सम्बन्धको सौन्दर्य
सारांश
- लेखमा मानिसको अहम्, असहिष्णुता र सम्बन्धको महत्वबारे चर्चा गरिएको छ।
- खुसी हुन ठुलो कुरा चाहिँदैन, साना घटनाले पनि खुशी मिल्छ भन्ने कुरा बताइएको छ।
- मौनता, एकाग्रता र विचारको महत्त्वबारे प्रकाश पार्दै जीवनलाई कसरी उज्यालो बनाउन सकिन्छ भन्ने कुराको विश्लेषण गरिएको छ।
जब हामी अरूको प्रशंसा गर्छौं, प्रकारान्तरले आफैँ प्रशंसित भइरहेका हुन्छौँ तर अक्सर हामी यो सत्यलाई भुल्छौँ । हामी आफ्नो अहंलाई केन्द्रमा राखेर सोच्छौँ । अहंको पर्खालले खुसीका उज्याला इन्द्रेणी रङहरूलाई हामीसम्म आउनबाट रोकिदिएपछि हामी जीवनको असीम आनन्दबाट वञ्चित हुन पुग्छौँ । हामी जर्जर बन्छौँ, कठोर एवं निर्दयी बन्छौँ । हामीमा दानव चढ्छ, ज्वरो चढेझैँ । हामी आफ्नो वरिपरि असभ्यताको कठोर एवं भद्दा किल्ला निर्माण गर्न पुग्छौँ । यो अवस्थाले हामीबिचमै असहमति, अशान्ति, विकृति एवं निर्ममता बढाउँछ, बढाइरहेको पनि छ । हामी आफ्नै अहंको खोक्रो घमण्डबाट असुरक्षित बन्दै गइरहेका छौँ । हाम्रा सम्बन्धहरूको सुगन्ध दुर्गन्धित भइरहेको छ, हाम्रो हार्दिक आत्मीयतामा गन्हाउने लेदो जमेको छ । हामी क्रमशः नर्कतिरको यात्रामा छौँ ।
ओशोले सम्भवतः विश्व वातावरणमा बढिरहेको तापक्रमझैँ हामीभित्र बढिरहेको दुराचार, असहिष्णुता एवं अहंको व्यर्थको अँध्यारोले दिक्क भएर भनेका होलान्, ‘प्रत्येक सम्बन्धको आफ्नै सौन्दर्य हुन्छ ।’ ओशोको यस भनाइको अर्थको मोहकताले छोइँदा मात्र पनि हामीभित्र अप्रतिम आनन्दको वर्षा हुन्छ । हामी सुखको खुड्किला चढ्न थाल्छौँ ।
वास्तवमा मानिसलाई खुसी हुन धेरै ठुलो कुरा पनि चाहिँदैन । स–साना घटना एवं परिस्थितिले पनि मनग्य खुसी प्रदान गर्छ । हामीमध्येकै कतिपय चाहिँ ठुलो खुसीलाई मात्र खुसी मान्छौँ र त्यसलाई एकैचोटि प्राप्त गर्न वर्षौंवर्ष तड्पन्छौँ । कहिलेकाहीँ त चाहेको ठुलो खुसी आउँदै नआईकन जीवन अँध्यारोमै सकिन्छ । कहिलेकाहीँ त्यो आइहाले पनि झुलुक्क हिउँदको घामजस्तो एक झल्को देखिएर गइहाल्छ । यसले त जीवनमा झनै तृष्णालाई बढाइदिन्छ र मानिसमा अशान्ति र बेचैनी बढाउँछ । समस्याहरूबाट जोगिन चाहेको त झनै समस्याको दलदलमा पो फस्न पुगिन्छ ।
ध्यानपूर्वक आफैँतिर हेर्यौँ भने समस्या हामीभित्रै छ तर सामान्यतः देख्तैनौँ । जीवनमा मायाप्रेम, सुख र खुसी जसरी नै समस्या र जटिलताहरू पनि धेरैजसो त सम्बन्धकै कारणले थपिन्छन् र बढ्छन् । अहं र असहिष्णुताले हाम्रो आँखा र मस्तिष्कमा वास गर्न पायो भने बिस्तारै त्यो चट्टाने पहाड बन्न थाल्छ । यसले उज्यालो र सौन्दर्यका सबै आकर्षणलाई छोप्ने र छेक्ने गर्छ । आँखामा, मनमा, मानसमा सर्वत्र अँध्यारो बढेपछि त्यसले सबैभन्दा पहिला विवेकलाई सिध्याउँछ । त्यसपछि दृष्टिकोण, भावना र अनुभूतिलाई खरानी बनाउँछ । यसपछि मानिसले मुस्कुराउन बिर्सन्छ, हिँड्न बिर्सन्छ, आफ्नै हृदयबाट निस्केको सङ्गीतको आह्लादित झङ्कार सुन्न समेत बिर्सन्छ । त्यसपछि ढुङ्गासँग के गर्नु जीवनको अपेक्षा ?
ओशोले सम्भवतः विश्व वातावरणमा बढिरहेको तापक्रमझैँ हामीभित्र बढिरहेको दुराचार, असहिष्णुता एवं अहंको व्यर्थको अँध्यारोले दिक्क भएर भनेका होलान्, ‘प्रत्येक सम्बन्धको आफ्नै सौन्दर्य हुन्छ ।’ ओशोको यस भनाइको अर्थको मोहकताले छोइँदा मात्र पनि हामीभित्र अप्रतिम आनन्दको वर्षा हुन्छ । हामी सुखको खुड्किला चढ्न थाल्छौँ ।
यो संसारमा वास्तवमा सम्बन्धभन्दा बाहेक अरू केही छैन । हामी जे छौँ सबै सम्बन्धहरूकै कारणबाट छौँ । हामी जहाँ छौँ त्यो पनि सबै सम्बन्धहरूकै कारणबाट छौँ । हामी जे गर्छौं त्यो पनि सबै सम्बन्धहरूकै मजबुतीका लागि गर्छौं । हामी प्रेम गर्छौं, माया गर्छौं, यात्रा गर्छौं, घृणा गर्छौं । हामी घटना÷दुर्घटना जे पनि घटाउँछौँ, वास्तवमा सबै सम्बन्धहरूकै कारणले र सम्बन्धकै लागि गर्छौं । बरु के विचार गर्न भुल्छौँ भने के वास्तवमा हाम्रा क्रियाकलापले हाम्रो सम्बन्धको मर्यादा बढेको छ ? हाम्रो सम्बन्धको आधार बलियो भएको छ ?
हामी बोल्छौँ अत्यधिक । वास्तवमा बोल्छौँ मात्र । जानेर पनि बोल्छौँ नजानेर पनि बोल्छौँ । बुझेर पनि बोल्छौँ नबुझेर पनि बोल्छौँ । देखेर पनि बोल्छौँ नदेखेर पनि बोल्छौँ । हामी जीवनको अधिकांश समय बोलिरहन्छौँ । हामीलाई व्याख्यानमा आनन्द लाग्छ । हामी सबै विषयका पण्डित हुन मन पराउँछौँ । अरु नै कसैले भनेको दुई–चार कुरामा आफ्नो तर्पmबाट आठ–दश कुरा थपेर आफ्नो कुरा बनाउँछौँ र ठुलोठुलो आवाजमा बोल्छौँ । यसको स्पष्ट झल्को हाम्रो राजनीतिमा, हाम्रो सामाजिक जीवनमा, निरन्तर स्खलन भइरहेको हाम्रो सांस्कृतिक मूल्यमा देखिन्छ । हामी तैपनि बोल्छौँ, बोली मात्र रहन्छौँ तर हामी सुन्दैनौँ । अरू कसैलाई पनि सुन्दैनौँ, आफैँलाई सुन्ने कुरा त परकै भो ।
मौनता पनि जीवनको अनिवार्य पक्ष हो । केही बोल्नलाई केही सुन्नुपर्छ, केही पढ्नुपर्छ र विचार गर्नुपर्छ । अनुभवहरूले सोझै केही भन्दैनन् तर तिनले केही न केही अर्थहरूप्रति सङ्केत गर्छन् । हामीले देखेको, पढेको, भोगेको जेसुकै घटना, पाठ तथा दृष्टान्तबाट प्रकारान्तरले अर्थको आविष्कार गर्छन् र तिनले केही सार्थक पक्षहरूको उद्घाटन गर्छन् । यसले जीवनमा लालटिनको काम गर्छ तर यसका लागि आवश्यक छ ध्यानको, एकाग्रताको । हामी कुनै घटना देख्छाँै । त्यसबेला त्यो घटना मात्र हुन्छ तर जब त्यस वरिपरिको वातावरण, कारण र घटनापछिको प्रतिफललाई सिक्वेन्सियल रूपमा जोडेर हेरिन्छ अनि त्यहाँ अर्थको जन्म हुन्छ । तसर्थ अर्थहरूको जन्मका लागि विचार गर्नुपर्छ, चिन्तनको तहसम्म पुग्नुपर्छ, जहाँ मौनताको साम्राज्य छ ।
देख्ने बेलामा हामी आँखा खुलै राखेर पनि देख्छौँ र आँखा बन्द गरेर बस्ता पनि देख्छौँ । अझ भन्नुपर्दा खुला आँखाले त हामी बाहिरी आवरण मात्र देख्छौँ । आँखा बन्द गरेर देख्ता भने हामी भित्री एवं गहिरा दृश्य एवं कुरा देख्छौँ । यसले हामीलाई आत्मबोध गर्न सहयोग गर्छ । बाहिरी कुराहरू मात्र हेरेर निकालिएको निष्कर्ष त गलत पनि हुन सक्छ । झट्ट आँखाले देखियो भन्दैमा त्यो पूर्ण सत्य नै हुन्छ भन्ने केही छैन । त्यो आधा वा एकांश मात्र पनि हुन सक्छ, तर आँखा चिम्लिएर वा बन्द गरेर देखेको दृश्य त भ्रम वा अधुरो हुँदैन । त्यसले हामीलाई गलत सन्देश दिँदैन । त्यसले आत्मप्रकाश गराउँछ, जसको उज्यालोमा हामी आफैँले गरेका गल्ती–कमजोरीलाई देख्छौँ र अगाडिका लागि ती भुल एवं कमजोरीलाई सच्याउँदै सफलताको उकालो चढ्न सक्छौँ । त्यसैले हामीलाई जीवनमा मौनता पनि चाहिन्छ, एकाग्रता पनि चाहिन्छ । यिनको संयोजनमा गरिने विचारमन्थनले जीवनमा उज्यालोको निर्माण गर्छन्, जसले हामीलाई सदा उज्यालोजस्तो मुस्कान दिन्छ ।
मौनता एउटा भाषा हो । अर्थ भएपछि मात्र अक्षर वा शब्दले पनि पूर्णता पाउँछ र त्यो भाषा बन्छ । मौनता एउटा ठुलो ओढारजस्तो निस्सासिने लाग्दो हो कसैलाई तर त्यहाँ प्रवेश गरेपछि अर्थका अनेकौँ गुजुल्टा खुल्छन् र जीवन प्रकाशमय लाग्न थाल्छ, आनन्दमय लाग्न थाल्छ । जीवनका जटिलताहरू खुकुलिँदै जान्छन्, जीवनका अपूर्णताहरू एवं डसिरहने अभावहरू निफनिएर बाहिरिन्छन् । हामी आफ्नो छटपटीको, असन्तुष्टिको, निराशाको कारणलाई सशरीर प्रकट भएको देख्छौँ र त्यसलाई अझ गहिरिएर हेर्दा त्यसपर्तिर त्यसको निवारणको औषधी पनि भेट्छौँ । हामी त्यति पनि धैर्य गर्दैनौँ कि एकछिन गहिरिएर विचार गरौँ । हामी भ्रममा बाँचिरहेका छौँ, भ्रम बोलिरहेका छौँ, भ्रमको अस्तित्व बढाइरहेका छौँ र झन्झन् दुःखी भइरहेका छौँ । हामी सुन्न छाडेर जति धेरै बोल्दै जान्छौँ, त्यति नै समस्याको जटिल भासमा फस्दै पनि गइरहेका हुन्छौँ, तर हामीलाई यो सम्झाउने कसले ?
यो संसारमा वास्तवमा सम्बन्धभन्दा बाहेक अरू केही छैन । हामी जे छौँ सबै सम्बन्धहरूकै कारणबाट छौँ । हामी जहाँ छौँ त्यो पनि सबै सम्बन्धहरूकै कारणबाट छौँ । हामी जे गर्छौं त्यो पनि सबै सम्बन्धहरूकै मजबुतीका लागि गर्छौं ।
आँखा खोलेर हेर्दा अगाडि जे छ, त्यही देखिन्छ, अगाडि जो छ त्यही देखिन्छ । हामी धेरैजसो समय आँखालाई खुल्लै राख्छौँ, त्यसैले अधिकांश समय त हामी अरूलाई हेर्छौं, अरू नै विविध चिजहरू देख्छौँ । आफैँलाई हेर्न त ऐना हेर्नुपर्छ । त्यो जुनसुकै बेला पनि सम्भव हुँदैन । यसै गरी दृष्टिलाई बाहिर नफ्याँकेर आँखालाई बन्द गरी आँखाकै बाटोबाट आफैँभित्र पठाउन सके पनि आपूmलाई देख्न सकिन्छ, तर हामी सामान्यतः आँखालाई बन्द त्यतिबेला मात्र गर्छौं जतिबेला निदाउँछौँ ।
कुनै पनि कुराको निरन्तरको प्रयोग, निरन्तरको साक्षात्कार एवं निरन्तरको अन्तक्र्रियाले हामीमा आदतको विकास हुन्छ । त्यो लत बन्छ, जसलाई छोड्न अत्यन्त कठिन हुन्छ । लत नै पनि सामूहिक भयो र लामो समयसम्म प्रयोगमा आइरह्यो भने संस्कृतिमा रूपान्तरित हुन समेत पुग्छ । संस्कृति बनेपछि त्यो वैज्ञानिक वा अन्धविश्वास जेहोस्, त्यसको जरा अत्यन्त बलियोसँग गाडिन्छ । हामीमा पनि अरूलाई हेर्दाहेर्दै अरू कुराहरू देख्दादेख्दै तिनीहरूमाथि नै टिप्पणी गर्ने, तिनै विषयका विविध पक्षमा अलमलिएर समय बिताउने र तिनै विषयहरूको खोट पहिल्याएर रमाउने आदतको विकास भएको छ । यसैले अधिकांश समय हामी अरुकै विषयमा टिप्पणी गर्छौं, अरूकै दोषहरूको खोजीमा लाग्छौँ र अरुकै अप्ठेरो एवं असफलतामा रमाउँछौँ । हाम्रो यो आदतले हामीभित्र समस्या थप्दै लगेको छ, हामी निस्सासिँदै गइरहेका छौँ । हाम्रो राजनीति भुमरीमा फसेको छ, समाज विग्रह र विघटनको बाटोतिर ओरालो झर्दै छ, मान्छेले सबैभन्दा धेरै मान्छेसँग डराउनुपर्नेभएको छ । यी सबै भएको हामीले विकास गरेको हाम्रो आदतकै कारणले हो । हाम्रो ओठबाट गुलाफको रातो पूmलजस्तो खुसी खसेको पनि त्यसै भएर हो, दृष्टिबाट स्फटिकजस्तो उज्यालो हराएको पनि त्यसै भएर हो ।
त्यसैले भनेको समस्या हामीभित्रै छ । हाम्रो जीवन पद्धतिमा त्यसैले अलिकति सुधारको खाँचो छ । हाम्रो व्यवहारमा अलिकति केही नमिलेको छ, त्यसलाई मिलाउनासाथ सबै ठिकठाक भइहाल्छ । बाटोमा, घरमा, कार्यालयमा, विद्यालयमा वा जहाँसुकै पनि र जोसुकैसँग पनि हामी त्यसपछि खुसी र जीवनका उज्याला–रमाइला क्षण देख्न थालिहाल्छौँ । जब हाम्रा कर्मका साना–ठुला सबै प्रयत्नबाट हासिल भएको यथार्थलाई आफ्नो आनन्द र खुसीको मूल हो भनेर मान्छौँ, तब जीवन त्यसैत्यसै उज्यालिन थालेको पाउनेछौँ । हामीले बनाएका हाम्रा सम्बन्धबाट अपूर्व सौन्दर्यको प्रस्फुटन हुन थाल्नेछ र त्यसैको सुवासले सुबासिन थाल्नेछौँ । त्यही प्राप्तिको आलोकमा हामी आफ्ना अनुहारलाई देख्नेछौँ, आफ्नो आकारलाई भेट्नेछौँ र तमाम दुर्गन्धहरूभन्दा माथि उठेर जीवनलाई सरल बनाउँदै सुरक्षित पनि हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण