बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उद्यम

हातमा सिप, गाउँमै पैसा देखेर परिश्रममा भिजेका दानबहादुर

‘काम नलाग्ने भनेर हेला गरेको चिजबाट पैसा देखेपछि मैले बनबासा तर्नु परेन’
मङ्गलबार, १४ असोज २०८२, १७ : ००
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • सुदूरपश्चिमका दानबहादुर बुढाले भारतको बनबासा पुल तरेर कमाउनुको साटो गाउँमै अल्लोबाट कपडा उत्पादन गरी स्वरोजगार बनेका छन्।
  • मेल्लेख गाउँपालिकाले बुढाको उद्योगलाई सहयोग गर्दै औद्योगिक ग्राममार्फत अल्लोबाट बनेका उत्पादनको बजारीकरणमा सघाएको छ।
  • बुढाले अल्लो प्रशोधन र कपडा बुनाइ तालिम दिएर गाउँलेलाई रोजगारी दिएका छन्, वार्षिक ३ देखि ६ लाख रुपैयाँ बचत गर्दै आएका छन्।

धनगढी । कैयौँ सुदूरपश्चिमेलीहरू बनबासाको पुल हुँदै कमाउन भारत पस्ने बाध्यतामा हुन्छन् । बनबासाको पुलले नेपाल भारतको सिमाना छुट्ट्याउँछ । कञ्चनपुरको महेन्द्रनगर भएर बनबासाको पुल हुँदै महाकाली तरेर रोजीरोटीका लागि भारत पस्ने धेरै छन् ।

स्वदेशमा रोजगारीका विकल्प नभएपछि विवश हुँदै यो पुलको बाटोबाट गाउँ छोडेर जानुपरेको उनीहरूको गुनासो हुन्छ ।

अछामको मेल्लेख गाउँपालिका–२, ऋषिदहका दानबहादुर बुढालाई भने अहिलेसम्म बनबासाको पुल तरेर कमाउन भारत जान नपरेकोमा धेरै गर्व लाग्छ । हातमा सिप भएका उनी आफूले जानेको काम गरेरै जीविकोपार्जनमात्र गरिरहेका छैनन्, गाउँका कैयौँलाई आवद्ध गरेर आय आर्जनका लागि प्रोत्साहन पनि गरिरहेका छन् ।

बुढाले गुजारा चलाउन अनेक चुनौतीका पहाड सामना गर्नुपरे पनि धन कमाउन परदेश जानुपर्छ भन्ने सोच भने कहिल्यै राखेनन् । ‘कमाउनका लागि बनबासाको पुल तर्न नपरेकोमा मलाई गर्व लाग्छ,’ उनले भने ।

allo (2)

गाउँबाट आफ्ना कैयौँ साथीभाइ धन कमाउनकै लागि भारतका विभिन्न सहरतिर पसेको बुढा सुनाउँछन् । डाँडापाखामा रमाउँदै पैसा कमाउने भन्दै आफू गाउँमै बसेको उनको भनाइ छ ।

सुरुमा बुढाले भेंडाबाख्रा पाले । भेंडाको उन र जंगलमा खेर जाने अल्लोबाट पैसा कमाउने जुक्ति देखे उनले । अल्लो र उनबाट उनले घरेलु तरिका अपनाएर धागो बनाए । यो धागोबाट हातले नै राडीपाखी बुनेर उनी विक्री गर्थे । उनको हातमा सिप थियो । सिपलाई आफ्नै ठाउँमा सदुपयोग गर्न पाउँदा उनी निकै सन्तोष मान्छन् ।

‘काम नलाग्ने भनेर हेला गरेको चिजबाट पैसा देखेपछि मैले बनबासा तर्नु परेन,’ बुढाले भने ।

उनी आफूमात्र होइन, अल्लोबाट पूरा गाउँलाई नै स्वरोजगार बनाउने सपना देख्न थाले । उनको मनमा अल्लो र उनबाट लुगा–कपडा बनाउने हुटहुटी जाग्न थाल्यो । २०७२ सालमा जिल्ला घरेलु उद्योग कार्यालयको आयोजनामा उनले गाउँमै राडी–पाखी बुनाइ सम्बन्धी तालिम चलाउन पाए । उनले गाउँमा ६०/६५ जनालाई सिलाइ–बुनाइ सम्बन्धी तालिम दिए । त्यही वर्ष उनले उद्योग दर्ता गरे । उक्त उद्योगलाई उनले गाउँमै सञ्चालन गरे । सामान्य तरिकाले उद्योग चलाउँदा सोचेअनुसारको काम गर्न नसकेको उनको अनुभव छ ।

बुढाले उद्योगलाई माथि उकास्न अनेक चुनौती सामना गर्नुपर्‍यो । ‘लगानी नहुँदा उद्योग माथि उठेन,’ उनले भने ।

उद्योग चलाएको ७ वर्षपछि भने उनले बृहत् रूपमा आफ्नो उद्योगलाई अगाडि बढाउने आँट गरे । उनको काममा मेल्लेख गाउँपालिकाको कार्यालयले पनि साथ दियो ।

allo (3)

आर्थिक वर्ष २०८०/०८१ मा मेल्लेख गाउँपालिकाले औद्योगिक ग्राम मार्फत एक वडा, एक उद्योगको स्थापना गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार उनको उद्योगलाई गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले उनलाई उद्योग सञ्चालन गर्न भवन र मेसिन दिएको छ । 

बुढाको उद्योगमा उत्पादन भएका लुगा–कपडा विक्री वितरणका लागि पनि गाउँपालिकाले बजारको व्यवस्थापन गरिदिने गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले जानकारी दिए । ‘अहिले उद्योगले अल्लोबाट कोट, टोपी, झोला उत्पादन गरिरहेको छ । मैले पनि त्यही उद्योगबाट बनेको कोट र टोपी लगाउँछु । उत्पादन भएका यी सामग्रीलाई बजारमा विक्री गर्ने जिम्मा पनि गाउँपालिकाले लिएको छ,’ उनले भने ।  

दानबहादुर बुढाले मेल्लेख गाउँपालिकाको–७, सुयडीमा व्यावसायिक रूपमा अल्लोबाट लुगा, कपडा उत्पादन गर्ने उद्देश्यले लक्ष्मी अल्लो प्रशोधन तथा सिलाइ बुनाइ उद्योग सञ्चालन गरिरहेका छन् । उनले औद्योगिक ग्राममा अल्लोबाट धेरै कपडा बुनेर, सिलाएर उत्पादन गरेर विक्री गरिसकेका छन् ।

वैशाखतिर अल्लो पलाउन सुरु हुन्छ । अल्लो सङ्कलनको काम गाउँका मान्छेले गर्छन् । गाउँलेहरू असोज, कात्तिक, मङ्सिरमा अल्लो निकाल्ने काम गर्छन् । गाउँलेले सङ्कलन गरेर ल्याएको अल्लोलाई बुढाले प्रतिकिलो १३० रुपैयाँमा खरिद गर्छन् । सङ्कलन गरेको अल्लोलाई प्रशोधन गरेर धागो बनाउने काम केही गाउँलेले नै गर्छन् । त्यस्तो धागो पाँच सय रुपैयाँ प्रतिकिलोसम्म पर्छ ।

उनीहरूले बनाएको धागोलाई उद्योगमा मेसिनले फिट गरेर कपडा बुन्ने कामचाहिँ बुढाले गर्छन् । उद्योगमा उनी आफैँ खटिन्छन् । उनले दुईतीन जना अरू कर्मचारी पनि राखेका छन् । उद्योग चलाउन थालेपछि अहिले बुढाले भेँडाबाख्रा भने हटाएका छन् ।

allo (1)

अल्लोको काट्ने समय, त्यसको प्रशोधन कसरी गर्ने भन्ने विषयमा बुढाले गाउँलेलाई पहिला तालिममा सिकाएका थिए । गाउँलेहरू अल्लोलाई ठुलो भाँडामा दुई घण्टाजति पकाउँछन् । केमिकल हालेर पकाए अल्लो दुई घण्टामा पाक्छ । केमिकल नहालेको खण्डमा अल्लो पाक्न चारघण्टा जति लाग्छ । 

अल्लो पाकेपछि बाहिरको कालो बोक्रा जान्छ । बोक्रा हटेर सेतो भइसकेपछि अल्लो पाकेको भन्ने थाहा पाइन्छ । त्यसलाई कुटेर पखाल्ने र रेसा दिन खरानी लगाउने, त्यसपछि कमेरोमा चोब्ने र ताक्लोमा दुई दिन सुकाएपछि बल्ल धागो बन्छ । उक्तलाई धागोलाई मेसिनसम्म पुर्‍याउने काम गाउँले गर्छन् ।

यो उद्यमबाट दानबहादुर बुढाले वार्षिक तीनदेखि ६ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । उनले उत्पादन गरेका टोपी, कोट, झोला लगायतका सामान टिकाउ हुने उपभोक्ता बताउँछन् ।

मेल्लेख गाउँपालिकाको लेकाली भेगमा अल्लो प्रशस्त मात्रामा उत्पादन हुने गर्छ । बुढालाई यो उद्योगमा लगानी बढाएर अझ धेरै लुगा, कपडा उत्पादन गर्ने मन छ । उनको उद्योगमा कोट, स्टकोट, टोपी, झोला, गलबन्दी, पटुकी, लगायतका सामग्री उत्पादन हुने गर्छन् । उनीसँग ९ किसिमका लुगा–कपडा बनाउने सिप छ ।

अल्लोको कपडाको एक मिटरको ८ सयदेखि एक हजार, दुई हजारसम्म रुपैयाँ पर्ने गर्छ । आफ्नो उद्योगमा उत्पादन भएका लुगा–कपडा देशका सबै ठाउँमा विक्री वितरण गर्ने ठुलो लक्ष्य छ । अल्लो उद्योगबाट पूरा गाउँलेलाई रोजगारी दिने उनको सपना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप