बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिचर

अक्षर चिन्ने रहरले ५२ वर्षमा कक्षा १ मा भर्ना भएकी वडा सदस्य डल्लीदेवी

सोमबार, २० असोज २०८२, ०८ : ००
सोमबार, २० असोज २०८२

सारांश

  • कञ्चनपुरको लालझाडी गाउँपालिकाकी वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी अक्षर चिन्ने रहरले कक्षा १ मा भर्ना भइन्।
  • गरिबीका कारण स्कुल जान नपाएकी डल्लीदेवीले जनप्रतिनिधि भएपछि शिक्षाको महत्व बुझेर पढ्न थालिन्।
  • डल्लीदेवीले आफ्नो नाम आफैँ लेख्न सक्ने र सामान्य लेखपढ गर्न सक्ने लक्ष्य राखेकी छिन्, र अब चुनाव नलड्ने बताइन्।

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–४, पर्सिया गाउँको स्वतन्त्र माध्यमिक विद्यालयको कक्षा १ मा कलिला बालबालिकाहरूको कोलाहलबिच ५२ वर्षीय डल्लीदेवी चौधरी पनि कापी र कलम समातेर बसिरहेकी हुन्छिन् । उनी त्यही गाउँकी वडा सदस्य हुन् ।

अक्षर चिन्ने रहरले उनी साना बालबालिकाका साथ कक्षा कोठामा बसेर पढ्न थालेकी हुन् ।

डल्लीदेवीको पढाइको सुरुवात एक संयोगले भयो । उनी सदस्य रहेको विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको थियो । बैठकमा सबैले आफ्नो शैक्षिक योग्यताको चर्चा गर्न थाले । जब डल्लीदेवीको पालो आयो, उनले भनिन्– मैले त एक कक्षा पनि पढेकी छैन, म त जिरो छु ।

त्यसपछि त्यहीँ उपस्थित एक शिक्षकले उनलाई हौसला दिँदै भने, ‘म्याडम, तपाईंले पढ्नुपर्छ । पढाइलाई उमेरले छेक्दैन ।’

1000038735

शिक्षकले उनलाई एकैपटक कक्षा ५ मा भर्ना हुन सुझाए, तर डल्लीदेवीले भनिन्, ‘सर, मैले त क, ख नै चिनेकी छैन, कसरी ५ कक्षामा पढ्न सक्छु र ?’

त्यसपछि गत वैशाखमा उनी कक्षा १ मा भर्ना भइन् । यसरी उनको औपचारिक शिक्षाको ढोका खुल्यो ।

डल्लीदेवीले केटाकेटी उमेरमा पढ्न पाइनन् । दाङको देउखुरीमा जन्मेकी उनको परिवार गरिबीका कारण तराई झर्‍यो । उनका आमाबुवाले अरूको घरमा ‘कमैया’ बसेर गुजारा चलाउँथे । आमाबुवाका ६ जना छोराछोरीमध्ये कसैले पनि स्कुल टेक्न पाएनन् ।

‘पहिलाको जमानामा छोरीलाई किन पढाउनु प‍र्‍यो भन्ने सोच थियो,’ डल्लीदेवीले भनिन्, ‘त्यसमाथि गरिबीले गर्दा हामी पढ्नबाट वञ्चित भयौँ ।’

बाल्यकालमा उनले अरूको घरमा बाख्रा चराउने ‘गोठालो’ बस्नुपर्‍यो । अक्षर चिन्ने रहर मनमै दबाएर बसेकी उनको १६ वर्षको उमेरमा विवाह भयो । विवाहपछि पनि घरधन्दा, खेतीपाती र बाख्रापालनमै उनको जीवन बित्यो ।

लामो समय घरमै सीमित डल्लीदेवीको जीवनमा २०७४ सालको स्थानीय चुनावले नयाँ मोड ल्यायो । नेकपा माओवादी केन्द्रका केही युवा उनको घरमा आए । ती युवाले उनलाई वडा सदस्यको उम्मेदवार बन्न आग्रह गरे ।

घर गृहस्थीमै व्यस्त डल्लीदेवी सुरुमा यस्तो प्रस्तावले हिच्किचाइन् । ‘म न पढेकी छु, न लेख्न जान्दछु । बाहिर हिँड्ने बानी पनि छैन, म के गर्न सक्छु र ?’ ती युवालाई उनले भनिन् ।

1000038726

युवाहरूले उनलाई निरन्तर हौसला दिए । श्रीमान भारतमा थिए । उनले फोनमा सल्लाह गरिन् । ‘तिमीलाई आँट छ भने उठ, सक्दिनँ जस्तो लाग्छ भने नउठ,’ उनका श्रीमानको जबाफ थियो ।

अन्ततः डल्लीदेवीले आँट गरिन् र चुनावमा उठिन् । जनताले उनलाई पत्याए । उनी वडा सदस्यमा निर्वाचित भइन् । २०७९ मा पनि उनी भारी मतले विजयी भइन् ।

जनप्रतिनिधि भएपछि डल्लीदेवीले शिक्षाको अभाव महसुस गरिन्, तर जनताको सेवामा कुनै कमी हुन दिइनन् । उनको पहलमा गाउँमा बाटो निर्माण र खोलानालामा कल्भर्ट हाल्ने काम भएको छ । उनले विशेषगरी तल्लो तहका र विपन्न समुदायका लागि बाख्रापालन र कृषि तालिम सञ्चालन गरेकी छन् ।

लालझाडीमा धेरै समस्या छन् । ‘हाम्रो मुख्य समस्या बाटो र दोदा नदीको कटान हो,’ डल्लीदेवीले भनिन् । नदीमा तटबन्धको काम कतै भए पनि धेरै ठाउँमा बाँकी छ । जसले गर्दा बर्सेनि खेतीयोग्य जमिन बगाउँछ । ‘यदि सरकारले राम्रोसँग तटबन्ध गरिदियो भने यहाँका जनताको मुहार फेर्न सकिन्छ,’ उनले भनिन् ।

अहिले उनको दैनिकी निकै व्यस्त छ । बिहान उठेर घरको काम, १० कट्ठा खेतको खेतीपाती र दर्जनौँ बाख्राहरूको हेरचाह गर्नुपर्छ । श्रीमान भारतमा छन्, छोरा–बुहारी काठमाडौँमा । छोरीको पनि बिहे भएको छ । घरमा उनी एक्लै छिन् । यी सबै जिम्मेवारीका बिच उनी नियमित विद्यालय जान पाउँदिनन् । उनी सुरुका केही महिना विद्यालय गइन् । विद्यालयको कक्षाकोठाको अनुभवले उनलाई लेखपढ गर्न सक्छु भन्ने आत्मविश्वास दिलायो, तर अहिले धेरै जिम्मेवारीले नियमित कक्षामा उपस्थित हुन भने उनलाई चुनौती पनि छ । काम परेको बेला उनी विद्यालय जान पाउँदिनन् ।

‘मलाई कहिलेकाहीँ चिन्ता लाग्छ, नाम त लेखाएँ तर स्कुल जानै पाउँदिनँ । के अर्थ भयो र ?’ डल्लीदेवीले भनिन् । यद्यपि, उनले हार मानेकी छैनन् । विद्यालय नगएको दिन उनी साँझको समयमा घरमै पढ्छिन् । युट्युबमा हेरेर अक्षर चिन्ने र लेख्ने अभ्यास गर्छिन् । ‘अहिले त अनलाइनबाट पनि पढ्न सकिने रहेछ,’ उनले भनिन् ।

डल्लीदेवीको यो कदमले सामाजिक सञ्जालमा चर्चा पायो । धेरैले उनको साहसको प्रशंसा गरे भने केहीले ‘बुढेसकालमा पढेर के गर्छे ? भाइरल हुन खोजेकी’ भनेर खिल्ली पनि उडाए ।

डल्लीदेवी यस्ता कुराबाट विचलित छैनन् । ‘संसारले जे भनोस्, मलाई दुःख छैन,’ उनले भनिन्, ‘मैले त अरूलाई पनि जगाउन स्कुलमा भर्ना भएको हो ।’

अहिले उनी क, ख, ग र ए, बी, सी, डी सिक्दैछिन् । उनको एउटै लक्ष्य छ– आफ्नो नाम आफैँ लेख्न सक्ने हुनु र सामान्य लेखपढ गर्न जान्ने बन्नु ।

आफूले आफ्नो गाउँ, ठाउँको लागि जे जति गर्न सकिन्छ, त्यो गर्न लागिपर्ने डल्लीदेवी बताउँछिन् । महिलालाई राजनीतिमा लाग्न कठिनाइ पनि छ । आफूले आफ्नो गाउँ, ठाउँ, चिरपरिचित भएकै कारण चुनाव लड्न सहज भएको उनले सुनाइन् ।

दुई पटक वडा सदस्य भएकी उनी अर्काे पटक भने चुनाव नलड्ने बताउँछिन् ।

1000038734
‘भदौमा भएको जेनजी आन्दोलनपछि मैलेँ सोचे– मेरो उमेर अनुसार अब चुनाव लड्दिनँ, मेरो उमेर भइसक्यो । अब त युवालाई अगाडि बढाउनु पर्छ । युवालाई अवसर दिनुपर्छ भन्ने सोचेकी छु । युवालाई नेतृत्वमा पुर्‍याए केही न केही राम्रो हुनेछ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप