बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकताका लागि आरके शर्मा नेतृत्वको न्यायिक तथा मेलमिलाप समिति सक्रिय

शनिबार, ११ असोज २०८२, १४ : ५१
शनिबार, ११ असोज २०८२

सारांश

  • एनआरएनएभित्रको विभाजन अन्त्य गरी एकताका लागि आरके शर्माको नेतृत्वमा न्यायिक तथा मेलमिलाप समिति सक्रिय भएको छ।
  • समितिले बद्री केसी समूहसहित सरोकारवालाहरूसँग अनौपचारिक संवाद सुरु गरिसकेको छ, र औपचारिक वार्ताको तयारी भइरहेको छ।
  • महेश कुमार श्रेष्ठ र बद्री केसी समूह दुवै एकताका लागि सकारात्मक देखिएका छन्, र परराष्ट्र मन्त्रालयले पनि अनौपचारिक पहल गरिरहेको छ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समययता देखिएको विभाजन अन्त्य गरी एकताको वातावरण तयार गर्न आरके शर्मा नेतृत्वको न्यायिक तथा मेलमिलाप समिति सक्रिय भएको छ।
एनआरएनएको शुक्रबार बसेको बैठकले न्यायिक समितिमा रहने सदस्यको नाम लगभग टुंगो लगाइएको छ भने समितिले एनआरएनएको बद्री केसी समूहसहित सरोकारवाला सबैसँग अनौपचारिक संवाद समेत थालिसकेको छ । 
सर्वोच्च अदालतको परमादेशअनुसार गत वैशाखमा भएको एकता महाधिवेशनलगत्तै शर्मामा नेतृत्वमा समिति बनाउने घोषणा भएको थियो । तर समितिले पूर्णता भने पाएको थिएन। 

 एनआरएनएको वैशाखबाट भएको महाधिवेशनबाट महेश कुमार श्रेष्ठ अध्यक्ष चयन भएका थिए भने सो महाधिवेशनमा सहभागी नभएको बद्री केसी समूहसँग पनि अब वार्ता गरेर एकताबद्ध एनआरएनए बनाउने गरी शर्मा नेतृत्वको समिति अहिले आएर सक्रिय भएको हो । 

विगतमा विभिन्न कारणले एकता हुन नसकेकाेमा पछिल्लो समय देशमा भएको राजनीतिक घटनाक्रमपछि एकताबद्ध एनआरएनएको आवश्यकता महसुस गरी दुबै पक्ष वार्तामा बस्न लचक भएसँगै समिति सक्रिय भएको बताइएको छ । जसअनुसार शर्माको समितिमा जानकी गुरुङ, केशव पौडेल, शनिकुमार ओलीलगायतलाई सदस्य चयन गरेर अब औपचारिक रुपमा वार्ता गर्ने शर्माको तयारी छ । 

श्रेष्ठ पक्षका एक अभियन्ताका अनुसार हाल अनौपचारिक ढंगले सबै पक्षसँग निरन्तर संवाद भइरहेको छ । उनले भने, “मात्र हामीले कुरा गर्दा भन्दा बाहिरका स्टेकहोल्डरहरूले सहजीकरण गरेमा एकता सजिलो हुन्छ। सबैलाई मिलाउनुपर्छ, हामी लागिरहेका छौँ।”

परराष्ट्र मन्त्रालयले समेत अनौपचारिक पहल थालेको बताउँदै उनले सबैलाई एउटै ढाँचामा ल्याउन विभिन्न अनौपचारिक संवादहरू चलिरहेको जानकारी दिए।

यस्तै श्रेष्ठले पनि  एकताको पक्षमा आफू दृढ रहेको स्पष्ट पारे । उनले भने, “जुनसुकै हालतमा पनि एकता हुनुपर्छ, म असाध्यै सकारात्मक छु।”

यसैगरी शर्माले एकताको विकल्प नभएको बताउँदै आफू सकारात्मक नतिजा निकाल्नेगरी लागिरहेको बताए । यस्तै केसी समूहका अभियन्ताहरुले पनि एकताको विकल्प नभएकाले छिट्टै निकास निस्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप