शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

दुई हिंस्रक महाशक्तिको चपेटामा परेको संसार

ट्रम्पको निरन्तरको गल्तीका लागि सी जिनपिङले प्रत्येक दिन उनलाई धन्यवाद दिए हुन्छ
आइतबार, १९ असोज २०८२, १० : ५७
आइतबार, १९ असोज २०८२

सारांश

  • ट्रम्पको दोस्रो कार्यकालले विश्वमा परिवर्तन ल्याएको छ, जसले लामो समयसम्म प्रभाव पार्न सक्ने देखिन्छ।
  • अमेरिकाले अन्य लोकतान्त्रिक मुलुकसँगको सम्बन्धमा भिन्नता देखाउँदै, घरेलु एजेन्डा निर्यात गर्ने नीति लिएको छ।
  • ट्रम्पको नीतिका कारण साझेदार राष्ट्रहरूलाई अधीनस्थ बनाउने र चीनको प्रभाव बढ्ने सम्भावना रहेको छ।

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले संसारमा धेरैथोक फेरिदिएको छ । ट्रम्प र उनको टोलीले चलाइरहेको अमेरिकी प्रशासन तथा त्यहाँको सर्वोच्च अदालतले सिर्जना गर्दै गरेको व्यवस्था अझै लामो समय टिक्ने छाँटकाँट देखिँदैछ । लामो समय टिक्न नसकेकै अवस्थामा पनि यसले संसारमा ठुलै फेरबदल ल्याएरमात्रै बिदा हुने देखिन्छ ।

तत्काल रोकिएकै अवस्थामा पनि त्यो फेरि दोहोरिन सक्छ भन्ने त्रास कायमै रहनेछ । यसले आगामी दिनबारेको बुझाइ पनि सोही अनुकूल फेरिदिन्छ । संसारको भविष्य के हुन्छ भन्ने कुरामा अमेरिकाको मात्रै हात पक्कै हुँदैन । चीन पनि महाशक्ति हो । चीनले आगामी दिनमा कस्तो भूमिका खेल्छ भन्ने पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।

हाम्रो चर्चाको सुरुवात अमेरिकाबाटै गरौँ । अमेरिका लगायत अन्य लोकतान्त्रिक मुलुक आपसमा समान मूल्य–मान्यता साझा गर्ने गरेको ठान्ने गर्थे, तर अहिलेको अमेरिका भने त्यस्तो छैन । उसले प्रस्ट रूपमा आफू फरक भएको देखाएको छ । यसैकारण पनि अमेरिकासँग सम्बन्ध राख्न असहज हुँदै गएको छ । युरोपेली संघको वैदेशिक मामला परिषदमा आबद्ध सेलिया बेलिनका अनुसार अमेरिकाका लागि विदेश नीति भनेको ‘आफ्नो घरायसी एजेण्डाको निर्यात गर्नु हो ।’

उनी थप्छिन्, ‘ट्रम्प र उनका समूहले घरायसी र वैदेशिक दुवै मामलामा उही तीन वटा तरिका अपनाइरहेका छन्– ‘हालको अवस्था उन्मुलन गर्ने, त्यसमा रुपान्तरण गर्ने र अधिनस्थ बनाउने ।’

अमेरिकाभित्र उनीहरू ‘डिप स्टेट’को उन्मुलन गर्न खोज्दैछन् । उदार अमेरिकालाई राष्ट्रवादी अवतारमा फेर्न लागेका छन् । अमेरिका बाहिर उनीहरू आफ्ना साझेदारसँगको गठबन्धन तथा अन्य अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उन्मुलन गर्दै साझेदार मुलुकलाई अधिनस्थ मुलुकमा रुपान्तरण गर्न खोज्दैछन् ।

अमेरिका लगायत अन्य लोकतान्त्रिक मुलुक आपसमा समान मूल्य–मान्यता साझा गर्ने गरेको ठान्थे तर अहिलेको अमेरिका त्यस्तो छैन । उसले प्रस्ट रूपमा आफू फरक भएको देखाएको छ ।

अमेरिकाले राखेका यस्ता आकाङ्क्षा बाँकी संसारका अधिकांश मुलुकका लागि घातक छन् । त्यतिमात्रै नभएर अमेरिकाका आकाङ्क्षा आफ्नै लागि पनि मुर्खतापूर्ण छन् । पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका प्रमुख आडम पोसेने फरेन अफेयर्स पत्रिकामा यस्तै धारणा सहित ‘द न्यु इकोनोमिक जियोग्राफी’ शीर्षकमा लामो लेख प्रकाशन गरेका छन् । उनका अनुसार दोस्रो विश्वयुद्धपछिको अवस्थामा अमेरिकाले अन्य मुलुकलाई सबै प्रकारका जोखिमविरुद्ध सुरक्षाको प्रत्याभूति दिलाएको थियो ।

यसो गर्दा अमेरिका आफैँले मात्रै खर्च गर्नुपरेको पक्कै थिएन । अन्य मुलुकले अमेरिकामा लगानी गरेका थिए । आफ्नो अर्थतन्त्र अमेरिकी लगानीकर्ताका लागि खोलिदिएका थिए । अमेरिकालाई सस्तोमा पैसा दिलाएका थिए । अमेरिकी डलरलाई वैश्विक मुद्रा बनाएका थिए । साथै अमेरिकी पुँजी बजारलाई विश्वको वित्तीय केन्द्र बनाएका थिए । त्यसैले यो समग्र प्रक्रिया आपसी फाइदाकै सम्झौता थियो ।

अहिले ट्रम्प भने अमेरिकालाई सबैले लुटेको भन्दै रोइ–कराइ गर्दैछन्, तर तथ्यले फरक देखाइरहेको छ । सन् १९५० देखि २०२० सम्ममा विश्वको प्रतिव्यक्ति वास्तविक कुल गार्हस्थ उत्पादनमा ३ सय ६० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा अमेरिका संसारको सबैभन्दा धनी तथा प्राविधिक रूपमा पनि सबैभन्दा उन्नत अर्थतन्त्रका रूपमा निरन्तर कायम छ । यसरी हेर्दा अमेरिका लुटिएको पटक्कै देखिँदैन ।

तर विडम्बना नै भन्नुपर्छ, ट्रम्पले अहिलेसम्म चल्दै आएको बृहत् सम्झौता तोडेका छन् । हामी धेरै यस्ता सम्झौता प्रस्तुत भएको देख्दैछौँ जुन अविश्वसनीयमात्रै नभएर परपीडक पनि छन् । आफूलाई अमेरिकाको मित्र ठान्ने मुलुकहरूलाई व्यापक भन्सार महसुल लगाइएको छ । त्यतिमात्रै नभएर आफ्ना साझेदार मुलुकहरूलाई उनले जहाँ भन्छन्, त्यहीँ लगानी गर्न बाध्य बनाइरहेका छन् । यहाँ त विशुद्ध गुण्डागर्दी चल्दैछ ।

अमेरिकालाई विश्वास गरेर अघि बढ्दा धेरै मुलुक अमेरिकासँग अन्तर्निर्भर थिए । केही मुलुक भने अमेरिकासँग बढी नै निर्भर थिए । त्यही निर्भरतालाई अमेरिकाले हतियार बनायो । हेनरी फारेल तथा अब्राहम न्यूमेनका अनुसार अमेरिकाले त्यसरी हतियार बनाउने काम सजिलै ग¥यो । दीर्घकालीन प्रकृतिको आपसी सम्बन्ध नबिग्रियोस् भन्नाका खातिर अमेरिकाले निर्भरतालाई हेपाहा शैलीमा प्रयोग गर्दा तथा नाकाबन्दीको प्रयोग गर्दा पनि मुलुकहरू सहेरै बसे । तर ट्रम्पले भने अन्तर्निर्भरतालाई सहयोगीहरूको घाँटी अठ्याउने अवसरका रूपमा हेर्न थाले । यसरी अहिले नितान्त भिन्न परिस्थिति सिर्जना भएको छ ।

यसबाहेक अरुले पनि यो खेलमा हात हाल्न सक्छन् । चीन त पहिलेबाटै लागेको छ । अमेरिका र चीनले अन्य मुलुकलाई कसरी चेपुवामा पार्दैछन् भन्नेबारे युरोपेली अर्थशास्त्रीहरू मोरेनो बेर्टोल्डि र मार्को बुटिले अनुसन्धान आलेख तयार गरेका छन् । जसमा ‘दोहनकारी’ तथा ‘निर्भरता’ जस्ता दुई फरक चरित्रका महाशक्तिहरूले कसरी युरोपलाई ठगेका छन् भन्ने देखाइएको छ । यी दुई चरित्रमा चीन पछिल्लो स्वरुपको मुलुक हो ।

चीनले पहिला निर्भरता सिर्जना गर्छ । बजारमा आफ्ना उत्पादनको बाढी ल्याएर यसले विश्व बजार तथा समष्टिगत अर्थतन्त्रमा असन्तुलन ल्याइदिन्छ । आफूले समर्थन गर्ने दावा गरेको नियममा आधारित व्यापार प्रणाली तथा विश्व व्यापार संगठनको घरेलु शिशु उद्योग संरक्षणको प्रावधानको दोहन गर्दै अन्य मुलुकमा शोषण गर्छ । ‘क्रिटिकल मिनिरल’लाई अन्य मुलुकहरूसँग सौदावाजीको हतियारका रूपमा लिने तथा ‘क्लिन इनर्जी’को आपूर्ति शृङ्खलामा नियन्त्रण कायम गर्ने कदमले जलवायु परिवर्तनसँग जुध्ने नीतिहरूलाई अप्ठ्यारोमा पारेको छ ।

युरोपेली संघको हकमा अमेरिकाको तुलनामा चीन भरपर्दो र विवेकी साझेदार हो । कम्तीमा यसले जालवायु परिवर्तनको यथार्थलाई अस्वीकार त गर्दैन ।

युरोपेली संघको हकमा यो प्रस्ट देखिन्छ । तथापि आजको अमेरिकाको तुलनामा भने चीन भरपर्दो र विवेकी साझेदार नै हो । कम्तीमा यसले जालवायु परिवर्तनको यथार्थलाई अस्वीकार त गर्दैन । यी हिंस्रक तथा परपीडक महाशक्तिहरूलाई चटक्कै छोडिहाल्न पनि अहिलेको संसारमा सम्भव छैन । यी दुई मुलुकले बजार मूल्यको आधारमा वैश्विक जीडीपीको ४३ प्रतिशत ओगट्छन्, तर तिनीहरूको विश्वव्यापी प्रभावलाई व्यवस्थापन गर्नका लागि कुनै न कुनै तरिका खोज्न आवश्यक भइसकेको छ ।

यस्तो समस्याको समाधान गर्ने एउटा तरिका ‘हेजिङ’ पनि हुन सक्छ । यसो गर्दा पहिलो घाटा अमेरिकालाई हुन जान्छ । किनकि यसका धेरै गठबन्धन छन्, तर पनि उसलाई त्यसमा धेरै चिन्ता छैन जस्तो बुझिन्छ । किनभने ठुला विश्वविद्यालयहरू, त्यहाँको वैज्ञानिक खोज, प्रतिभाशाली आप्रवासीहरूप्रतिको खुलापन तथा कानुनको शासनजस्ता आफ्ना मुख्य राष्ट्रिय सम्पदा सहर्ष विनाश गरिरहेको अमेरिकालाई खासै दुःख नहुने देखिन्छ । अहिलेको अमेरिका बेफिक्री प्रतीत हुन्छ ।

अझै पनि ट्रम्पलाई आफ्ना साझेदार मुलुकलाई दास बनाउन सकिन्छ भन्नेमा विश्वास छ । उनको व्यवहार त्यस्तै चलिरहेको छ । बेलायत त अधिनस्थ हुन तयार पनि भइसक्यो । ब्रेक्जिटको नाममा युरोपेली संघबाट बाहिरिएपछि बेलायतले यस्तो भोग्नु नै थियो । आफ्नै राष्ट्रिय सर्वभमिकता खोज्न लागेको बेलायत दास हुने बाटोमा पुग्यो । जापान, दक्षिण कोरिया र युरोपेली संघको हालत पनि धेरै फरक देखिँदैन ।

ट्रम्पलाई आफ्ना साझेदार मुलुकलाई दास बनाउन सकिन्छ भन्नेमा विश्वास छ । उनको व्यवहार त्यस्तै चलिरहेको छ । बेलायत त अधिनस्थ हुन तयार पनि भइसक्यो ।

मलाई यस्तो रवैया लामो समय टिक्छजस्तो लाग्दैन । अमेरिकाको नजिक रहेर पीडित हुन विवश मुलुकहरूले पक्कै पनि विकल्प खोज्नेछन् । त्यसले चीनको प्रभाव बढाउनेछ । यसै पनि अमेरिकाले भारत र ब्राजिललाई चीनको नजिक धकेलेको छ । ट्रम्पको निरन्तरको गल्तीका लागि सी जिनपिङले प्रत्येक दिन उनलाई धन्यवाद दिए हुन्छ । परिस्थिति यसरी नै अघि बढिरहने हो भने दुई महाशक्तिले विभिन्न मुलुकलाई एक–अर्काको विरुद्ध प्रयोग गर्ने सम्भावना हुन्छ । भारत र चीनले अब त्यस्तै व्यवहार गर्नेछन् ।

आफूलाई अमेरिकाको पाउमा अधिनस्थ पार्ने वा एक–अर्को महाशक्तिलाई जुधाउने बाहेक तेस्रो विकल्प पनि छ । अमेरिकाले मागा विचारधारा बोक्नु अगाडिको तुलनामा अब हामी थप गरिब, अस्थिर तथा बेसी जोखिमपूर्ण विश्वको सामना गर्दैछौँ । अन्य मुलुक अब स्वतन्त्र बाटो रोज्ने हिम्मत गर्नुपर्छ । अबका दिनमा स्वास्थ्य, जलवायु, सुरक्षालगायतका सार्वजनिक वस्तु (पब्लिक गुड्स) को व्यवस्थापनमा पनि स्वतन्त्र तरिका अवलम्बन गर्नुपर्छ ।

यसका लागि युरोपेली संघ तयार होला त ?

झट्ट सुन्दा काल्पनिक जस्तो लाग्न सक्छ, तर संसार धेरै अघि बढिसकेको छ । संसारमा अनौठा घटना भइसकेका छन् । त्यस्तो अवस्था नआउला भन्न सकिन्न ।

फाइनासियल टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मार्टिन वोल्फ
मार्टिन वोल्फ
लेखकबाट थप