बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

आइतबार, १२ असोज २०८२, २१ : २५
आइतबार, १२ असोज २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कोरोला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनको लागि सरकारसँग आग्रह गरे।
  • उनले नाकाको पूर्वाधार निर्माण, भन्सार कार्यालयलाई व्यवस्थित बनाउन र अध्यागमन सेवा सुरु गर्न आग्रह गरे।
  • अध्यक्ष ढकालले मुस्ताङमा पर्यटक आगमन बढेको र मानसरोवर यात्राका लागि यो नाका छोटो हुने बताए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

महासङ्घको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग वाणिज्य सङ्घका नेतृत्वहरूसँग आइतबार नाकाको निरीक्षणपछि उनले यस्तो आग्रह गरेका  हुन्। अध्यक्ष ढकालले भने, “कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवर्द्धनका लागि प्रयोग गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।”

अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे ।

उनले भने, “बाह्र दिन मात्र अघि सुरु गरिएको भन्सार कार्यालयबाट रु १ अर्ब ४० करोड राजस्व सङ्कलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।”

चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । 

माथि कोरोला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रूपमा कार्य सञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायत अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो । 

गत वर्ष मात्र मुस्ताङमा करिब सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्याङ्क रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरु रहेका र मानसरोबार जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरूलाई समेत सहज हुने बताए । 

साथै माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरूलाई लगाइँदै आइएको रु ५०० अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उहाँले सरकारसँग माग गरे ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढङ्गले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रका तर्फबाट के गर्नुपर्छ त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप