डा. अमर गिरीका तीन कविता
१) ठेला
हातमा ठेला परेका मानिस
प्रिय लाग्छन्
नजिक गएपछि
उनीहरूका हात चुम्छु
ठेलाहरू निहार्छु
हेर्छु समग्र शरीर
ठेलाबाट झरेर बिउ
उम्रिरहेझैँ लाग्छ जमिनमा
सिर्जना भइरहेझैँ लाग्छ
एक नयाँ रचना
उपस्थित भइरहेझैँ लाग्छ
एक नयाँ दृश्य
हावामा बहिरहेझैँ लाग्छ
सिर्जनाको मिठो सुगन्ध ।
सुन्दर गाउँ, सुन्दर सहर
सुन्दर भवन, सुन्दर सडक
सुन्दर पार्क, सुन्दर स्मारक
सुन्दर खेत–खलियान, सुन्दर बगैँचा
अद्भुत नहर, अद्भुत खेल मैदान
अद्भुत पुल, अद्भुत मूर्ति
ठेलाको कालिगडी छ सबैमा
सबैबाट प्रस्फुटित भइरहेछ
विलक्षण सौन्दर्य
र धर्ती
अभूतपूर्व आभासहित मुस्कुराइरहेछ ।
ठेला रचना हो
कविताजस्तै, गीतजस्तै
कथाजस्तै, उपन्यासजस्तै
निबन्धजस्तै, नाटकजस्तै
संगीतजस्तै, चित्रजस्तै
ठेला विम्ब, ठेला प्रतीक
ठेला अलङ्कार ठेला रस
ठेला ध्वनि, ठेला वक्रोक्ति
ठेला लक्षणा, ठेला व्यञ्जना
ठेला स्रष्टा, ठेला आविष्कारक
ठेला यात्रा, ठेला गन्तव्य
ठेला उद्देश्य, ठेला उपलब्धि
जस्तासुकै होउन् ठेला परेका हातहरू
प्रिय लाग्छन् ।
ठेला जीवन, ठेला अस्तित्व
ठेला स्वाभिमान, ठेला आत्मसम्मान
ठेला गरिमा, ठेला सौन्दर्य
ठेला भूत, वर्तमान र भविष्य
के तपाईं ठेलाविना
संसारको कल्पना गर्न सक्नुहुन्छ ?
ठेला हातमा मात्र होइन
मस्तिष्कमा पनि पर्छ ।
००
उहिलेजस्तै अहिले पनि म हिँडिरहेका मानिस र उडिरहेका चरा हेर्छु फरक यत्ति छ उहिलेजस्तो अहिले तानेर कोठाभित्र लैजाने आमा छैनन्
- २) नदी र म
गतिले आह्लादित बनेँ
वेगले रोमाञ्चित भएँ
ऊ बगेजसरी बग्न खोजेँ
लय खोजेँ उसको जस्तै
घाम ओढेर दिवसमा
अँध्यारो ओढेर रातमा
ऊजस्तै हिँडिरहन खोजेँ
फोहोरहरू बगाउँदै उसले जस्तै
सफा गर्दै
आफूभित्रका विकारलाई
पवित्र हुन खोजेँ ।
नदी मेरा निम्ति
अविराम हिँडाइ
स्वप्न–सङ्घर्ष
हृदयमा नदी छ मेरो
रगत र मस्तिष्कमा नदी छ
नदी भएकैले मभित्र
जीवित छु आजसम्म
गाइरहेछु वर्षौंदेखि-
जीवन नदी
नदी जीवन
यही गीतमा गरिरहेछु
जीवनको उकाली–ओराली
गुनगुनाउँदै यही गीत
केही कोरिरहेछु
जीवनको क्यानभासमा
सत्यं, शिवं, सुन्दरं गाइरहेछु ।
००
- ३) हिँडिरहेका मानिस, उडिरहेका चरा
हिँडिरहेका मानिस मनपर्छन्
मनपर्छन उडिरहेका चरा
सानो छँदा उभिएर आँगनमा
हिँडिरहेका मानिस हेरिरहन्थेँ म
पर धेरै पर पुगुन्जेलसम्म
उडिरहेका चरासँगै
उडिरहेको हुन्थेँ आकाशमा
आमा रिसाउँथिन् कहिले
कहिले छक्क पर्थिन्
र तानेर लैजान्थिन् घरभित्र ।
सुन्दर फूलहरूभन्दा सुन्दर
सङ्ला र गतिवान् नदीहरूभन्दा सुन्दर
हरिया पहाड र उत्तुङ्ग हिमशिखर
रमणीय फाँट र मनमोहक टाकुरा
यी सबैभन्दा सुन्दर
हिँडिरहेका मानिस लाग्छन्
उडिरहेका चरा लाग्छन्
लाग्छन् उनीहरूका स्वप्नहरू ।
उहिलेजस्तै
अहिले पनि म
हिँडिरहेका मानिस र
उडिरहेका चरा हेर्छु
फरक यत्ति छ
उहिलेजस्तो अहिले
तानेर कोठाभित्र लैजाने आमा छैनन्
अरु सब यथावत् चलिरहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण