जेनजी युवा विद्रोह र लिनुपर्ने शिक्षा
सारांश
- असोज २३-२४ गतेको युवा आन्दोलनको सुरुवात साधारण मागबाट भए पनि पछि षड्यन्त्रकारी तत्वहरूले गलत दिशा दिए।
- आन्दोलनलाई सुनियोजित रूपमा विखण्डनकारी बनाइएको थियो, जसमा बाह्य शक्तिहरूको संलग्नता देखियो र सुरक्षा निकाय मौन रहे।
- आन्दोलनको कारण र परिणामहरू, राजनीतिक दलहरूको भूमिका र बाह्य शक्तिहरूको स्वार्थबारे लेखकको विश्लेषण प्रस्तुत गरिएको छ।
असोज २३-२४ गतेको जेनजी युवाहरूको आन्दोलनको सुरुवात नितान्त साधारण र सीमित मागहरू थिए । जस्तो कि देशलाई ध्वस्त गरेको चौतर्फी चरम भ्रष्टाचार र सामाजिक सञ्जाल उपयोगबाट वञ्चित हुँदाको पीडा, असन्तुष्टि र आक्रोशको स्वाभाविक अभिव्यक्तिको रूपमा भएको थियो । तर युवा मनोविज्ञान, जेनजी पुस्ताको चाहना र जनताको असन्तुष्टिलाई दुरुपयोग गरेर सुरुकै दिनमा आन्दोलनलाई अर्कै दिशामा लागिएको थियो ।
यो योजना वा षड्यन्त्र जेनजी पुस्तालाई थाहै भएन । उनीहरूको चाहना र योजना पहिलो दिन त्यसरी प्रहरी ब्यारिकेड तोड्ने, संसद् भवनमा छिर्ने भन्ने थिएन । आन्दोलनमा जेनजीका नाममा नकावधारण गरेर भँडुवाहरू घुसेर आन्दोलनलाई उत्तेजक र अराजक हुने गरी भड्काएपछि रक्तपातपूर्ण अवस्था ल्याइयो । त्यसको आक्रोशस्वरुप उर्लेको जनविरोधलाई दोस्रो दिन पनि त्यसरी नै सुनियोजित रूपमा विध्वंसात्मक बनाउने सुनियोजित रूपमै दुष्प्रयास भयो । तत्पश्चात् पनि युवा पुस्ताको माग र मर्म अनि राष्ट्रको पुनर्निर्माण र सुशासनको आवश्यकता अनुसार होइन कि अरुकै इच्छा र योजनामै सरकार बनाउने र चलाउने दुस्साहस भैरहेकै लागेको छ ।
वास्तविकता पछिपछि पुष्टि होला ! हेर्दै जाऔँ र व्यक्तिगत, सामूहिक, साङ्गठनिक र संयुक्तरुपमा सक्दो खबरदारी समेत गर्दै जाऔँ । यो आन्दोलनलाई सही दिशा दिन र अग्रगामी परिवर्तनसम्ममा पुराउन कोसिस पनि गरौँ । यही नै अहिलेको हाम्रो देश, जनता र क्रान्तिप्रतिको दायित्वबोधको अभिव्यक्ति हो ।
स्मरणीय छ, फेसबुक आदि सामाजिक सञ्जाललाई दर्ता नगर्न शक्तिकेन्द्रहरूले निर्देशन दिई उक्साउने अनि यता दर्ता नगरी सञ्चालन गर्न नदिन सरकारलाई "सल्लाह" र ढाडस दिने गरेर यो असन्तुष्टि चुलिने स्थितिको सिर्जना गराउने काम तिनै बिदेसी तत्त्वहरूबाट भएको थियो । अनि त्यही चरम युवा असन्तुष्टिको अवसर छोपेर आफ्ना बारबरा फाउन्डेसन, युएस काउन्सिल र युरोपियन क्लबजस्ता एनजीओ, आईएनजीओ, स्कुल, संघसंस्था, ग्याङ र व्यक्तिविशेषहरुलाई सुनियोजितरुपमै परिचालित गरिएकै देखियो । उल्लेख्य छ कि २३ गतेको विरोध प्रदर्शनमा कयौँ प्राइभेट स्कुल/कलेजहरूका विद्यार्थीहरूलाई स्कुलबाटै युनिफर्ममै ब्यागसहित जान दिइएको/लगाइएको थियो ।
यसैबिच बालेन शाहका पूर्ववर्ती अभिव्यक्तिसँग मिल्दाजुल्दा आन्दोलनलाई भड्काउने अभिव्यक्ति र गतिविधिहरू पनि देखिए । यति मात्र होइन, त्यो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भनेर २३ गतेको आन्दोलनलाई दुरुपयोग गर्न राप्रपा र रास्वपा जस्ता सांसदवादी र राजावादी राजनीतिक दलले घोषित र खुला रूपमै दुस्साहस गरेका थिए भने अघोषित र गुप्त रूपमा आफूलाई अग्रगामी र क्रान्तिकारी बताउने साना-ठुला दलका केही कार्यकर्ताहरू समेत सचेत वा स्वतःस्फूर्त रूपमा आफ्नो आक्रोश शमन गर्दै केही गर्न सकिन्छ कि भनी सहभागी भएका थिए ।
फलस्वरूप यो विद्रोहलाई दमन गर्न पहिलो दिन त्यसरी गोली हान्ने आदेश दिन लगाउने र दोस्रो दिन आन्दोलन त्यसरी अराजक र विध्वंसक बन्दै गर्दा रमिते बनेर सुरक्षाकर्मीहरूलाई बस्न र लडाइबिना नै आत्मसमर्पण गर्न लगाइयो । देशका सरकारी तथा निजी सम्पदा र संरचनाहरू त्यसरी ध्वस्त पारिँदा तिनैको संरक्षण गर्नभनि जनताको खुन पसिनाबाट जम्मा भएको राज्यकोषबाट तलबभत्ता खाएर बसेका सुरक्षा संयन्त्र र सुरक्षाकर्मीहरु यसरी मूकदर्शक भएर बस्ने गरेको यो घटनाले त्यही दुखद विडम्बनापूर्ण षड्यन्त्रको सम्झना गराएको छ । जुन २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड गराई तुलनात्मक रूपले देशभक्त र उदार राजा वीरेन्द्र र उनको पूरै उत्तराधिकारी- सन्ततिको समेत हत्या गरिएको थियो ।
यसरी हत्या हुँदा पनि सुरक्षाको जिम्मा लिएको सेनाका तत्कालीन प्रधान सेनापति प्रज्वल शमशेर राणाले दरबारको सुरक्षाको अर्थात् आफ्नै परमाधिपतिको सुरक्षाको जिम्मा आफ्नो सेनाको नभएको लज्जास्पद जिकिर गरेका थिए । विचारणीय छ कि आज पनि राष्ट्रिय धरोहरलगायत देशको शासनसंचालनको मुख्यालय सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनजस्ता व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका शासकीय संरचना र सम्पदाहरू ध्वस्त पार्दा कुनै प्रतिरोध नगरेर हतियार समेत लुटेर लान दिइयो । यस्तै विध्वंसहरू देशव्यापी रूपमा मुख्यतः तराईमा हुँदा पनि सुरक्षाकर्मीहरूबाट कुनै प्रतिरोध भएन । तर जब गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिए तब सुरक्षा निकाय खास गरी नेपाली सेना सक्रिय भयो सरकार निर्माणका लागि । देशका कर्णधार युवा मारेर अनि राज्य सञ्चालनका केन्द्रदेखि वडासम्मका धेरैजसो संरचना, सम्पदा र पूर्वाधारहरू ध्वस्त पार्न दिने र त्यसपछि सरकार निर्माणको लागि सेनाको सक्रियतासम्मका हर्कतहरु अस्वाभाविक, अवाञ्छित, रहस्यमय र सन्देहास्पद समेत छन् ।
यसैगरी बूढा नेताहरूले युवालाई पार्टी सत्ता र राज्य सत्ताको हस्तान्तरण नगरेर पुस्तान्तरण नभएको र पार्टी र राज्यमा युवा पुस्ताले नेतृत्व नपाएर पार्टी र राज्य मतिहीन र गतिहीन भएको भन्दै "नो नट अगेन" को नारा दिँदै आएका युवाहरुहरुको प्रतिनिधित्व र नेतृत्व गरेर ७० वर्ष कटेकी पूर्व प्रधान न्यायाधीश समेत भइसकेकी वृद्धा सुशीला कार्की प्रधानमन्त्री बन्नु-बनाइनु विचित्रै भएको छ । युवाहरू, त्यसमा पनि १४-४० वर्षका होइन कि १३-२८ वर्षका जेनजी पुस्ताका युवाहरूको आन्दोलनले गर्दा विद्यमान संविधानभन्दा बाहिरबाट विद्रोहका कारण बनेको यो सरकारका हालसम्मका अन्य मन्त्रीहरु पनि ४० भन्दा माथिकै हुनु पनि एउटा विचित्र विडम्बनाको विषय भएको छ ।
सुशीला प्रधानमन्त्री भइसकेपछि उनलाई भारत, अमेरिका, दलाई लामा आदिले तत्कालै बधाई तथा शुभकामना दिनुले यो आन्दोलनमा सुनियोजित षड्यन्त्र भएकै हो कि भन्नेहरू पनि छन् ।
खास गरी नेपालको कालापानी क्षेत्रको सामरिक भूभाग, जहाँ सन् १९६२ देखि भारतले जबरजस्ती कब्जा गरेर सैन्य क्याम्प राखेको छ, यिनै ओली प्रधानमन्त्री भएको बेला विगतमा चुच्चे नक्सा संसदबाटै पास गरी संविधानकै अङ्ग बनाउनु एउटा कारण हो । अझ त्यहींबाट लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाएको र भारतले लिपुलेकलाई आफ्नो भूभाग भनी चीनसँग व्यापारिक नाका बनाउने सम्झौता गरेकोमा अहिले पनि ओली सरकारले नै विरोध जनाउनु दोस्रो कारण हो भन्ने देखिन्छ । फेरि यो भूभाग अमेरिकाको चीनलाई घेर्ने र फोर्ने रणनीतिको लागि पनि महत्त्वपूर्ण नाका भएकाले यहाँ उसको समेत आँखा गढेकोले यसमा भारतसँग अमेरिकाको पनि स्वार्थ मिलेकोले यसमाथि दाबी गर्ने ओली सरकारलाई तारो बनाउनमा भारत र अमेरिका दुवैको सहमति भएको हुन सक्ने स्पष्ट छ । उपरोक्त केही कारणले भारत नाखुस भएको थियो र अहिले पछिल्लो पटक ओली प्रधानमन्त्री भएपछि उनलाई भारत भ्रमणमा बोलाइएको थिएन । नेपालका प्रधानमन्त्री जो पनि पहिले भारत गएर मात्र अन्यत्र खास गरी चीन जाने प्रचलनका विरुद्ध ओली भारतको प्रतिद्वन्द्वी चीनमै गए ।
गएमात्रै होइन कि जीएसआईमा नेपाल पनि सहभागी हुने सहमति दिए अनि मुख्य कुरा त चीनको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वको सैन्य परेड प्रदर्शनीमा अमेरिका विरोधी शक्तिहरू रुस र उत्तर कोरियासँग काँधमाकाँध मिलाएर सीजिङ पिङसंग उभिएर आफू पनि एकताबद्ध भएको सन्देश दिए । यो कुरा पनि अमेरिका र भारतलाई अप्रिय लागेको भन्ने लाग्दछ ।
यसको अर्थ यो होइन कि जेनजी उमेर समूहका युवाहरूको माग, आन्दोलन र बलिदान गलत थियो । मतलब यो हो कि स्वच्छ भावना, पवित्र विचार र उच्च लक्षसहित सामान्य मागहरू लिएर गरिएको युवाविद्यार्थी विद्रोह र बलिदान सही, सान्दर्भिक, आवश्यक र महान् नै थियो । दुखद विडम्बना यो भयो कि यो विद्रोह साम्राज्यवादीहरूको सिकार भयो । यसबाट एउटा गम्भीर शिक्षा लिने कुरा यो हो कि सचेत, सङ्गठित र योजनाबद्ध विद्रोह मात्रै सफल र सार्थक हुन्छ, विजयी बन्छ र गन्तव्यमा पुग्छ । त्यसैले त्यस्तो जनविद्रोहको पूर्ण तयारी गरेर जानुपर्छ । अन्यथा स्वतःस्फूर्त विद्रोह र विस्फोटलाई गलत तत्त्वहरूले दुरुपयोग गरेर सकारात्मकभन्दा नकारात्मक परिणाम ल्याउन सक्ने खतरा आइलाग्न सक्छ ।
(यो लेखकको निजी विचार हो)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण