सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
किताबका कुरा

‘मेरै कार्यकक्षमा राखिएको पुस्तक सुटुक्क कतिबेला कसले कहाँ लग्यो पत्तै भएन’

शनिबार, ११ असोज २०८२, १४ : ३०
शनिबार, ११ असोज २०८२

सारांश

  • डा. अम्बिका अर्यालको हालसम्म १५ कृति प्रकाशित छन्, जसमा नारीवादी र पर्यावरणीय सिद्धान्तमा आधारित समालोचनाहरू छन्।
  • अर्यालले किताबलाई ज्ञानको भण्डार र असल मित्र मान्छिन्, र उनलाई आख्यान विधा मन पर्छ।
  • उनले नेपाली र विदेशी लेखकका विभिन्न कृतिहरू सम्झिइन्, र पठन संस्कृतिको विकासका लागि सुझाव दिइन्।

कविता, उपन्यास, समालोचना, मुक्तक, विद्यालय तहदेखि स्नातक तहसम्मका पाठ्यपुस्तक गरी डा. अम्बिका अर्यालका हालसम्म १५ कृति प्रकाशित  छन्— ‘नारीवादी सिद्धान्त र औपन्यासिक विश्लेषण’ (समालोचना, २०६९), ‘विश्व नारी साहित्य सम्मेलनका कृति’ (समालोचना, २०७२), ‘अनेक विधा अनेक दृष्टि’ (समालोचना, २०७५), ‘नारीवाद र नारी स्रष्टाका उपन्यास’ (समालोचना, २०७९), ‘नेपाली उपन्यासमा अभिघात’ (२०८१, समालोचना), ‘पर्यावरणीय सिद्धान्त र नेपाली साहित्य’ (२०८२, समालोचना),  ‘अविश्रान्त’ (उपन्यास, २०७५) र ‘भावदीप’ (मुक्तकसङ्ग्रह, २०८१), ‘बेचैन अभिलाषा’ (२०८२, कवितासङ्ग्रह), ‘अनिवार्य नेपाली’ (स्नातक तह, २०८०, सहलेखन), ‘प्रयोगात्मक नेपाली व्याकरण बोध र अभिव्यक्ति’ (२०८१, सहलेखन कक्षा ९ र १०) आदि । 

उपप्राध्यापक (त्रिवि) अर्यालले ‘नारी स्रष्टाका उपन्यासमा नारी अस्तित्व र विभेदप्रतिको चेतना’ शीर्षकमा विद्यावारिधि गरेकी हुन् । उनै अर्याललाई यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।

  • दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

दिनमा यति नै समय पढ्छु भन्ने ठेगान हुँदैन तर समय मिलेका बेलामा घन्टौँ पढ्न सक्छु । कहिले त पढ्नै नपाएर पनि दिन बित्छ । जेहोस्, पढ्न नपाएका दिनभन्दा पढ्न पाएका दिन आनन्द लाग्छ ।

  • हालैका दिनमा पढेको पुस्तक कुन हो ? कस्तो छ, त्यो पुस्तक ? 

भर्खरै पढिसकेको पुस्तक लीलबहादुर क्षेत्रीको ‘सिमलको भुवा’ निबन्धसङ्ग्रह हो । साह्रै रोचक र ज्ञानवर्धक रहेछ यो पुस्तक । यो पुस्तक सन् २०१२ मा प्रकाशित भएको भए पनि भर्खरै पढ्ने मौका जुर्‍यो । यात्रा, भोगाइ र अनुभूतिको सङ्गम रहेछ यो पुस्तक । पाठकका जीवनभोगाइ र यात्राका अनुभूतिसँग यसले एकाकार गराउँछ । मलाई पनि हरेक निबन्धले आफ्नो जीवनसँग एकाकार गर्दै गए ।

‘रामायण’ले नेपाली भाषा–साहित्यकै उचाइको शिखर चढायो र युगयुगसम्म बाँच्ने बनायो । ‘माधवी’ले सिङ्गो भारत वर्षको युग पढायो । राधाले मिथकको पुनर्निर्माण गरेर अन्तिम सत्यमाथि प्रश्न गर्न सिकायो । ‘शिरीषको फूल’ले विसङ्गत जीवनमा अस्तित्वको रङ खोज्न सिकायो । ‘अग्निदत्त+अग्निदत्त’ले उपन्यास लेखन परम्परामा नवीन मार्ग कोर्दै विकृति र विसङ्गतिमाथि श्यामव्यङ्ग्य गरेर भ्रष्टाचारीमाथि खबरदारी गर्न सिकायो ।
  • तपाईंका लागि किताब के हो ? किताबसँग तपाईंको साइनो कसरी जोडियो ?

किताब ज्ञानको भण्डार मात्र नभएर मेरो असल मित्र हो । किताबले जीवन जिउन सिकाउँछ । संवेदना र संवेगलाई नियन्त्रण राख्न र सम्बन्धमा सुमधुरता थप्नमा यसले सहयोग गर्छ । सानैदेखि किताबसँग थाहै नपाई जोडिएको साइनो अझै उत्तिकै कसिँदै गइरहेको छ ।

  • तपाईंको लाइब्रेरीमा कति किताब छन् ? कुन विधाका पुस्तक बढी छन् र किताब किन्नका लागि कति खर्च गर्नुहुन्छ ?

छन् थुप्रै । घरमा सबैभन्दा किमती सामग्री यिनै होलान् । विधागत हिसाबले हेर्दा आख्यान नै बढी छन्, त्यसमा पनि उपन्यास बढी । बजारमा निस्किएका नयाँ उपन्यास त लगभग किनिएकै छ । खर्च यति भनेर छुट्ट्याउने गरेको त छैन तर रुचि र आवश्यकता अनुसार खरिदमा थपघट भइरहन्छ ।

  • आख्यान र गैरआख्यानमध्ये कुन विधाको पुस्तक पढ्न बढी रुचाउनुहुन्छ, किन ? 

मेरो रुचि आख्यानमै छ । आख्यान पढ्दा जीवनको पूर्णता भेटेजस्तो, खुल्दुली मेटिएजस्तो, अझ भनौँ पँधेरामा पानी भर्न जाँदा गाग्री भरिएजस्तो अनुभूति हुन्छ तर किन हो, कविता, मुक्तक, लघुकथा आदि छोटा आयामका रचनामा म सम्पूर्णताको अनुभूति गर्न सक्दिनँ । इतिहास र राजनीतिलाई विषय बनाइएका जुनसुकै विधाका पुस्तकमा पनि म त्यति रत्तिन सक्दिनँ ।

  • नेपाली लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुन सम्झनुहुन्छ, किन ?

नेपाली लेखकका धेरै कृति छन् मलाई मनपर्ने । त्यसमा पनि पाँचवटाको मात्र नाम दिनु त अलिक कठिन हो । यसमा मेरो पनि त राम्रो थियो तर किन नाम नलिइएको होला भन्ने पर्न सक्छ लेखकलाई । यद्यपि भानुभक्तको रामायण, मदनमणि दीक्षितको माधवी, कृष्ण धरावासीको राधा, पारिजातको शिरीषको फूल, ध्रुवचन्द्र गौतमको अग्निदत्त+अग्निदत्त र लक्ष्मीप्रसाद देवकोटाको मुनामदन झलक्क मनमा आइहाल्छ । यी कृतिमा धेरै कुरा छन् । 

आख्यान पढ्दा जीवनको पूर्णता भेटेजस्तो, खुल्दुली मेटिएजस्तो, अझ भनौँ पँधेरामा पानी भर्न जाँदा गाग्री भरिएजस्तो अनुभूति हुन्छ तर किन हो, कविता, मुक्तक, लघुकथा आदि छोटा आयामका रचनामा म सम्पूर्णताको अनुभूति गर्न सक्दिनँ ।

रामायणका श्लोक कसको मुखमा नझुन्डिएको होला र ? यसले नेपाली भाषा–साहित्यकै उचाइको शिखर चढायो र युगयुगसम्म बाँच्ने बनायो । ‘माधवी’ले सिङ्गो भारत वर्षको युग पढायो । राधाले मिथकको पुनर्निर्माण गरेर अन्तिम सत्यमाथि प्रश्न गर्न सिकायो । ‘शिरीषको फूल’ले विसङ्गत जीवनमा अस्तित्वको रङ खोज्न सिकायो । ‘अग्निदत्त+अग्निदत्त’ले उपन्यास लेखन परम्परामा नवीन मार्ग कोर्दै विकृति र विसङ्गतिमाथि श्यामव्यङ्ग्य गरेर भ्रष्टाचारीमाथि खबरदारी गर्न सिकायो । प्रेमको सच्चा परिभाषा र जीवनको वास्तविक अर्थ सिकाउँदै मानवता र समानताको पाठ थाहै नपाई पाठकको दिमागमा घोलिदिने मुनामदनको शक्तिको कुरै नगरौँ । तसर्थ यस्ता थुप्रै पुस्तक छन्, जसले नेपाली समाजको मार्गदर्शनमा अमूल्य योगदान दिँदै नेपाली भाषा–साहित्यको इतिहास कोरिरहेका छन् ।

  • विदेशी लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुनलाई सम्झनुहुन्छ, किन ? 

विदेशी लेखकका पाँच कृति सम्झनुपर्दा विशेषतः विलियम सेक्सपियरको ह्याम्लेट, मेक्सिम गोर्कीको ‘आमा’, ड्यानियल डिफोको ‘रबिन्सन क्रुसो’, तसलिमा नसरिनको ‘लज्जा’, टीएस इलियटको ‘द वेस्ट ल्यान्ड’लाई सम्झन्छु । यी कृति मनपर्नुमा पनि यिनै कृतिका विशेषता र योगदान मूल कारण हुन् । 

‘ह्याम्लेट’मा जीवन, मृत्यु र प्रतिशोधबिचको दार्शनिक द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । ‘आमा’ मजदुर वर्गको चेतना, क्रान्ति र समाजवादी विचारको सशक्त प्रस्तुति भएको कृति हो । ‘रबिन्सन क्रुसो’को सङ्घर्ष जीवनबाट हार खान नहुने साहसिक यात्राको कथा हो । यसले एकान्त टापुमा आत्मनिर्भरता, साहस र सङ्घर्षको प्रतीकात्मक कथा बोकेको छ । लज्जाले धार्मिक कट्टरता र अल्पसङ्ख्यकमाथि हुने उत्पीडनविरुद्धको मानवीय आक्रोश बुलन्द गरेको छ । ‘द वेस्ट ल्यान्ड’ले आधुनिक सभ्यताको निराशा, विखण्डन र आध्यात्मिक शून्यताको दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेको छ । यी कृतिले व्यक्तिको जीवन, समाज र नैतिक मूल्यबिचको सम्बन्ध, सङ्घर्ष र जागरुकताका साथै मानवताको संरक्षणतर्फ मार्गनिर्देश गरेका छन् ।

  • जीवनमा तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ? अनि, तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका छन् कि ? 

आफूले आजसम्म कसैको पुस्तक चोरेकी छैन र चोर्न पनि नपरोस् । मेरा पुस्तक हराएका भने छन् । मेरै कार्यकक्षमा राखिएको पुस्तक सुटुक्क कतिबेला कसले कहाँ लग्यो पत्तै भएन । त्यो पुस्तक त्यत्तिकै गायब भयो, आफैँ अचम्ममा परेँ । कति खोजी गर्दा पनि भेटिएन । सायद कसैले जानेर वा नजानेर त्यो पुस्तक लिएर जानुभयो होला । उहाँलाई पनि पत्तै छैन कि ? नचिनेका मानिस आएका पनि थिएनन्, आउनेलाई सोध्दा पनि फेला परेन । अचम्मै तरिकाले हरायो । जुन पुस्तक मैले पनि कति खोजेर ल्याएकी थिएँ बजारबाट ।

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको पुस्तक कुनै थियो कि ? थियो भने कसरी प्राप्त गर्नुभयो ?

धेरै छन् यस्ता पुस्तक । किन्न नपाइने पुस्तकहरू कसैसँग भएको थाहा पाउँदा पनि कति खुसी लाग्थ्यो भन्या । तत्काल म फोटोकपी गर्न मागिहाल्थेँ र फिर्ता गरिदिन्थेँ । मसँग महाकाव्यदेखि विभिन्न उपन्यासका फोटोकपी छन् ।

  • यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन हो ? त्यसबाट के पाउनुभयो ?

भानुभक्तको रामायण नै हो । यो बाल्यकालमा पढेको कृति हो । त्यतिबेला विषय र सन्देशमा भन्दा पनि लयमा ध्यान दिएर पढियो । हजुरआमाले नहेरी सबै कण्ठस्थ सुनाउने पुस्तक आफूलाई पढेर सक्न पनि धेरै दिन लागेको सम्झना छ । त्यतिबेला साहित्यतर्फको रुचि बढाउन र कविताको संरचना बुझ्न यसले सहयोग गर्‍यो ।

  • तपाईंको सोचलाई नै बदल्न सफल कुनै पुस्तक छन् कि ?

मेरो सोचै बदलेर जीवन परिवर्तन गराएको कृति यही हो भन्ने त हेक्का छैन, तर पढेका धेरै पुस्तकले जीवन, व्यवहार र सोचमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभाव पार्ने रहेछ । सायद यसैलाई ज्ञानार्जन र कृतिको सफलता भन्नुपर्छ । 

  • यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?

समाजका विकृति, बेथिति, विसङ्गतिका विरुद्ध कलम चलाउन उद्यत हुन्छु म । सामाजिक विभेद, अन्याय, भ्रष्टाचार र कुरीतिले नै खबरदारीपूर्ण लेखनमा मलाई प्रेरित गर्छ ।

  • नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने प्रवृत्तिले नेपालमा मात्र नभएर विश्वभरि नै पठन संस्कृतिमा आजकल असर पुगेको छ । त्यसो त समयको माग अनुसारको लेखन र पाठकको सहज पहुँच अहिलेको चुनौती बनेको छ । विद्यालय तहदेखि नै पुस्तक कर्नरहरू राखेर पाठ्यक्रम बाहिरका पुस्तकमाथि चर्चा–परिचर्चा र पाठक प्रतिक्रिया लेखनमा विद्यार्थीलाई मार्गदर्शन गर्न सके पठन संस्कृतिको विकास हुने देखिन्छ । 

आजका पाठकलाई आफ्नो रुचि अनुसारका पुस्तक जतिसक्दो धेरै पढ्न र ज्ञान हासिल गर्न आग्रह गर्छु । पढ्नु समयको बर्बादी गर्नु होइन, यो त ज्ञानको दायरा बढाउनु, जीवन जिउने कला सिक्नु र जीवनका कुनै पनि चुनौतीसँग सामना गर्न सक्ने सामर्थ्यको विकास गर्नु हो । सफल जीवनका लागि जतिसक्दो धेरै अध्ययन र ज्ञानार्जन अपरिहार्य छ 

  • यहाँको पछिल्लो कृति ‘बेचैन अभिलाषा’ले पाठक तथा समीक्षकबाट के कस्तो प्रतिक्रिया पाएको छ ? 

‘बेचैन अभिलाषा’ (२०८२) हालसालै प्रकाशित भएको कवितासङ्ग्रह हो । यसले छोटो समयमा पाठकबाट धेरै माया पाएको छ । पाठकले आफ्नै पीडालाई सम्बोधन गरेर विकृति र विसङ्गतिमाथि कलात्मक रूपमा औँला उठाइदिनुभएको भन्दै प्रतिक्रिया पठाइरहनुभएको छ । समीक्षकहरूले त झन् यो समाजका विकृति र विसङ्गतिप्रतिको प्रतिरोधी चेत, समभाव र सहअस्तित्वको वकालत, युवापुस्ताको चाहनाको सम्बोधन, देश विकासको अपेक्षा, राष्ट्रप्रेम, पर्यावरणीय चेत आदि दृष्टिबाट सशक्त रहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिक्रिया सकारात्मक नै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप