बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेन–जी आन्दोलन : नयाँ सोच, नयाँ बाटो

आइतबार, १९ असोज २०८२, १३ : १८
आइतबार, १९ असोज २०८२

नेपालको राजनीतिक यात्रामा हरेक पुस्ता आफूलाई परिवर्तनको अग्रदूत ठान्दै अघि बढ्यो, तर परिणाम सधैँ पुरानै संरचना, पुरानै चालचलन र पुरानै पात्रको पुनरावृत्तिमा सीमित रह्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणाशासनको अस्तित्व त मेटायो, तर जनताको वास्तविक अधिकारसम्म पुग्ने बाटो भने अझै अधुरै रह्यो । 

२०१७ सालदेखि सुरु भएको निर्दलीय पञ्चायती व्यवस्थाले देशलाई लामो समयसम्म कोमामा पुर्‍यायो । जनताका मुखमा ताल्चा लगाइयो, मताधिकार खोसियो, विचारहरूलाई कैदखानामा थुनेर राखियो । परिवर्तनको सपना देख्ने आँखाहरूले दशकौँसम्म प्रतीक्षा गरे, तर त्यस सपनाको घाम उदाउन करिब तीन दशक कुर्नुपर्‍यो ।

पञ्चायतविरुद्धको आवाज दबाइए पनि मौनतामा पनि क्रान्तिको धड्कन बाँचिरहेको थियो । गाउँगाउँ, चोकचोकका गफघरमा, क्याम्पसका पर्खालभित्रमा, त्यो दबिएको स्वर निरन्तर गुञ्जिरहेको थियो । अन्ततः तीन दशकपछि जनताले आफ्नो रगत–पसिनाको मूल्य तिरेर परिवर्तनको घण्टी बजाए र इतिहासले पञ्चायती व्यवस्थाको पानामा पूर्णविराम कोरिदियो ।

२०४६ सालको आन्दोलनले बहुदलीय व्यवस्था त ल्यायो, तर दलहरू भागबन्डा, नातावाद, घुसखोरी र सत्तासङ्घर्षमै सीमित रहे । दशक लामो जनयुद्धले समानताको नारा दिएर हजारौँको बलिदान माग्यो, तर परिणाममा संक्रमणकालीन अन्योल र अविश्वास मात्र बढायो । दोस्रो जनआन्दोलन ०६२/६३ ले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता घोषणा गरायो, तर पुरातन राजनीतिक कुसंस्कृति भने ज्युँका त्युँ रह्यो ।

नेपालको राजनीतिक यात्राले बारम्बार स्वरूप बदले पनि मूल चरित्र भने उही रह्यो— पुरानै प्रवृत्ति, पुरानै संरचना र पुरानै पात्रको पुनरावृत्ति । यही दीर्घकालीन असफलता, असमानता र निराशाबाट आजको जेन–जी आन्दोलन जन्मिएको हो । यो आकस्मिक विस्फोट होइन, यो लामो समयदेखि सञ्चित आक्रोशको स्वाभाविक विस्फोट हो ।

विगतका आन्दोलनहरू हिंसात्मक शैलीतर्फ ढल्किएका थिए । सडकमा आगजनी, तोडफोड, बन्दुक र युद्धसम्म ती आन्दोलन पुगेका उदाहरण छन् । त्यसैले तिनले जनतामाझ नकारात्मक छवि कमाए, तर, जेन–जी आन्दोलन फरक छ । यहाँ युवाहरूले मोबाइलको टर्च बालेर, गीत गाएर, पोस्टर टाँसेर र प्रत्यक्ष संवाद गरेर आफ्नो असन्तोष प्रकट गरेका थिए । अहिंसामार्फत गरिएको यो सशक्त प्रस्तुतिले आन्दोलनलाई नैतिक बल मात्र दिएको थिएन, जनसमर्थन पनि बढाएको थियो ।

जेन–जी आन्दोलन कुनै अन्तिम बिन्दु थिएन । त्यो एउटा सङ्केत हो— युवा पुस्ताको चेतनाले संसार नियाल्ने भइसकेको छ । त्यसैले उसले अब असमानता र दमनलाई स्विकार्नेछैन । प्रश्न अब त्यो ऊर्जा कहाँ र कसरी बग्ने भन्ने हो ।

यद्यपि आन्दोलनहरू शुद्ध रहँदैनन् । समयसँगै कमजोरी, अवसरवाद र बाहिरी हस्तक्षेप प्रवेश गर्ने खतरा बढ्छ । सिंहदरबार, राष्ट्रपति भवन, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अदालतमा भएका क्षति, फाइलहरू जलाउनुजस्ता घटनाले नैतिकताको प्रश्न उठाएका छन् । त्यस्तै, नेतृत्व विवाद र गुटबन्दीले आन्दोलनको दिशा धमिल्याउने जोखिम बढाएको छ । इतिहासले देखाएको छ— अन्ततः यस्ता आन्दोलन पुरानै सम्भ्रान्त वर्गको कब्जामा पुग्छन् । त्यसैले जेन–जी आन्दोलनले ध्वंसात्मक बाटोभन्दा सिर्जनात्मक मार्ग रोजेर मूल उद्देश्यप्रति अडिग रहनुपर्छ ।

सन् २०१८ मा स्विडेनमा जलवायु आन्दोलनबाट सुरु भएको जेन–जी आन्दोलन सन् २०२० मा अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ हुँदै सन् २०२४–२५ मा केन्या, मंगोलिया, सर्बिया, इन्डोनेसिया, माली, फ्रान्स, युक्रेन, स्लोभाकिया, अमेरिका, बेलायत, टर्की, इरान, बंगलादेश, श्रीलङ्का हुँदै नेपालसम्म फैलिएको हो ।

यी आन्दोलनको साझा विशेषता विकेन्द्रीकृत नेतृत्व, डिजिटल संगठन, सिर्जनात्मक रणनीति र निरन्तर दबाब हो । कतिपय ठाउँमा तत्काल सफलता मिले पनि घुसपैठ र हिंसात्मक मोडले आन्दोलनको नैतिक धरातललाई कमजोर बनाइदिएको इतिहास छ । नेपालमा पनि त्यही भयो । जेन–जी आन्दोलन आज विश्व राजनीतिमा ‘चौथो विद्रोह’ को प्रतीक बन्दै गएको छ ।

नेपालको राजनीतिक इतिहासमा ०८२ भदौ २३–२४ गतेको करिब २७ घण्टाको आन्दोलनले जे–जस्तो परिस्थिति देखियो, सायद यस्ता घटना विश्व इतिहासमा बिरलै भेटिन्छ । जेन–जी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) को आन्दोलनका क्रममा राज्य जसरी दमन र हत्यामा उत्रियो, त्यसले आमजनतालाई नै आक्रोश र घृणा पैदा गराएको थियो । 

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धले युवा पुस्ताको आक्रोशलाई देशव्यापी आन्दोलनमा परिणत गर्‍यो । फेसबुक, इन्स्टाग्राम, युट्युबदेखि एक्स र ह्वाट्सएपजस्ता २६ सामाजिक सञ्चाल बन्द हुँदा सडकमा उत्रिएका युवाको आवाज केवल डिजिटल स्वतन्त्रताकै लागि थिएन, यो दशकौँदेखि थन्किएको असन्तोषको विस्फोट थियो । उनीहरूले घोषित रूपमा यसलाई भ्रष्टाचारविरोधी आन्दोलन भनेका थिए । 

एमाले–कांग्रेस सरकार बनेको एक वर्षसम्म संविधान संशोधनजस्ता वाचा अधुरै रहनु, भ्रष्टाचार छानबिन आयोग कागजमै सीमित हुनु, न्यायालयदेखि निजामती, प्रहरी सेवासम्म चरम राजनीतीकरण हुनु र नेपाल लगातार अति भ्रष्ट मुलुकको सूचकाङ्कमा अडिनु— यी सबैले आक्रोशलाई अझ गहिरो बनाएको थियो ।

भदौ २४ को सरकारको बर्बर दमनले आन्दोलनलाई हिंसात्मक बन्न उत्प्रेरित गर्‍यो । सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवनदेखि सर्वोच्च अदालतसम्म जल्नु, सरकारी संरचना ध्वस्त हुनु, कैदीबन्दी जेलबाट भाग्नु र हालसम्म ७५ जनाको ज्यान जानु— यी घटनाले मुलुकलाई अनपेक्षित क्षतिसम्म पुर्‍याइदियो । सामाजिक सद्भाव भत्कियो, जनजीवनमा भय र मानसिक आघात थपियो तथा समाजभित्र बदलाको बिउ रोपियो ।

यस आन्दोलनको आर्थिक मूल्याङ्कन झन् भयावह छ । सार्वजनिक तथा निजी सम्पत्तिमाथि पुगेको क्षतिको प्रारम्भिक अनुमान अनुसार ४० खर्बभन्दा बढीको क्षतिको आकलन गरिएको छ । यसले विदेशी लगानीकर्ता, स्वदेशी उद्योगीमा त्रास उत्पन्न गराइदिएको छ । यसको तरंगका रूपमा निराशा, बेरोजगारी र महँगीलाई नेपाली समाजले भोग्न अझै बाँकी छ । यसले गर्दा सामाजिक सुरक्षाकोष जस्ता उत्तरदायित्वबाट राज्य पन्छिने अवस्था आउन सक्ने अनुमान पनि गर्न थालिएको छ ।

जेन–जी आन्दोलन केवल सामाजिक सञ्जालको प्रतिबन्धको प्रतिक्रिया थिएन; यो असफल शासन, अधुरो संविधान, जरा गाडेको भ्रष्टाचार र जनतामाथिको निरन्तर उपेक्षाविरुद्धको विस्फोट थियो । आज प्रश्न यही हो— के यो विद्रोह नयाँ भविष्यको बीज बन्नेछ, वा विगतका आन्दोलनझैँ अर्को खाले आक्रोशको फोका फुटेझैँ बिलाउनेछ । 

जेन–जी पुस्ताले उठाएको आन्दोलनलाई सतही रूपमा ‘सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आक्रोश’ भनेर व्याख्या गर्न खोज्दा यसको वास्तविक अर्थ र प्रभाव ओझेलमा पर्छ । यो आन्दोलन कुनै पनि ठोस राजनीतिक दर्शन, सैद्धान्तिक निष्ठा वा संगठित मार्गरेखामा आधारित थिएन । यो स्वतःस्फूर्त जन्मिएको असन्तोषको विस्फोट थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले अभिव्यक्ति, सूचनाको पहुँच र स्वतन्त्रताको मूल माध्यम बनेका सामाजिक सञ्जाल बन्द गर्दा उत्पन्न भएको आमचीत्कार थियो, जेन–जी आन्दोलन ।

सामाजिक सञ्जाल आजको पुस्ताका लागि केवल मनोरञ्जन वा समय काट्ने साधन थिएन, यो सूचना र पारिवारिक सम्पर्कको सञ्जाल थियो, आफ्नो दुःखेसो पोख्ने भेन्टिलेटर थियो तर त्यसैलाई बन्द गरिदिँदा युवा पुस्ताका विद्यार्थीदेखि सहरका श्रमिकसम्म आन्दोलनमा आक्रोश व्यक्त गर्न आइपुगे ।

दुर्भाग्य के रह्यो भने, यो विद्रोही ऊर्जा संगठित र दूरदर्शी नेतृत्वविहीन भयो । संसारमा भएका यस्ता अनेकौँ आन्दोलनको निकट विगत नियालेर हेर्दा उनीहरूको संगठित आवाज नहुनाले आन्दोलनले उठाएका माग पनि समयसँगै बिलाएर जाने गरेका छन् । वर्तमान शासकप्रतिको आक्रोशले सबैलाई सडकमा त ल्याइदिन्छ तर दिशाहीन आक्रोशले देशलाई ठुलो मानवीय, भौतिक क्षतिका सामु उभ्याइदिन्छ । 

यद्यपि यस आन्दोलनले एउटा गहिरो सत्य उजागर गरेको छ । देशमा केवल दलका नेताहरूको बोलीले भविष्य निर्माण हुँदैन; युवा पुस्ताको चाहना, आवेग र विद्रोहलाई सही बाटोमा मोड्न सक्ने वैचारिक मार्गदर्शन र वैकल्पिक दृष्टिकोण अपरिहार्य रहेको पुष्टि यस आन्दोलनले गर्‍यो । देशमा दशकौँसम्म एउटै नेताले शासन गर्न नहुने र हरेक १० वर्षको अन्तरमा शासन व्यवस्था परिवर्तन हुन सक्ने भन्ने नजिर स्थापित गर्‍यो ।

यस आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्षलाई वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्न आवश्यक छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको चर्को स्वर मात्र यो आन्दोलन थिएन, दशकौँदेखि सञ्चित भ्रष्टाचार, असमानता, बेरोजगारी, असुरक्षा र असन्तोषका कारण बनेको विस्फोट थियो भन्ने आत्मबोध गर्नुपर्नेछ ।

त्यसैले अहिलेको मुख्य जिम्मेवारी केवल घाइते समाजलाई मलम लगाउने होइन, भविष्यको बाटो स्पष्ट गर्ने हो । यसका लागि सत्ता–लोभ, भागबन्डा र भ्रष्ट चरित्रबाट टाढा रहन सक्ने पुराना शक्तिहरूलाई एकै मोर्चामा उभ्याउनुपर्छ । वामपन्थी, प्रगतिशील, देशभक्त शक्ति, उत्पीडित वर्ग–समुदाय, लिङ्ग र क्षेत्रीय रूपले उपेक्षित सबैलाई समेट्ने साझा मोर्चा निर्माण नगरी अबको यात्रामा मुलुक अघि बढ्न सक्दैन ।

यस्तो मोर्चा केवल राजनीतिक घोषणामा सीमित नभई राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्याय, समानता, पारदर्शिता र समावेशी विकासलाई आधार बनाउनुपर्छ । त्यो मोर्चाबाट निस्किने साझा अवधारणा र रोडम्यापले मात्र नेपाललाई वर्तमान सङ्कटको भुमरीबाट निकालेर अधुरो क्रान्तिको यात्रा पूरा गर्ने क्षमता राख्छ ।

जेन–जी आन्दोलन कुनै अन्तिम बिन्दु थिएन । त्यो एउटा सङ्केत हो— युवा पुस्ताको चेतनाले संसार नियाल्ने भइसकेको छ । त्यसैले उसले अब असमानता र दमनलाई स्विकार्नेछैन । प्रश्न अब त्यो ऊर्जा कहाँ र कसरी बग्ने भन्ने हो । सही मार्गदर्शन पायो भने यही ऊर्जा नयाँ नेपाल निर्माणको आधार बन्न सक्छ ।

माधानका लागि अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध विशेष आयोग गठन, सम्पत्ति शुद्धीकरण प्रक्रिया तत्काल सुरु गर्ने तथा समयमै निर्वाचन गराउनु प्रमुख दायित्व हो । त्यसैले यो सरकार त्यसभन्दा वरपर लाग्नु मिल्दैन । कार्की सरकारले गराउने स्वच्छ तथा स्वतन्त्र निर्वाचनमा सबै राजनीतिक दलहरूले सहयोग गर्नु नै आजको प्रमुख जिम्मेवारी हो । यसैले जेन–जी आन्दोलनको आवाजलाई सम्बोधन गर्छ र नयाँ नेपालको बाटो खोल्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामहरि कार्की
रामहरि कार्की
लेखकबाट थप