बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल

शनिबार, १८ असोज २०८२, २० : २७
शनिबार, १८ असोज २०८२

सारांश

  • प्रचण्डले देशभर भइरहेको वर्षा र विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट हुन निर्देशन दिएका छन्।
  • उनले खोज, उद्धार र राहतका काममा लाग्न पार्टीका नेता-कार्यकर्ता, स्वयंसेवक समूहलाई आह्वान गरेका छन्।
  • प्रचण्डले वर्षाले बागमती, मधेस र कोशी प्रदेशमा पारेको प्रभावबारे उल्लेख गर्दै उद्धार र राहतका कार्यमा जुट्न आग्रह गरे।

काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै पार्टीका नेता-कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा भातृ संगठनहरूलाई खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका हुन्। उनले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएको जनाएका छन्।

प्रचण्डले असोज १७ गतेदेखि सुरु भएको वर्षाले बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगमा पहिरो र तराईमा डुबानको समस्या तीव्र रूपमा बढाउने देखिएको औँल्याएका छन्।

सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको खान बस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय निकाय र नागरिकलाई सहयोग गर्न आग्रह गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न अनुरोध गरेका छन्।

साथै, उनले सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई आपसी मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न विशेष अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप