्यतया भइपरी आउने अवस्थाले लेख्न प्रेरित गर्छ । घटनाक्रमले बिझाउँछ अथवा खुसी दिन्छ भने म लेख्छु । कहिलेकाहीँ मलाई कल्पनामा रमाउन मन लाग्छ । अनि छुट्टै जोन क्रियट गरेर यो चाहिँ कस्तो हुन्थ्यो होला भन्ने कल्पना गरेर लेख्छु । यसरी कल्पना गरेर लेखेका मेरा केही कथा पनि छन् । कतिपय अवस्थामा कुनै वास्तविक घटनाले झकझकाइरहँदा कथानक बनाउन पाए हुन्थ्यो भन्ने लागेर पनि लेख्छु ।
- पछिल्लोपटक कुन कृति पढ्नुभयो ? यो कृति कस्तो थियो ?
पछिल्लोपटक मैले पढेको कृति डाक्टर नवराज केसीको ‘स्वस्पर्श’ हो । एउटा चिकित्सकले लेखेको सिर्जनात्मक गैरआख्यान पुस्तक कस्तो होला भन्ने जान्न म उत्सुक थिएँ । यो कृति पढ्दाखेरि मलाई निकै रमाइलो लाग्यो । विनाअवरोध यसलाई छिचोलेँ । अरुलाई कस्तो लाग्छ कुन्नि ? पठन रुचि आ–आफ्नै हुन्छन् ।
यसमा सामान्य मान्छेका कथा छन् । ती सामान्य मान्छेसँग दुःख छ, अभाव छ तर ती मान्छे एकदम खुसी छन् । अभावमा मान्छे खुसी हुँदैन भन्ने एउटा भाष्य छ तर केसीको कृतिमा अभावमा बाँचिरहेका मान्छेसँग खुसी छ, हिम्मत छ । सानो सानो कुरामा उनीहरू खुसी भइरहेका हुन्छन् । कृतिभित्र केही पात्र छन् । तीमध्ये मलाई मनपरेको पात्र चाहिँ मन्दिरेदाइ भन्ने हो ।
माथिल्लो मुस्ताङमा बोलिने ल्होवा भाषामा तोरकीनको अर्थ हराउनु, हराएर जानु भन्ने हुन्छ । हिमालबाट हिउँ हराइराखेको छ, माथिल्लो मुस्ताङको परम्परा हराइरहेको छ, हिमाली संस्कृति हराइरहेको छ र कथामा हराउने सम्बन्धको कुरा पनि छ भनेपछि कृतिलाई अलि बढी न्याय गर्छ कि भन्ने सोचेर तोरकीन नाम राख्यौँ ।
भारतमा मजदुरी गर्न गएको समयमा ट्रकमा बसेर यात्रा गरिरहँदा मन्दिरेदाइको टाउकोमा बिजुलीको तारले छोइन्छ । उनले आफ्नै हातले समाएर त्यो तार फाल्छन् । त्यसपछि उनी बेहोस् हुन्छन् । एकैचोटि हस्पिटलको बेडमा उनको होस खुल्छ । होस आउँदा उनको एउटा हात नै हुँदैन तर यस्तो अवस्थामा पनि उनी निकै मिजासिलो तरिकाले अस्पतालका नर्सहरूसँग प्रस्तुत भइरहेका हुन्छन् । नर्सहरूले उनलाई हात काटेको छ, करेन्ट लागेको छ र पनि तिमी किन हाँसीराखेका छौ, कसरी खुसी भइरहेका छौ भनेर सोध्छन् । यसमा उनले मिठो जवाफ दिन्छन्, ‘यही त हो हाँस्ने कुरा । करेन्ट लागेको थियो टाउकोमा, काटिएको छ हात । टाउको त काटेको छैन नि ।’ यसो भनिरहँदा उनको आँखाभरि जीवनको आशा हुुन्छ । यस कृतिमा यस्तै खाले आशाका थुप्रै कथा छन्, कथाका पात्र निकै सामान्य छन् तर जीवनमा जुनसुकै दुःख आइपर्दा पनि उनीहरू निराश छैनन्, हिम्मत हारेका छैनन्, यसले मलाई एउटा खालको सकारात्मक ऊर्जा दिएको छ ।
- पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाइरहनुभएको छ ? हामी कुन दिशातिर गइरहेका छौँ जस्तो लाग्छ तपाईंलाई ?
मेरो दृष्टिकोणले ठ्याक्कै आम साहित्य बजारलाई प्रतिनिधित्व नगर्न सक्छ । पछिल्लो समय वर्षभरि दुई हजार हाराहारीका किताब बजारमा आइराखेको छ । सबै किताब त पढ्न सकिँदैन पनि । पछिल्लो समय धेरैजसो उपन्यास युद्ध/आन्दोलनसँग अथवा देशको राजनीतिक व्यवस्थासँग जोडिएका छन्— महिलाको दृष्टिकोणबाट हुन सक्ला, अल्पसङ्ख्यक समुदायको दृष्टिकोणबाट हुन सक्ला, चाहे मधेसको हुन सक्ला । पिँधमा रहेका मानिसका कथा भने कम आएका छन् । थोरै साहित्यकारहरूले अहिलेसम्म नभनिएका मौलिक कथा पनि लेखिराख्नुभएको छ ।

हामीले कम्तीमा अङ्ग्रेजी भाषामा ती कृतिलाई अनुवाद गरेर सबैसम्म पुर्याउन सक्यौँ भने नेपालका यस्ता कथा पनि रहेछन् भनेर मान्छेले भन्थे होला, तर त्यसो हुन सकेको छैन । सीमित मान्छेका कथाहरू मात्रै अङ्ग्रेजीमा अनुवाद भएका छन् । नेपालका सबै मौलिक कथा अनुवाद हुन पाएका भए विश्व साहित्यमा यसले कतै न कतै स्थान पाउँथ्यो होला भन्ने लाग्छ । कम्तीमा भोलि पछिल्लो पुस्ताले हाम्रा मौलिक कथा पढ्न पाउने थिए ।
हामी कता गइरहेका छौँ भन्ने प्रश्नको उत्तरमा हामी समाजतिरै फर्किराखेका छौँ भन्छु म । साहित्य समाजको ऐना हो भन्छन् तर कतिपय अवस्थामा हामी वास्तविक समाजलाई देखाउन चुकेका छौँ । समाजलाई देखाउने नाममा कतै लेखकको कल्पनाशीलता अलि बढी हाबी हुने अथवा लेखकको दृष्टिकोण बढी हाबी हुने स्थिति पनि छ । साहित्य समाजको ऐना हो, म समाज देखाउँछु भनेर लेखकले भनिराख्दा समाजभन्दा फरक कुरा अथवा आफ्नो फिलोसफी हाबी भएर आएको जस्तो पनि देखिएको छ । यसो गर्दा समाजलाई न्याय नभएको हो कि भन्ने पनि लाग्छ मलाई, तर साहित्य भएकाले सबै एउटै किसिमको हुनुपर्छ भन्ने भएन । मैले माथि पनि भनेँ पठनका रुचि सबैका आ–आफ्नै हुन्छन् ।
- हरेक विधाका आ–आफ्ना चुनौती छन् । उपन्यास लेख्दाखेरि तपाईंले सामना गर्नुभएको सबैभन्दा ठुलो चुनौती के हो ?
उपन्यास कथाको बृहत् क्षेत्र हो । कथामा मात्रै लेख्यौँ भने एउटा सीमितताभित्र लेखिन्छ । उपन्यास चाहिँ अलि गहिराइसम्म पुगेर, हरेक साना–मसिना कुरालाई पनि समेटेर लेखिन्छ । पाठकले पढ्दाखेरि साना–साना कुरा आफूसँग रिलेट गर्न सक्छन् । चाहे त्यो प्रेमको कुरा होस्, चाहे कुनै एउटा भूगोलको कुरा होस्— पढ्दै गर्दा पाठकको मस्तिष्कमा एउटा चित्र बन्छ । ‘तीनवटा सिँढी उक्लिएपछि म दायाँ लागेँ । दायाँ लाग्दाखेरि बाटोमा एउटा फूल फुलिरहेको रहेछ र उत्तरतिर फर्केर हेर्दा डाँडाबाट पानी सरर खसिरहेको थियो’ यो दृश्य पढिरहँदा पाठकको मस्तिष्कमा ठ्याक्क यसरी तीनवटा सिँढी उक्लेर म यहाँनिर गएँ, यहाँनिर फूल यस्तो थियो होला है, पानी यसरी बगिरहेको थियो भन्ने परिकल्पना आउँछ ।
उपन्यास बजार पहिला गुणस्तरका हिसाबाले बिचमा अलिकति खस्केको हो कि जस्तो लागेको थियो । आफूलाई उपन्यासकारका रूपमा चिनाउने मान्छेको रहरले पनि होला, म पनि लेखक हुँ भनाउने रहरले पनि होला— संख्यात्मक रूपमा बजार उपन्यास आइरहे तर गुणस्तरमा प्रश्न उठाउने ठाउँ थिए ।
हरेक लेखकले फरक–फरक खालका चुनौतीहरू भोग्छन् । आफूले लेख्न खोजेको विषय अनुसारको चुनौती हो भोग्ने पनि । कथालाई न्याय दिनुपर्यो, पात्रहरूलाई न्याय दिनुपर्यो, त्यहाँ उठाइएका विषयलाई न्याय दिनुपर्यो । यी सबै कुरामा चुनौती हुन्छन् । यसका निम्ति गहिरो अध्ययन चाहियो । कुनै निश्चित भूगोल समुदायको कथा लेख्दाखेरि त्यहाँको समाजलाई बुझ्नुपर्यो । त्यहाँको रहनसहन, परम्परा, संस्कृति बुझ्नुपर्यो । मेरो हकमा ‘तोरकीन’ लेख्दै गर्दाको पहिलो चुनौती भनेको भाषाको थियो । युवा पुस्तालाई पुराना कुराहरूबारे अलिक कम जानकारी थियो । स्थानीय बुढापाका मान्छेहरूसँग कुरा गर्न भाषा मेरा लागि तगारो बन्यो । सुरुसुरुमा बाहिरी मान्छेसँग उहाँहरूले खुलेर कुरा गर्न चाहनुभएन । मेरो भाषा नबुझेर पनि होला । बिस्तारै भने उहाँहरू मसँग खुल्न थाल्नुभयो । मैले त्यहीँको नेपाली अलिक राम्रोसँग बुझेको मान्छेलाई दोभासेका रूपमा प्रयोग गरेँ । त्यहाँ विभिन्न अवसरमा गाइने गीत पूरै भन्दिनुस् न भनेर मैले भन्दा उहाँहरूले भन्न मान्नुभएन । ‘यो त एकदम महँगो गीत हो । पूरा गीत कहाँ सबैलाई भन्न मिल्छ ?’ भने । यो हाम्रो सम्पदा हो, यो बहुमूल्य कुरा हो, अरुलाई किन भन्ने भन्ने धारणा व्याप्त रहेछ । भोलिको पुस्तालाई यी कुरा हस्तान्तरण गरे पो सजिलो हुन्छ समेत भनेँ, अहं मैले मनाउन सकिनँ । अनि मलाई के लेख्ने ? कस्तो लेख्ने ?
तोरकीनको कथा खासगरी माथिल्लो मुस्ताङको चराङ गाउँको कथा हो । भौगोलिक रूपमा मलाई अलि समस्या भयो । त्यहाँ गएर बस्न पनि चुनौती भयो, आर्थिक र भौगोलिक दुवै हिसाबले । त्यहाँसम्म पुग्नु र फर्किनु आर्थिक हिसाबले पनि महँगो थियो, अनि त्यो उचाइमा बस्दाखेरि स्वास्थ्यमा पनि समस्या आइरह्यो, तर त्यहाँ भएको मेरा साथी विशाल भण्डारीले धेरै सहजीकरण गर्नुभयो । म एकैपटक लामो समय बस्न नसके पनि पटकपटक गरेर दुई महिना बसेँ ।
- समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ?
उपन्यास बजार पहिला गुणस्तरका हिसाबाले बिचमा अलिकति खस्केको हो कि जस्तो लागेको थियो । आफूलाई उपन्यासकारका रूपमा चिनाउने मान्छेको रहरले पनि होला, म पनि लेखक हुँ भनाउने रहरले पनि होला— संख्यात्मक रूपमा बजार उपन्यास आइरहे तर गुणस्तरमा प्रश्न उठाउने ठाउँ थिए । प्रश्नहरू हुन्, जहिले पनि उठ्छन् । बिचमा उपन्यास पढ्ने मान्छेको संख्या कम हुन थाल्यो भन्नेजस्तो पनि सुन्नमा आएको थियो ।
उपन्यास बजारलाई लयमा ल्याउन केही अग्रजले सुन्दर सिर्जना दिनुभयो, जसले पाठकलाई फेरि पठनमा फर्कायो । पछिल्लो समय सबैभन्दा बढी उपन्यास नै पढिएको छ सायद । सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यममा आइरहेका रिभ्युहरू हेर्दा र बजारमा वर्षभरि आइरहेका किताब हेर्दा उपन्यासकै संख्या बढी देखिन्छ । कथा, कविताचाहिँ अलिक कम नै आइराखेको छ । यसलाई हेर्दा राम्रो लेख्न सक्ने हो भने उपन्यासको बजार उन्नत छ भन्ने लाग्छ मलाई ।
- लेखेर अहिलेसम्म कति गुमाउनुभयो या कमाउनुभयो ?
मैले गुमाउनुभन्दा धेरै कमाएँ । कमाएँ भनेको पैसा होइन, पैसाको हिसाबले त मेरो पहिलो गजल सङ्ग्रह निकाल्दाखेरि आफैँले लगानी गरेको हो । आफैँले खर्च गरेर निकाले पनि त्यसले मलाई राम्रो गर्यो, धेरैसम्म पुर्यायो । लगानी पनि उठ्यो होला सायद । मुख्य कुरा मैले निरन्तर लेखिरहेँ । आफ्नो लेखनलाई परिष्कृत बनाउने कोसिस गरेँ । फलस्वरूप अहिले बुकहिलजस्ता प्रतिष्ठित र व्यावसायिक प्रकाशकले लगानी गर्ने अवस्थामा पुगेको छु । यो पनि कमाइको हो नि, हैन र ? कम्तीमा मेरो किताब छापिदिन्छु भन्ने विश्वास त कमाएँ । एउटा प्रकाशकले ममाथि लगानी गर्न तयार हुनुभयो । मेरो लेखनमाथि लगानी गर्न तयार हुनुभयो भनेपछि मैले केही न केही कमाएको रहेछु । भर्खरै बजारमा आएको मेरो नयाँ उपन्यास ‘तोरकीन’ लेख्नकै लागि माथिल्लो मुस्ताङ जाँदा–आउँदा मेरो प्राविधिक पक्षमा लागेको खर्चबाहेक अरु जम्मै खर्च त प्रकाशकले गर्नुभएको छ । मैले नै व्यक्तिगत हिसाबले छाप्नुपरेको भए कति खर्च लाग्थ्यो होला ।
मेरो अर्को कमाइ साथी–सर्कल हो । उहाँहरूले लेखनमा मलाई सधैँ सकारात्मक ऊर्जा दिइरहनुभएको छ । मैले उपन्यास लेख्न थालेको कुरा सुनाएदेखि नै साथीहरू निकै उत्साहित भए । कतिपयले ‘किताब कहिले आउँछ, किताब कहाँ पुग्यो’ भनेर निरन्तर सोधिरहनुभयो । त्यो पनि मेरो एउटा कमाइ नै हो । मेरो बारेमा सोधिदिने, मेरो सफलाताका लागि कामना गरिदिने कोही त छ भन्ने लाग्छ ।
- आम पाठकलाई सिफारिस गर्नका लागि तपाईंको कृति ‘तोरकीन’ मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ ?
यो उपन्यासको केन्द्रीय भूमि माथिल्लो मुस्ताङको चराङ गाउँ हो । माथिल्लो मुस्ताङ आफैँमा एउटा सुन्दर ठाउँ र धेरै हिसाबले चर्चा भइराख्ने ठाउँ पनि हो । धेरैजसो मानिसले माथिल्लो मुस्ताङ भन्छन्, सररर गाडी वा बाइकमा कोराला नाकासम्म पुग्छन् । कोराला नाकामा पुगेर राष्ट्रिय झन्डा देखाएर फोटो खिच्छन् । फर्केर एकछिन लोमन्थाङमा अडिन्छन् र जोमसोम आएर बस्छन्, मुक्तिनाथ जान्छन् । धेरैले त्यहाँको प्राचीन दरबार र गुम्बाहरूको सामाजिक–सांस्कृतिक इतिहास खोज्दैनन्, चासो राख्दैनन् । यी क्षेत्र त्यति धेरै एक्सप्लोर भएको पनि छैनन् । माथिल्लो मुस्ताङको जनजीवन, त्यहाँको रहनसहन र त्यहाँको सामाजिक सांस्कृतिक इतिहास बुझ्नका लागि पनि यो किताब पढ्नुपर्छ ।
मलाई झकझाएका कृति त धेरै छन् । एउटाको नाम लिनुपर्दा मैले बुद्धिसागरको ‘कर्णाली ब्लुज’ भन्छु ।
माथिल्लो मुस्ताङको एउटा युवाको जीवनमा आउने आरोह–अवरोहको कथा आएको छ यस उपन्यासमा, सम्बन्धको कथा छ । यसै पनि कम जनसंख्या भएको ठाउँ हो माथिल्लो मुस्ताङ । अहिले गाउँहरू एकदमै रित्तिराखेका छन् । त्यहाँ मान्छेहरू कम हुँदै गएका छन् । उपन्यास लेख्ने भनेर चराङ गाउँमा गएयता नै त्यहाँका ७१ जना युवायुवती अमेरिका पुगिसकेका थिए । जलवायु परिवर्तनले जसरी अहिले हिमालमा हिउँहरू पग्लिँदै गएर कालापत्थर बनिरहेका छन् । मान्छेहरू गाउँ छाड्दै जान थाले भने, सम्बन्धहरू हिउँजस्तै पग्लिँदै चिसिँदै जान थाले भने, त्यति पुरानो इतिहास बोकेको ठाउँको परम्परा तथा संस्कृति मासियो भने के हुन्छ भन्ने कल्पना र चिन्ता पनि यस उपन्यासमा आएको छ । गाउँको छेउमा मुस्ताङका पहिलो राजा आमेपालले बनाउन लगाएको दरबार भग्नावशेष बनिरहेको छ । त्यसको संरक्षण हुन सकेको छैन । त्यससँग जोडिएका अनेक इतिहास छन्, जसलाई मैले उपन्यासमै लेखेको छुु ।
किताबले जलवायु परिवर्तनले निम्त्याउन सक्ने मानवीय सङ्कटलाई सचेत गराउँछ जस्तो पनि लाग्छ मलाई । समग्रमा ‘तोरकीन’ सम्बन्धहरूको कथा हो । त्यो सम्बन्धलाई मैले हिमाल र मान्छेसँग जोड्ने कोसिस गरेको छु । जसरी हिमालमा हिउँ रित्तिराखेको छ, हिउँ पग्लिदै गएको छ, हामीभित्रको मानवीय सम्बन्धहरू पनि त्यसरी नै रित्तिँदै र पग्लिँदै गएका छन् र रित्तिए भने भोलि के होला भन्ने परिकल्पनाका कुरा पनि उपन्यासमा आएका छन् ।
- तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्यो भने कुनलाई सम्झिनुहुन्छ, किन ?
मलाई झकझाएका कृति त धेरै छन् । एउटाको नाम लिनुपर्दा मैले बुद्धिसागरको ‘कर्णाली ब्लुज’ भन्छु । म किताबहरू दोहोर्याएर पढ्दिनँ तर यो किताब मैले बारम्बार पढेको छु । यो कृतिले मलाई यसरी किन झकझकायो होला भनेर भन्नुपर्दा यसमा बुवा र छोराको सम्बन्धको कुरा गरिएको छ । अनि यसलाई मैले म र मेरो बुवासँग रिलेट गरेँ । हामी बच्चा हुँदा बुवा काम गर्न भारत जानुहुन्थ्यो । ६ महिना काम गरेर आउनुहुन्थ्यो अनि केही समय बसेर फेरि जानुहुन्थ्यो । बुवासँगको जे सान्निध्य हुनुपर्थ्यो, उहाँको जुन छत्रछायामा हुर्किनुपर्थ्यो, त्यसको अभाव रह्यो । अहिले पनि बुवा गाउँमा हुनुहुन्छ, म यहाँ सहरमा छु । बुवासँग म जसरी बस्नुपर्थ्यो, त्यसो गर्न अहिले पनि उति नै असम्भव छ ।
हामीले आमासँगको सम्बन्धका कथा–कविता निकै पढेका छौँ तर बुवासँग सम्बन्ध वा बुवाका बारेमा कथा–कविता एकदम कम आएका छन् । कर्णाली ब्लुजमा बुद्धिसागरले पलहरूलाई यति मसिनोसँग केलाएका छन् कि त्यसले मलाई निकै छोयो । साइकलको पछाडि बसेर गएको कुरा, बुवाले कटाँसे बजारबाट फर्केर आउँदाखेरि मिठाई ल्याइदिएको कुरा । मैले अघि पनि भनेको थिएँ नि, उपन्यास भनेको कथाको विस्तृतीकरण हो भनेर । ठ्याक्कै त्यही कुरा पाउँछु म यो कृतिमा । त्यो कुराले मलाई एकदमै रिलेट गर्यो ।
म जाजरकोटमा जन्मे–हुर्केको मान्छे, मैले द्वन्द्व पनि भोगेँ । यसमा द्वन्द्वका कुरा छन्, यसमा अभावका कुरा छन्, कालिकोटबाट बुवालाई उपचारका लागि नेपालगन्ज ल्याउनुपर्दा भोगेका पीडा, हेलिकोप्टरमा ठाउँ नपाइएको कुरा, कति पीडादायक अवस्था छन्— यी सबै कुराले मलाई एकदमै झट्का दिए । हुन त म आफू भावुक छु जस्तो लाग्छ । म त फिल्म हेरेर पनि रुने मान्छे हो, किताब पढेर पनि रुन्छु । म कर्णाली ब्लुज पढेर पनि रोएको छु ।
तपाईंको कृतिको नाम ‘तोरकीन’ कसरी राख्नुभयो ?
उपन्यास लेखिरहँदा मैले यही नाम राख्छु भन्ने सोचेको थिइनँ । शीर्षकका लागि तोरकीनबाहेक अरु चार–पाँचवटा शब्द छानेको थिएँ । एउटा शब्द थियो, ‘मादाङ’ । यसको अर्थ शिलालेख भन्ने हुन्छ । अर्को शब्द ‘खाजु’ थियो, हिउँको पानीलाई खाजु भनिदो रहेछ । यीमध्ये मलाई मादाङ उपर्युक्त लागेको थियो तर धेरै सोच–विचार गरेपछि ‘तोरकीन’ राखियो । माथिल्लो मुस्ताङमा बोलिने ल्होवा भाषामा तोरकीनको अर्थ हराउनु, हराएर जानु भन्ने हुन्छ । हिमालबाट हिउँ हराइराखेको छ, माथिल्लो मुस्ताङको परम्परा हराइरहेको छ, हिमाली संस्कृति हराइरहेको छ र कथामा हराउने सम्बन्धको कुरा पनि छ भनेपछि कृतिलाई अलि बढी न्याय गर्छ कि भन्ने सोचेर तोरकीन नाम राख्यौँ । यसमा आदरणीय साहित्यकार रमेश क्षिजितले पनि सहजीकरण गर्नुभयो ।
जलवायु परिवर्तनको असर बढ्दै गयो अनि मानिसहरूले गाउँ छाडेर गइरहे भने चराङ गाउँ कस्तो होला भन्ने परिकल्पना छ तोरकीनमा । त्यहाँका सम्भावनाका कुरा पनि छन् । गाउँ रित्तिने स्थिति नआओस् भनेर सचेत गराउनका लागि मैले यो कृति लेखेको हो । तोरकीन संयोगले जन्मेको किताब हो । आममान्छेजस्तै मलाई पनि माथिल्लो मुस्ताङ घुम्न जान मन थियो तर जुरेको थिएन । एक दिन साथी सागर अधिकारीले अचानक फोन गरेर फुर्सद छ भनेर सोधे । मैले पनि फुर्सदमै छु भनेँ । उनले केहीबेरलाई होइन दुई चार दिनका लागि फुर्सद छ भने माथिल्लो मुस्ताङ जाउँ भनेर प्रस्ताव गरे । साथीको फोन दिउँसो १२ बजेतिर आएको थियो । मैले भरेसम्मको समय मागेँ । पुराना जुत्ताहरू खोतलखातल गरेँ, झोला साथीसँगै मागेँ । लुगा धोएर हाल्ने फुर्सद कहाँ हुनु ? जेजस्तो अवस्थामा थिएँ, त्यस्तै पोको पारँे र हिँडेँ । कार्यक्षेत्र माथिल्लो मुस्ताङ भएका साथी विशाल भण्डारीले दुईजना साथीहरूको मित्रताको कहानी सुनाए । त्यसले मलाई क्लिक गर्यो ।
यो २०८० चैतको कुरा हो । ०८१ को वैशाखमा म फेरि माथिल्लो मुस्ताङ गएँ । संयोगले जुराएको एउटा यात्राले यो उपन्यास जन्मायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण