शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजीको सवाल

सरकारमा जेनजीको सहभागिता अन्योलमा, आधिकारिक जेनजी को हुन् ?

सोमबार, २० असोज २०८२, १९ : ४८
सोमबार, २० असोज २०८२

सारांश

  • अन्तरिम सरकारमा जेनजीको सहभागिताको विषयमा समूहहरूबीच मतभेद बढेको छ।
  • जेनजीका विभिन्न समूहहरू सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा विभाजित छन्।
  • विभिन्न जेनजी समूहका नेता र अभियन्ताहरू सरकारमा आफ्नो प्रतिनिधित्व खोजिरहेका छन्।

काठमाडौँ । अन्तरिम सरकारमा जेनजीको सहभागिताबारे अन्योल बढेको छ । जेनजी अगुवाहरूबिच मतभिन्नता बढ्दै गएका कारण सरकारमा यो समूहको सहभागितामा अन्योल बढेको हो ।

जेनजी अगुवाको एउटा समूह आन्दोलनको सार्थकताका लागि पनि सरकारमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने बताउँदै आएको छ । अन्य केही समूह अहिले सरकारमा सहभागिता आवश्यक नभएको बताउँदै आएका छन् ।

जेनजीका प्रतिनिधि को हुन् ? आधिकारिक जेनजी को हुन् भन्ने विवाद अझै कायमै छ । ‘अहिले जेनजीको कम्तीमा ३० वटा ठुला समूह बनिसकेको छ । अहिले नै अन्तरिम संविधान बनाएर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउनेदेखि यही संविधान ठिक छ, नेतामात्रै खराब भए भन्ने ग्रुप पनि जेनजीमा छ । म आफैँ ७ वटा ग्रुप जतिमा बसेको छु । आधिकारिक को हो भन्ने अवस्था छैन,’ जेनजी अभियन्ता भनिने अभिनव बास्तोलाले रातोपाटीसँग भने ।

बास्तोलाका अनुसार अहिले मुख्यतः ५ समूह बढी हाइलाइटमा छ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङको समूह, रक्षा बम, प्रदिप ज्ञवाली, धिरज जोशी लगायतको प्रधानसेनापतिसँग वार्ता गर्न जाने एउटा समूह, सुरुमा जेनजी आन्दोलनको आह्वान गर्ने मिराज ढुंगाना लगायतको एउटा समूह र आन्दोलनमा भाइरल भएका प्रवेश दाहाल लगायतको अर्को समूह, त्यसबाहेक आकृती घिमिरे, मोनिका चौधरी लगायतको अर्को समूह पनि सक्रिय छ ।

अहिलेको अन्तरिम सरकारमा सहभागिता खोज्नेमा रक्षा बम लगायतको समूह देखिन्छ । ‘हाम्रो सहभागिता आवश्यक छ । यसका लागि हाम्रो तर्फबाट रक्षा बमलाई अगाडि सार्ने कुरा भएको छ । यो सरकार जुन आन्दोलनको बलमा बनेको हो, त्यो आन्दोलनको प्रतिनिधित्व आवश्यक छ,’ प्रधानसेनापतिसँग वार्ता गर्न गएका बम सहितका समूहको एक जेनजी प्रतिनिधि भन्छिन् ।

बम आफूलाई विद्रोही भन्न रुचाउँछिन् । उनी आन्दोलनको केही अघिसम्म उज्ज्वल थापा फाउन्डेसनको कार्यक्रम संयोजक थिइन् । फाउन्डेसनले विवेकशील नेपालीका संस्थापक थापाको स्मृतिमा विभिन्न राजनीतिक संवाद, अन्तरक्रिया गर्दै आएको छ । बमले विभिन्न अधिकारवादी आन्दोलनमा नेतृत्व गर्ने गरेकी थिइन् । उनको समूहमा रहेका अधिकांश जेनजी प्रतिनिधि तत्कालीन विवकेशील नेपाली दलमा आवद्ध भएकाहरू छन् । उनकै समूहमा रहेका प्रदिप ज्ञवाली रास्वपा नेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा स्वकीय सचिव थिए । यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको सचिवालयमा रहेका धिरज जोशी पनि यही समूहमा छन् ।  काठमाडौँ महानगर प्रमुख बालेनले फुटपाथका व्यवसायी  हटाउँदा आन्दोलन गरेका अभियन्ता ईःको पक्षधर रहेकी रक्षा बम र बालेनको प्रतिनिधित्व गरेर वार्ता गरेका धिरज जोशी अहिले एउटै टीममा छन् । अभियन्ता ईः तथा रक्षा बमहरूको समूहलाई सो बेला ‘चमेली ग्याङ’ले समेत व्यङ्ग्य गरेको थियो ।

जोशी हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा गइसकेका छन् । यस्तै युजन राजभण्डारी उनीहरूकै समूहमा छन् । उनी इन्जिनियर हुन् । आन्दोलनको राति सेनासँग कुरा गर्न रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानसेनापतिलाई जेनजी आन्दोलनको लिडरको रूपमा लिष्ट पठाएका अधिकांश नाम यो टीममा रहेको स्रोतको दाबी छ ।

यो आन्दोलनमा सर्वाधिक चर्चामा रहेको अर्को टीम हो ‘हामी नेपाल’कोे समूह । यसको संयोजक सुदन गुरुङ अहिले सरकारकै काम कारबाहीमा हस्तक्षेपकारी भूमिकामा छन् । सुदन गुरुङ हामी नेपालका संयोजक हुन् । २०७२ सालको भूकम्पदेखि राहत, उद्धारसँगै सामाजिक आन्दोलनमा होमिएका गुरुङ जेनजी आन्दोलनपछि सरकार निर्माणमा निर्णायक भूमिका खेल्नेमध्ये एक हुन् । उनकै टीममा रहेका अनिल बानियाँ, ओजस्वी थापा, भावना राउत, प्रकाश खड्का लगायत जेनजी प्रतिनिधिहरूले पछिल्लो समय सरकार र अन्य जेनजी समूहहरूसँग छलफल गरिरहेका छन् ।

अनिल बानियाँ ‘हामी नेपाल’को कार्यक्रम निर्देशक हुन् ।  उनी सुदन गुरुङसँग लामो समयदेखि सँगै छन् ।

यस्तै उनको समूहबाट प्रतिनिधित्व गरिरहेका ओजस्वी थापा आन्दोलनबाट उदाएका हुन् । उनी आन्दोलनपछि गुरुङको ‘कोर टीम’मा छन् । उनी नेपाली कलाकारहरू निकट छन् । नायिका वर्षा राउत र कन्टेन्ट क्रियटर सन्जोग कोइरालाको चिया अड्डाको फ्रेन्चाइज पनि थापाले लिएका छन् ।

यस्तै अभियन्ता भावना राउत अहिले गुरुङकै समूहमा छिन् । यद्यपि उनी पनि विवेकशील नेपालीसँग आवद्ध थिइन् ।  यही टीममा रहेका प्रकाश खड्का अन्तर्राष्ट्रिय कराँते खेलाडी हुन् । उनले नमुना युवा सांसदको भूमिकासमेत निर्वाह गरिसकेका छन् । आन्दोलनपछि गुरुङकै टीममा उनी सक्रिय छन् ।

तनुजा पाण्डे, अर्वण चौधरी लगायत भने संविधान मान्ने भन्दै कुनै पनि समूहमा प्रस्ट समर्थन गरेका छैनन् ।   यस्तै मिराज ढुंगाना, पुरुषोत्तम यादवसहित केही जेनजी प्रतिनिधिहरू सामाजिक सञ्जालमार्फत चुनाव केन्द्रित हुनुपर्ने आह्वान गर्दैै सरकारमा सहभागिताको विषयमा बोलेका छैनन् ।

जेनजीको अर्को समूह ‘जेन–जी मुभमेन्ट अलायन्स’ रहेको छ । अलायन्समा आकृति घिमिरे, ओजस्वी भट्टराई, मोनिका, मोनिका चौधरी, रिजन राना मगर, हेम चौधरी, आशुतोष झा, अनुषा खनाल लगायत सदस्य छन् । उनीहरूले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सबै आयुक्तको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराएर थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसमेत उनीहरूले दिइसकेका छन् । 

यस्तै जेनजी आन्दोलनमा भाइरल भएका प्रवेश दाहाल लगायतको अर्को समूह पनि सक्रिय छ । विराटनगरका दाहाल कानुनका विद्यार्थी हुन् । प्रस्ट वक्ताको छविका कारण उनी अहिले चर्चामा छन् । आन्दोलनमा गरेको भाषणका कारण भाइरल एक समूह पनि उनीसँगै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप