बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रस्रव

रमा शर्मा : बुवाको विरासत थाम्दै, भाषा–साहित्यको उन्नयनमा रमाउँदै

शनिबार, १८ असोज २०८२, १६ : ४८
शनिबार, १८ असोज २०८२

सारांश

  • रमा शर्माले आफ्नो बाल्यकाल र साहित्यिक जीवनबारे अनुभव सुनाइन्।
  • उनले नेपाली शिक्षा परिषद्को अध्यक्षको रूपमा काम गरिरहेकी छिन्, जहाँ उनी दैनिक रूपमा समय बिताउँछिन्।
  • शर्माले आफ्नो जीवनमा शिक्षा र साहित्यमा योगदान पुर्‍याइन्, तर उनले पीएचडी पूरा गर्न सकिनन्।

काठमाडौँ । ‘मैले २०१६ सालतिर लेखेको कविताको कापी अहिले पनि छ । आज तपाईंलाई भेट्न आउँदा त्यो कापी ल्याउँछु भन्ने सोचेकी थिएँ तर भुसुक्कै बिर्सिएँछु,’ रमा शर्मा (जन्म: १९९९ साउन ३२) ले भनिन्, ‘कविता त थुप्रै थिए तर त्यतिबेला संग्रह निकाल्नुपर्छ वा आफ्ना सिर्जना पत्रिकामा छपाउनुपर्छ भन्ने नै भएन ।’

८३ वर्षीया शर्माले कुराकानीका लागि हामीलाई आफ्नै कार्यालयमा समय दिएकी थिइन् । अहिले उनी आफ्ना पिता गोपाल पाँडे ‘असीम’ले स्थापना गरेको ‘नेपाली शिक्षा परिषद्’मा अध्यक्ष छन्, जहाँ उनी दिनमा एकछिन भए पनि घर (डल्लु)देखि ट्याक्सी चढेर पुग्छिन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसानपछि उनले यो संस्थाको जिम्मेवारी आफ्नो काँधमा लिएकी हुन् ।

‘नेपाली शिक्षा परिषद्’ २००८ सालमा स्थापित भएको हो, यसको स्थापना गर्नुपर्ने माग र आवाज भने शर्माका बुवाले २००२ सालदेखि नै गर्दै आएका हुन् । त्यतिबेला शिक्षामा अंग्रेजी भाषाको बढ्दो प्रभाव थियो । राष्ट्रभाषाको विकास नभई देशको विकास हुन सक्दैन भन्ने बुझाइ र विश्वासमा उनका पिता थिए । फलतः सात सालको क्रान्तिपछि नेपाली शिक्षा परिषद् स्थापना हुन गयो । यस परिषद्ले नै भानुजयन्ती र मोती जयन्ती मनाउन सुरु गरेको शर्मा बताउँछिन् ।

‘असीम’ले १९९७ सालमा ‘ह्रस्वदीर्घ आदिको सवाई’ पुस्तक लेखेर नेपाली भाषा र साहित्यको विकासमा चासो, चिन्ता र चिन्तन देखाएका थिए । उनै पिताकी जेठी छोरीका रूपमा काठमाडौँको प्याफल टोलमा जन्मेकी शर्माले अध्ययन र लेखनमा खासै संघर्ष गर्नुपरेन । शर्माका पिता शिक्षक, त्यसमाथि शर्माकी हजुरआमा र आमा दुवै नै साक्षर । यस पृष्ठभूमिले गर्दा उनले जीवनमा एमए (नेपाली) गर्ने अवसर पाइन् । उनको जीवनको अधिकांश समय शिक्षण पेसामा बित्यो— आठ वर्ष (२०१९–२०२७) स्कुल र ३९ वर्ष (२०२५–२०६४) त्रिभुवन विश्वविद्यालय (आरआर क्याम्पस) पढाइन्, सहप्राध्यापक पदबाट सेवा निवृत्त भइन् । 

२०१९ सालको गोरखापत्रमा ‘मोतीराम भट्ट एक परिचय’ शीर्षकको आलेख प्रकाशन गरेर रमा नेपाली भाषा–साहित्यको उन्नयनमा लागेकी थिइन् । पछि (२०५० सालमा) आएर उनले मोतीराम भट्टसम्बन्धी अन्वेषण कृति ‘मोतीराम परिक्रमा’ प्रकाशन गरिन् । यस कृतिको भूमिकामा उनको भनाइ छ, ‘विभिन्न स्वनामधन्य साहित्यकारहरूको प्रवेश घरमा भइरहन्थ्यो । यस्तै वातावरणले पारेको प्रभावले र बुवाको पनि इच्छाले मलाई पनि नेपाली विषयप्रति आकर्षित तुल्यायो अनि यसैलाई आफ्नो अध्ययनको केन्द्रविन्दु मान्न पुगेँ ।’

शर्माका आजसम्म ६ कृति प्रकाशित छन् । उनको पहिलो प्रकाशित कृति भने पाठ्यपुस्तक हो, महेन्द्रमाला भाग २ (२०२९) । ‘खाद्य विज्ञान’ (२०३२) पुस्तकमा उनको सहलेखन रहेको छ । यसपछि समालोचना संग्रह ‘केही चिन्तन’ (२०४८), ‘महाकवि गुणराजका कृतिमा पाइने भक्तिका विविध पक्षहरू’ (समालोचना, २०५०) र संस्मरण संग्रह ‘भावनाका थुँगाहरू’ (२०६२) उनका उल्लेखनीय कृति हुन् । यस्तै उनको सम्पादनमा आजसम्म २७ कृति प्रकाशित छन् ।   

गोपाल पाँडे ‘असीम’की जेठी छोरीका रूपमा काठमाडौँको प्याफल टोलमा जन्मेकी शर्माले अध्ययन र लेखनमा खासै संघर्ष गर्नुपरेन । शर्माका पिता शिक्षक, त्यसमाथि शर्माकी हजुरआमा र आमा दुवै नै साक्षर ।

१२–१३ वर्षको उमेरमै रमाको बिहे हुन लागेको थियो । त्यो जमानामा रजस्वला हुनुअघि नै छोरीको बिहे गरिदिने चलन थियो । बिहेको कुरा चलिरहेकै बेला उनी महिनावारी भइन् । त्यतिबेला पहिलोपटक महिनावारी हुँदा २१ दिनसम्म लुकाउने चलन थियो । छिमेकीले थाहा नपाउन् भनेर पनि उनलाई विशेष रुपमा लुकाइएको थियो । बिहेअघि नै उनी महिनावारी भएकामा उनका आमा–हजुरआमाहरू दुःखी भए । सानै उमेरमा हुन लागेको बिहे रजस्वलाका कारण टरेपछि शर्माले बिहेको हतारो गर्नुपरेन । अन्ततः उनले २८ वर्षको उमेरमा बिहे गरिन् । उनका श्रीमान् नागरिक उड्डयन प्राधिकरणमा सहसचिव थिए । 

WhatsApp Image 2025-09-26 at 12.55.22

जान्ने–बुझ्ने भएसँगै रमाले पिताका किताब पढ्न थालेकी हुन् । कहिलेकाहीँ पिताले उनलाई आफूले लेखेका कविता अर्को कापीमा सार्न दिन्थे, यसो गर्दागर्दै आफूमा साहित्यको लत बसेको उनी सुनाउँछिन् । उनको घरमा साहित्यकारको जमघट भइरहन्थ्यो । विशेषतः कवि तथा गीतकार नीरविक्रम प्यासी उनको घरमा आइरहन्थे । उनी घरको छिँडीबाट छिरेदेखि नै उनको झ्याउरे भाकाका कविता घरभरि गुञ्जिन्थ्यो । त्यही देखेर आफूलाई पनि कविता लेख्ने रहर जागेको रमा बताउँछिन् । 

जीवनमा खुलेर विद्रोह गर्नुपर्ने क्षण भने उनको जीवनमा आएन । आफूले मौन विद्रोह मात्रै गरेको उनले सुनाइन् । रमाको इच्छा थियो— कुनै विषयमा नेपालकी पहिली महिला कहलिने । अहिलेसम्म कसैले नगरेको काम गर्ने र नाम बनाउने । यसो हुन नसकेकामा पहिला त उनलाई पछुतो लाग्थ्यो तर जीवनको यो क्षणमा उनी हरेक कुरालाई सहजताका साथ लिइरहेकी छिन् ।  

रमाले पीएचडी पनि पूरा गर्न सकिनन् । पीएचडीका लागि आवेदन दिएपछि स्वीकृत पनि भएको थियो तर परिस्थितिवश संस्थाको जिम्मा पनि उनको काँधमा आयो । अनि उमेर ढल्कँदै गइरहेकी सासु अनि घर–परिवारको जिम्मेवारी पूरा गर्दागर्दै पीएचडीका लागि समय दिन सकिनन् । ‘सुरुसुरुमा पीएचडी गरेर डाक्टर लेख्ने रहर थियो कि ?’ उनी आफैँसँग प्रश्न गर्छिन् । 

पछिल्लो समय रमा नेपाली शिक्षा परिषद्मै व्यस्त छन् । यसकै काम तथा कार्यक्रममा उनको अधिकांश समय बित्ने गरेको छ । 

अचेल बिहान उठेर खुट्टाका लागि केही व्यायाम गर्छिन्, पूजाआजा गर्छिन् । बाहिरका गतिविधि थाहा पाउन घरीघरी सामाजिक सञ्जाल चलाउँछिन् । ‘सामाजिक सञ्जाल हेर्न थालेपछि हेरेको हेर्‍यै भइन्छ । त्यसैले बिहान १०–११ बजे अगाडि सकेसम्म मोबाइल छुन्नँ, जरुरी फोन त उठाउनैप¥यो,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ युट्युबमा पनि समाचार, आलोचना तथा प्रत्यालोचना हेर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप