शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाढीले पाइप बगाएपछि ५०० परिवार खानेपानीबाट वञ्चित

सोमबार, २० असोज २०८२, २२ : ४९
सोमबार, २० असोज २०८२

बरहथवा । अविरल वर्षापछिको बाढीले खानेपानीको पाइप बगाएपछि यहाँको लालबन्दीमा ५०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका छन् । 

लालबन्दी नगरपालिका–१५, कालिञ्जोर खोलाले पाइप बगाएको हो । सोही वडाअन्तर्गत खोलाको ड्याममाथि निर्माण गरिएको रिजर्भ ट्याङ्कीबाट खोला किनार हुँदै लालबन्दी–१५, चिसापानी क्षेत्र र १६ परवानीपुर क्षेत्रमा खानेपानी पुर्याइएको थियो । खोलाले दुवैतर्फको पाइपलाइनमा क्षति गरेको वडाध्यक्ष गोरख बलले जानकारी दिए ।

हाल चिसापानी, परवानीपुरलगायत क्षेत्रका ५०० परिवारले एक घण्टा समय लगाएर ठडेगैरी पँधेराबाट पानी ल्याउन बाध्य हुनुपरेको स्थानीय सानो बाबु कार्कीले बताए । उमेरले ६७ वर्ष पुगेका कार्कीले घरमा तन्नेरी कोही नहुँदा आफूले निकै कष्ट बेहोर्नु परिरहेको गुनासो गरे ।

घरमा धारा जोडेको हप्ता दिन नहुँदै बाढीले पाइपलाई बगाएको हो । बाढीले लगभग १०० मिटर पाइपमा क्षति पुगेको वडाध्यक्ष बलले जानकारी दिए । 
यसअघि बेमौसमी वर्षापछि हरिवन खोलामा बाढीले बागमती नगरपालिका–१, मा रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानीको मुख्य पाइप लाइनमा क्षति पुर्याएको थियो ।

 एक सय ५० मिटर पाइप खोलाले बगाएपछि नगरपालिका–२ र ३ का १३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित भएका थिए । पाइप बगाएको ठाउँमा मर्मतको काम भइरहेको संस्थाका अध्यक्ष वसन्त भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप