बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

दसैँ : बाटोको पीडा र गाउँको तिर्सना

शनिबार, १८ असोज २०८२, ११ : ५४
शनिबार, १८ असोज २०८२

सारांश

  • दसैँमा घर फर्किने यात्रुहरू सडक अवरोध र टिकट कालोबजारीका कारण समस्यामा पर्छन्।
  • यात्रुहरूले यात्राका क्रममा दुःखकष्ट भोग्नुपर्छ, तर गाउँ पुग्ने रहरले उनीहरूलाई अघि बढ्न प्रेरित गर्छ।
  • दसैँको यात्रा भावनात्मक पुनर्मिलन र आत्मीयताको उत्सव हो, जहाँ परिवार र आफन्तको माया पाइन्छ।

आफ्नै गाउँघर फर्किने उत्साह कति चञ्चल हुन्छ ! मनमा बाल्यकालका खेल, आमाको न्यानो काख, धानबालीको सौन्दर्य र सयपत्रीको सुवास, अँगेनोमा बलेको चुल्होको धुवाँ । स्मृति–विम्बमा सबै एकसाथ तैरिन्छन् । यात्रुका लागि त्यो बाटो दूरी मात्र होइन, गाउँसँगको भावनात्मक सेतु हो, तर त्यो सेतु प्रायः अधुरो रहन्छ, जब बाटोलाई पहिरोले बगाएर लैजान्छ । घर हिँडेका यात्रुबिच बाटोमा अलपत्र पर्छन् । 

हरेक वर्ष सडकको अवस्था असहज हुँदा दसैँमा घर जाने हजारौँ यात्रु अलपत्र पर्छन् । कतै सुक्खा पहिरोले सडक अवरुद्ध हुन्छ । कतै अविरल वर्षाका कारण सडक अवरुद्ध हुन पुग्छ । सबैभन्दा बढी सास्ती मुग्लिन–नारायणगढ सडकखण्डले दिएको छ । तुइनखोला नजिक निरन्तर झरेको पहिरोले यो सडक भएर यात्रा गर्ने यात्रु यसपालिको दसैँमा सबैभन्दा बढी सास्ती भोग्न बाध्य भएँ ।

वर्षात्सँगै बढेका खोला, खसेका चट्टान र पहिरोले छेकिएका सडक । यी सबैले गाउँ फर्किने यात्राको मिठासलाई बेस्वाद मात्रै होइन भोकै पारिदियो । दसैँका यात्रुहरूको आँखामा गाउँको तिर्सना हुन्छ, तर खुट्टाले अघि बढ्न पाउँदैन । बसहरू बिच बाटोमै थामिन्छन् । यात्रुको बिजोग देख्दा लाग्छ, यो कस्तो विडम्बना हो जहाँ सरकारले सुविधाजनक र सुरक्षित रूपमा आफ्ना नागरिकलाई घरसम्म पुर्‍याउन सक्दैन ।

सरकारको प्राथमिकता कता हरायो ? सुविधासम्पन्न बाटोघाटो, व्यवस्थित यातायात व्यवस्थापन, यात्रुलाई आवश्यक हुने आधारभूत सुविधा हुन् । यी सबै कुरा भाषणमै सीमित छन् । सडकमा अलपत्र परेका आमाबाबु, बिरामी, विद्यार्थी र जागिरे र कामकाजीहरू सबैको पीडा एकै हुन्छ— सरकारले बडा दसैँमा पनि आफ्ना नागरिकलाई बेवास्ता गरेको आभास ।

गाउँ फर्किने बाटो भौतिक सडक मात्र होइन, त्यो हाम्रो आत्माको बाटो हो, जसलाई सहज र सुरक्षित बनाउन राज्य र समाज दुवै जिम्मेवार छन् । यात्रुको बिजोगलाई नियाल्ने मात्र होइन, समाधान गर्ने दिन कहिले आउला ?

त्यसमाथि टिकटको कालोबजारीको अर्को पीडा । चाडपर्व नजिकिँदा घर फर्किने उत्साहलाई व्यापारीकरण गर्नेहरूको स्वार्थी हात देख्दा मन खिन्न हुन्छ । मनसँगै मुटु पनि चिरिन्छ । आफ्नै गाउँ फर्किन पनि तोकिएको भाडा तिरेर टिकट पाइँदैन । अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता, अझै असमानताको अर्को चित्र हो । सहरमा सुविधाले थिचिएको जीवन र गाउँमा अभावले च्यापिएको जीवनबिचको खाडल अझै बिस्तारै चौडा भइरहेको छ ।

गन्तव्यमा पुग्नु मात्र यात्रा होइन, त्यो यात्रामा अनुभूति हुने समानता, सम्मान र सुरक्षाको चाहना पनि हो तर हाम्रो यात्रामा प्रायः आशा र निराशाको संघर्ष मात्रै पाइन्छ । पहिरोले रोकेको बाटोजस्तै हाम्रो विकास पनि अधुरा योजनामा, अपुरो ध्यानमा र असमानतामा कतै रोकिएको छ । दिउँसै अन्धकार छाएको महसुस हुन्छ ।

तथापि यसतर्फ सोच्न जरुरी छ, हामी सधैँ अलपत्र पर्न जन्मेका हौँ र ? गाउँ फर्किने बाटो भौतिक सडक मात्र होइन, त्यो हाम्रो आत्माको बाटो हो, जसलाई सहज र सुरक्षित बनाउन राज्य र समाज दुवै जिम्मेवार छन् । यात्रुको बिजोगलाई नियाल्ने मात्र होइन, समाधान गर्ने दिन कहिले आउला ?

गाउँ फर्किन नपाउँदा मनमा भारी हुने पीडा, बाटोमै रोकिनुपर्ने विवशता र असमानताले पोखिने आँसु— यी सबै नेपाली यात्रुको साझा कथा हुन् । यस कथामा आशा यति हो— कुनै दिन हाम्रो बाटोमा न पहिरोले रोक्नेछ, न कालोबजारीले घाँटी थिच्नेछ; गाउँको आँगनमा आमाको प्रतीक्षारत ‘आँखा’ मात्र हुनेछ ।

दसैँमा घर फर्किने रहर गाउँघर छोड्ने सबैको हुन्छ । दसैँ आउनुअघिको हरेक दिन एउटा विशेष प्रतीक्षाले भरिएको हुन्छ । मनमा एउटै मात्र धुन गुन्जिन्छ, ‘घर जाने ।’ दसैँको लामो बिदामा घर फर्कने त्यो खुसी आफैँमा एउटा उल्लासपूर्ण क्षण हो । सहरको कोलाहल र व्यस्तताबाट केही समयलाई भए पनि टाढा भएर आफ्नै जन्मघरको माटोमा पाइला राख्ने कल्पनाले नै मन ‘रोमाञ्चित’ हुन्छ ।

बसको टिकट हातमा परेपछि त्यो खुसी अझ बढ्छ । दसैँमा गन्तव्यसम्म समयमै पुग्नु र सुरक्षित यात्रा गर्नु आफैँमा ठुलो सफलता हो । बसपार्कमा मान्छेको सागर देख्दा लाग्छ, यो सहरका सबै मान्छे एकैपटक घर फर्किंदै छन् । सबैको अनुहारमा एउटै भाव झल्किन्छ, त्यो हो— घर पुगेर चाडपर्व मनाउने आतुरता । कोही आफ्ना परिवारलाई भेट्न त कोही साथीभाइसँग गफ गर्न । सबैको हातमा कोसेलीका पोका, झोला र लगेजहरू हुन्छन् । ती झोलामा कपडा मात्र हुँदैनन्, त्यहाँ वर्षभरि कमाएको माया, सम्झना र आफन्तलाई दिने खुसी पनि लुकेका हुन्छन् ।

कतिपयलाई बसको छतमै यात्रा गर्नुपर्ने अवस्था पर्दा पनि मनमा एउटै धुन बजिरहन्छ, ‘घर पुग्ने हो, आमाबाबुको अनुहार देख्ने हो, आँगनमा दसैँको टीका लगाउने हो ।’

जब बस आफ्नो गन्तव्यतिर हुइँकिन्छ, सहरका अग्ला घर र सिमेन्टका जंगलहरू पछाडि छुट्दै जान्छन् । गाडीको झ्यालबाट देखिने हरिया डाँडाकाँडा र खोलानालाले मनलाई छुट्टै शान्ति दिन्छन् । बाटामा पर्ने स–साना बजारहरूसम्म दसैँको रौनक पुगिसकेको देख्न सकिन्छ । मनमा एउटै डर हुन्छ, यो भिडभाडमा आफूसँग भएको कोसेली पो हराउने हो कि ! विशेषतः आफन्तका लागि लगेका ती साना–साना कोसेलीका पोकाहरू । ती पोकाहरू सामान होइनन्, ती त ‘प्रेम र वात्सल्यका प्रतीक’ हुन् ।

अन्ततः जब बस गाउँको बाटो हुँदै घर नजिक पुग्छ, मनको धड्कन तीव्र गतिमा चल्न थाल्छ । आँगनमा आफन्तहरू भेट्न आउने प्रतीक्षा र उनीहरूको अनुहारमा देखिने खुसीको कल्पनाले नै मन प्रफुल्ल हुन्छ । बाटोभरि आँखा बिछ्याएर पिँढीमा बसिरहेका आफन्त हर्षविभोर हुन्छन् । दसैँमा घर जानु भनेको ‘यात्रा’ मात्र होइन, यो त भावनात्मक ‘पुनर्मिलन’ र ‘आत्मीयताको उत्सव’ पनि हो । यसले हामीलाई हाम्रो आफ्नै प्यारो जन्मथलोसँग जोड्छ । जिन्दगीलाई नयाँ ऊर्जाले भरिदिन्छ । सांस्कृतिक पर्व दसैँको यही यात्राले नै दसैँलाई ‘खास’ बनाउँछ ।

चाडपर्वको कुरा गर्दा मनमा सबैभन्दा पहिले दसैँको झझल्को नै आउँछ । सहरको कोलाहलपूर्ण दैनिकीबाट मुक्ति पाएर गाउँघरको माटोमा फर्किने रहरले मन प्रफुल्लित हुन्छ । दसैँको बिदा सुरु हुनासाथ मनभित्र एउटा छुट्टै किसिमको उमङ्ग भरिन्छ, जुन घर फर्कने हतारोसँगै बढ्दै जान्छ ।

बसपार्क पुग्दा नै दसैँको रौनक सुरु भइसकेको हुन्छ । दसैँका लागि घर फर्कन आतुर मान्छेहरूको भिड देख्दा यात्राको थकाइ पनि क्षणभरमै बिर्सिइन्छ । गाडी गुड्दै जाँदा अग्ला–अग्ला भवनहरू, ट्राफिक जाम र धुवाँधुलोबाट टाढिँदै हरियाली पहाड, स्वच्छ हावा र कलकल बग्ने खोलाको नजिक पुग्दा मन आनन्दित हुन्छ । उकाली–ओराली र भञ्ज्याङहरू छिचोल्दै जाँदा गाडीको झ्यालबाट देखिने दृश्यले थप ऊर्जा दिन्छ ।

लामो यात्रापछि गाउँ नजिक पुगेर उकालीको वर–पिपल देख्दा मनमा शीतलताको अनुभूति हुन्छ । त्यहीँ रुखमुनि थकाइ मार्दै गर्दा लिङ्गेपिङ देखेपछि बाल्यकालको सम्झना स्वतः ताजा हुन्छ । साथीभाइसँग मिलेर पिङ खेल्ने र रमाइलो गर्ने रहरले मनमा नयाँ उत्साह भरिन्छ । खेतका गराहरूमा सुनजस्तै झुलेका धानका बालाहरू देख्दा प्रकृति आफैँले दसैँको स्वागत गरेजस्तो लाग्छ । ती बालाहरूसँग लुकामारी खेल्ने र तिनको स्पर्शले आफूलाई गाउँको माटोमा पूर्ण रूपमा समाहित भएको महसुस हुन्छ ।

जब घर पुगिन्छ, परिवारसँगको भेटघाटको खुसीले मन गद्गद् हुन्छ । आमा, बुबा, दाजुभाइ, दिदीबहिनी र आफन्तको न्यानो मायाले यात्राको सबै थकाइ बिर्सिइन्छ । पुराना साथीभाइहरूसँगको भेटघाटले नयाँ ऊर्जा मिल्छ र विगतका रमाइला दिनहरूको सम्झना गर्दा समय बितेको पत्तै हुँदैन । अग्रजहरूसँगको चिनाजानी र भलाकुसारीले संस्कृति र परम्पराबारे थप जानकारी मिल्छ ।

दसैँ एउटा चाड मात्र होइन; यो घर, परिवार र आफन्तको न्यानो मायामा लुटपुटिन पाइने ‘अवसर’ पनि हो । यो पर्वले हामीलाई हाम्रो जड र संस्कृतिसँग जोड्छ । गाउँघरको वातावरणमा घुलमिल हुँदा र आफन्तजनको मायामा रम्दा जीवनमा सबैभन्दा ठुलो खुसी यही हो भन्ने महसुस हुन्छ । दसैँ मनाएर फेरि सहर फर्कने बेलामा मन ‘खिन्न’ हुन्छ, तर फेरि अर्को दसैँको प्रतीक्षा गर्ने रहरले मनमा एउटा आशाको ‘दियो’ बलिरहेकै हुन्छ ।

दसैँ आउनासाथ देशैभरिका बाटाहरू व्यस्त हुन्छन् । आकाशमार्ग उड्ने जहाजदेखि सडकमा गुड्ने बस, माइक्रो र जिप सबै घर फर्कने यात्रुहरूले भरिन्छन् । सहरका सडकहरू खचाखच हुन्छन्, बसपार्कहरूमा टाउकोमाथि टाउको भिड्छ, टिकट पाउने भाग्यमानीलाई त राहत हुन्छ, तर भाग्य नभएकाहरूलाई कतिपय रातभरि लाइनमै उभिनुपर्ने बाध्यता पर्छ ।

यसपालि त झन् त्यो सास्ती झनै चुलिएको छ । कतै बाटो भासिन्छ, कतै पहिरोले रोकेको हुन्छ । कतै पुल भत्केर यात्रुहरूलाई जोखिम मोलेर खोल्सो तर्नुपर्ने हुन्छ । कहिले दुर्घटनाको अप्रिय खबरले शोकको वातावरण निम्त्याउँछ । अनि सहरका टिकट काउन्टरमा दलालहरूको दादागिरी, कालोबजारीको चटारो यी सबैले यात्रुलाई पीडामाथि पीडा थपिदिन्छ ।

घर फर्किने मानिसको मन भने उस्तै हुन्छ । भिडमा धकेलिँदै, पोकोपन्तेरोलाई पिठ्यु र काखीमा च्याप्दै, पसिनाले निथ्रुक्क भिज्दै । कतिपयलाई बसको छतमै यात्रा गर्नुपर्ने अवस्था पर्दा पनि मनमा एउटै धुन बजिरहन्छ, ‘घर पुग्ने हो, आमाबाबुको अनुहार देख्ने हो, आँगनमा दसैँको टीका लगाउने हो ।’ 

यति मिठो आशाले नै दसैँमा पीडाभन्दा पर उठाएर बोक्छ । सास्तीलाई बिर्साएर गन्तव्यतिर हिँडाउँछ ।

यद्यपि बाटामा देखिने दृश्यहरू भने कहालीलाग्दा पनि छन् । थाकेका बालक आमाको काखमै निदाउँछन्, बुढाबुढी लट्ठी समाएर लामो लाइनमा ठिङ्ग उभिन्छन् । कसैको हातमा भारी झोला, कसैको काँधमा घिस्रिँदो बोरा । बमन गर्ने कोही, कोही धुम्रपान र मध्यपानमा आनन्द लिइरहेकाहरू । यद्यपि सबैको आँखामा एउटै चाहना प्यारो ‘घर’ पुग्ने नै हुन्छ ।

यसपालिको दसैँमा घर फर्किनेहरूको उस्तै सास्ती ! त्यो सास्तीभित्र पनि गहिरो माया । आफ्नो गाउँ, आफ्नो आँगन, आफ्नो परिवारप्रतिको माया । दसैँ भनेको फूलपाती, टीका र जमरासँगै घर फर्किन खोज्ने हजारौँ हृदयको ‘धड्कन’ पनि हो ।

यात्राको पीडामै दसैँको आनन्द खोज्दै, पसिनामै घरको सम्झना पोत्दै, उनीहरू हजारौँ बाधा र अवरोध चिरेर अघि बढिरहेका हुन्छन् । दसैँमा बाटोघाटोको पीडा, टिकटको सास्ती र अलपत्र पर्दाको अवस्था सबैलाई गाउँको तिर्सनाले बिसाइदिन्छ । आखिर ती सबै सास्ती पनि सुन्दर हुन्छ । यात्राको अन्त्यमा बुबाआमाको हातले आफ्नो निधारबाट रातो टीका र पहेँलो जमरा लगाइन्छ । घरको आँगनमा चिरपरिचित माया घामझैँ झल्किन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप