डा. चौधरी, जसले शवको चेकजाँच गर्छन्
सारांश
- डा. गोपाल चौधरीले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्दा साथीको शव भेटेका थिए, जुन २०११ को घटना थियो।
- डा. चौधरीले विगत ४ वर्षदेखि फोरेन्सिक मेडिसिन विभाग प्रमुखको रूपमा करिब ६ हजार शवको पोस्टमार्टम गरिसकेका छन्।
- डा. चौधरीका अनुसार पोस्टमार्टमको मुख्य उद्देश्य मृत्युको कारण पत्ता लगाउनु हो, र यस क्षेत्रमा प्रविधिको विकास आवश्यक छ।
काठमाडौँ । डा. गोपाल चौधरीलाई त्रिवि शिक्षण अस्पतालमा शवहरूको पोस्टमार्टममा खटिनु थियो । ल्याबमा छिर्नुअघि नै उनले शवहरूबारे लेखिएको सूची हेरे, त्यहाँ एउटा नाम देखेर झसङ्ग भए उनी— त्यहाँ उल्लिखित नाम, थर, पेसा, उमेर सबै उनकी एक साथीसँग मिल्दोजुल्दो थियो, जोसँग उनले सँगै पढेका थिए । जलेको शव कसको हो भनी चिनिने अवस्थामा थिएन । उनले मनमनै कामना गरे, मेरो साथीको शव नहोस् । परीक्षण गरेपछि भने प्रमाणित भयो, त्यो शव उनकै साथीको रहेछ ।
‘त्यति बेला म निकै दुःखी भएको थिएँ । यो सन् २०११ को घटना हो । त्यतिबेला दुई बिरामी सैनिकलाई अस्पताल लैजाँदै गरेको सेनाको विमान दुर्घटना परेको थियो । दुर्घटनामा निधन हुनेहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइयो,’ त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागका प्रमुख डा. चौधरी भन्छन्, ‘ती साथीको नाम नलिउँ, कतै उनका आफन्तले यो कथा पढ्न पुग्नुभयो भने मन दुख्ला ।’
जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाको पोस्टमार्टम पनि त्रिवि शिक्षण अस्पतालमै भयो । डा. चौधरीलाई भेट्न हामी भदौ २५ गते उनको कार्यकक्षमा पुगेका थियौँ । उनी भन्दै थिए— आन्दोलनमा ज्यान गुमाएका युवाका शवहरू पोस्टमार्टमका लागि यहाँ आउन थालिसकेका छन् ।
_DU1vxJsoCJ.jpg)
डा. चौधरी विगत चार वर्षदेखि यस शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभाग प्रमुख छन् । यस पेसामा लागेदेखि हालसम्म उनले करिब ६ हजार शवको पोस्टमार्टम गरिसकेका छन् । सुरुवातमा उनलाई लागेको थियो, यस्तो विषय मैले नपढ्नुपर्ने थियो ।
एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत रहँदा उनले पहिलोपटक शव परीक्षण गर्नुपर्यो । उनी भन्छन्, ‘त्यतिबेलै मलाई लागेको हो— मैले अन्य विषय रोज्नुपर्थ्यो ।’
पढाइ सकेर ‘फोरेन्सिक प्याथोलजिस्ट’का रूपमा काम गर्न थालेसँगै उनले बीभत्स शवहरूको परीक्षण गर्नुपर्यो । ‘सुरुसुरुमा सपनामा पनि शव मात्रै देख्थेँ । ओछ्यान वरपर शव लडिरहेझैँ लाग्थ्यो । काम सुरु गरेको एक वर्षसम्म मैले माछामासु नै खाइनँ, किनभने त्यसले शवकै झल्को दिन्थ्यो,’ डा. चौधरी भन्छन्, ‘सुरुमा त मेरा आमाबुवा म डाक्टर भएकामा खुसी हुनुहुन्थ्यो । काम भने लास चिर्ने हो भन्ने थाहा पाएपछि उहाँहरूले त्यति राम्रो मान्नुभएन । समय बित्दै जाँदा बिस्तारै म बानी परेँ । सबैले यसको महत्त्व बुझ्नुभयो ।’
डा. चौधरीका अनुसार विशेषतः कानुनी आधारका लागि शवको पोस्टमार्टम गरिन्छ । जसमा मृत्यु कसरी भयो भन्ने प्रश्न प्रमुख रुपमा आउँछ । ‘खासमा मृत्युको रहस्यको पर्दाफास गर्न शवको परीक्षण आवश्यक हुन्छ । यद्यपि हामीले जे पढेका छौँ, त्यसमा शवको पोस्टमार्टम भन्ने मात्रै हुँदैन । यौन हिंंसा, बलात्कार, हत्याजस्ता घटनामा दोषी पत्ता लगाउन जीवित मानिसको पनि परीक्षण गर्नुपर्ने हुन्छ । अर्थात् न्यायका लागि प्रमाण दिने काम हामीबाट हुन्छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा उमेर परीक्षण पनि गर्नुपर्छ, किनभने कानुन अनुसार व्यक्ति बालिग हो वा नाबालिग भन्ने प्रश्न उठ्छ । घाउचोटको प्रकृति, विष वा मादक पदार्थ सेवन गरे वा नगरेको पत्ता लगाउन पनि परीक्षण आवश्यक हुन्छ ।’
सुनसरीको रामधुनी नगरपालिका– ६, बकलौर गाउँमा जन्मेका चौधरीले सानैदेखि काठमाडौँ बसेर पढ्ने अवसर पाए । उनलाई यो अवसर उनका बुवाको पेसाका कारण मिलेको थियो, उनका बुवाले ट्रेकिङ एजेन्सीमा काम गर्थे । ‘काठमाडौँ मेडिकल कलेज’ (केएमसी)बाट एमबीबीएस र ‘इन्स्टिच्युट अफ मेडिसिन’ (आईओएम) बाट सन् २०१३ मा ‘एमडी’ गरेका चौधरीको रुचि सुरुमा ‘फोरेन्सिक मेडिसिन’मा थिएन । मुटु विशेषज्ञ बन्ने उनको भित्री इच्छा थियो । यद्यपि केएमसीमा अध्ययनरत रहँदा उनी प्राध्यापक हरिहर वस्तीबाट प्रभावित भए । ‘वस्ती सरले फोरेन्सिक मेडिसिनमा नेम र फेम दुवै छ भन्नुभएको थियो । उहाँकै कुरा सुनेर मैले यो विषय रोजेको हुँ,’ डा. चौधरी भन्छन्, ‘अन्य विधाका डाक्टरले जस्तो निजी अभ्यास (प्राइभेट पोस्टमार्टम) गर्न पाइँदैन, त्यसैले तलब–भत्तामै चित्त बुझाउनुपर्छ । न्याय निरुपणमा सहयोगी पेसा भएकाले सन्तुष्ट छु, खुसी छु ।’
डा. चौधरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा दैनिक ५ देखि १० वटा पोस्टमार्टम हुन्छन् । परीक्षण गर्नुपर्ने शवहरू देशभरिबाटै यहाँ आउँछन् । यहाँबाट वार्षिक करिब दुई हजार शव परीक्षण गरिन्छन् । यहाँ १५० भन्दा बढी शव भण्डारण गर्न मिल्ने कोल्डरुम छ, जसलाई २०७२ को भूकम्पपछि जापानको सहयोगमा नेसनल रेड क्रस सोसाइटीले बनाइदिएको हो ।
_YVz7Bq0IIE.jpg)
यहाँ बेवारिसे शवहरू पनि परीक्षणका लागि आउँछन् । यस्ता शवहरू कसैले दाबी गर्न नआएमा कानुनबमोजिम पठनपाठन (अध्ययन) का लागि प्रयोग गरिने उनी बताउँछन् । पोस्टमार्टमको शुल्क सरकारले व्यहोर्ने हुँदा पीडित पक्षलाई कुनै आर्थिक भार पर्दैन । शवको कात्रो र यातायात (एम्बुलेन्स) खर्च भने व्यक्तिले नै बेहोर्नुपर्छ ।
‘फोरेन्सिक मेडिसिन’ क्षेत्रमा राज्यले आवश्यक लगानी गरिनसकेको उनी बताउँछन् । ‘छिमेकी भारत र अस्ट्रेलियाजस्ता विकसित मुलुकमा फोरेन्सिक क्षेत्रमा भर्चुअल अटोप्सी सीटी स्क्यानको प्रयोग हुन्छ, यस आधुनिक प्रविधिले गर्दा शरीर नचिरी परीक्षण गर्न सकिन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ भने परम्परागत खालकै विधि–प्रविधि प्रयोग हुन्छन् ।’
उनका अनुसार, पोस्टमार्टम रिपोर्टविना कुनै पनि हत्या, आत्महत्या वा दुर्घटनाको अनुसन्धान पूरा हुँदैन । ‘त्यसैले यसको प्रविधिमा राज्यले लगानी गर्न आवश्यक छ,’ उनी भन्छन् ।
उनले पछिल्लो १५ वर्षदेखि ‘फोरेन्सिक मेडिसिन’ विषय पढाउँदै आएका छन् । उनले पढाएका कतिपय विद्यार्थी तथा सहकर्मीहरू अन्य संस्थामा प्राध्यापक समेत भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण