बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाहीका विभिन्न स्थान डुबानमा

आइतबार, १९ असोज २०८२, १४ : १५
आइतबार, १९ असोज २०८२

सारांश

  • सर्लाही जिल्लामा तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा डुबान भएको छ।
  • लखन्देही खोलाले तटबन्ध कटान गर्दा र पानी निकास नहुँदा दर्जनौं घर डुबानमा परेका छन्, जसले गर्दा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
  • बाढीका कारण सडक कटान हुँदा यातायात अवरुद्ध भएको छ, र बिजुली तथा मोबाइल नेटवर्कमा समेत समस्या आएको छ।

सर्लाही । तीन दिनदेखिको अविरल वर्षाले सर्लाही जिल्लाका विभिन्न ठाउँ डुबानमा परेका छन् । लखन्देही खोलाले ठाउँ–ठाउँमा तटबन्ध कटान गर्न थालेपछि जिल्लाका विभिन्न बस्तीहरूमा डुबानको समस्या सुरु भएको स्थानीयले बताएका छन् ।

कतिपय स्थानमा वर्षाको पानी निकास नपाउँदा दर्जनौँ घरमा पानी पसेको छ । कौडेना गाउँपालिका–७ शिवनगरमा लखन्देही खोलाले बाँध कटान गर्न थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार बिहान प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठ सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको छ ।

स्थानीय नीरज यादवका अनुसार शिवनगर गाउँमा हरेक वर्ष भारी वर्षा हुँदा लखन्देही नदीको बाढी गाउँमा पस्ने समस्या दोहोरिँदै आएको छ । भारतीय पक्षले उचाइमा सडक निर्माण गरेकाले पानीको निकास अवरुद्ध भएर सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । मलङ्गवाको मुख्य नाका, प्रहरी चौकी गोरखकाली, भन्सार कार्यालय र आसपासका घरहरूमा पानी पसेको छ ।

बरहथवा नगरपालिका–७ मा सोती खोलाको पानी पस्दा १० घरका बासिन्दालाई बजारस्थित टहरामा सारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए । डुबानमा परेपछि बसबरिया गाउँपालिका–२ धावटोलका ५५ वर्षीय रामसुरत सहनी र ५० वर्षीया सुनिता सहनीलाई उद्धारको तयारी भइरहेको उनले बताए ।

बरहथवा नगरपालिका–१६ मा टिकुलिया खोलाको बहाव बढेपछि पासवान र यादव बस्ती जोखिममा परेका छन् । त्यस्तै मनुष्मारा खोलाले धनकौल गाउँपालिका–३ हरहठवा र ४ महिनाथपुर हुँदै रौतहटको धरमपुरलाई जोड्ने सडक करिब दुई किलोमिटर कटान गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

झिम खोलाले ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगरमा बाँध कटान गर्दै जोखिम बढाएको छ । कौडेना गाउँपालिका–३ र ५ (छपकैयामा) लखन्देही खोलाको पानी पसेर १० भन्दा बढी घर डुबानमा परेका छन् । चक्रघट्टा गाउँपालिका–५ मा लखन्देही खोलाको बाढी पस्दा १७ घरधुरी र इलाका प्रहरी कार्यालय चक्रघट्टा जलमग्न भएका छन् । हरिवन नगरपालिका–११ चिनमी मिल आसपासमा पानी निकास नपाउँदा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय सुरेश भट्टराईले बताए ।

कौडेना गाउँपालिका–३ पर्सा र ६ छपकैयामा लखन्देही खोलाले बाँध कटान गर्दा जोखिम अझै बढेको छ । त्यस्तै कौडेना–६ सक्रौलमा पनि बाँध कटान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अविरल वर्षापछि चन्द्रनगर गाउँपालिका–५ मा प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको छ भने गोडैता चौकीको पर्खालमा पनि क्षति पुगेको छ । कविलासी नगरपालिका–८ अगर्वामा पानी पस्दा १४ घर डुबानमा परेका छन् ।

त्यसैगरी कविलासी–२ पिपरियामा घरको पर्खाल भत्किँदा ९ वर्षीया शिवानी सिंह घाइते भएकी छन् भने उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच वर्षा आइतबार बिहानबाट रोकिएको छ । तर, यसअघिकै भारी वर्षाका कारण जिल्लामा बिजुली आपूर्ति अनियमित भएको र मोबाइल नेटवर्क अवरुद्ध हुँदा स्थानीयहरू समस्यामा परेका छन् ।

काठमाडौंतर्फका सवारी साधन सञ्चालन नहुँदा उपत्यका फर्किनुपर्ने यात्री रोकिएका छन् भने स्थानीय रुटका सवारीहरू निर्बाध सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप