शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको प्रभाव

दलमा नेतृत्व परिवर्तनको दबाब केन्द्रमै सीमित, तल्ला तहलाई हाइसन्चो

मङ्गलबार, २१ असोज २०८२, ११ : ५२
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले राजनीतिक परिवर्तन ल्यायो, जसले सत्तामा फेरबदल ल्यायो।
  • भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनले नयाँ सरकार ल्यायो, तर प्रदेश तह खारेजीको माग पनि बढ्दै गयो।
  • तीन प्रमुख दलहरू नेतृत्व परिवर्तनको बहसमा केन्द्रित छन्, तर तल्लो तहमा पुनःसंरचनाको विषयमा खासै छलफल भएको छैन।

पोखरा । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले सत्ता उलटफेर भयो । संघदेखि प्रदेश र स्थानीय तहका सम्पत्तिमाथि तोडफोड र आगजनी भए । कतिपय भौतिक संरचना कामै नलाग्ने गरी खरानी भएका छन् ।

भ्रष्टाचार र कुशासनको विरोधमा भएको आन्दोलनले संघमा नयाँ सरकार पाएको छ । आजभोलि प्रदेश तह खारेजीको माग पनि बाक्लिएको छ । पूराना दलहरू चाहिँ संविधान प्रदत्त संरचना खारेजीमा भन्दा आफ्नै दलको पुनर्संरचनामा केन्द्रित हुन थालेका छन् ।

आन्दोलनले नेपाली राजनीतिमा नेतृत्व परिवर्तनको बहसलाई चर्को पारेको छ । तीन प्रमुख राजनीतिक दलका कार्यकर्ता र समर्थकहरूले केन्द्रीय नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको माग गरिरहेका छन् । यद्यपि, केन्द्रीय नेतृत्वमा औंला ठड्याइरहँदा तल्लो तह अर्थात् प्रदेश र पालिका तहमा संरचनाको पुनःसंरचना तथा नेतृत्व परिवर्तनको विषयमा भने खासै छलफल भएका छैनन् ।

प्रदेश तहका नेताहरू केन्द्रको नियमित महाधिवेशन समयमा गर्न सके तल्ला तहको स्वतः पुनर्संरचना हुने बताउँछन् । सकेसम्म नियमित महाधिवेशन, नभए विशेष महाधिवेशनको माग उनीहरूको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले जेनजी आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक आयोजना गरे पनि पूर्ण कार्यसमितिको बैठक बस्न सकेको छैन । आगामी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा तय गर्नका लागि प्रदेश पदाधिकारी बैठक चाँडै बस्ने तयारी भइरहेको प्रदेश महामन्त्री विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।

अधिकांशले केन्द्रीय नेतृत्व परिवर्तनको माग गरिरहेकाले वर्तमान नेतृत्वले त्यसबारे सचेततापूर्वक निर्णय लिने उनको तर्क छ । ‘अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्छ भन्नेमा धेरै साथीहरू विश्वस्त छैनन् । यो देशभरिबाट आएको माग हो,’ उनले भने, ‘बरु महाधिवेशनको सन्दर्भमा चाहिँ विशेषभन्दा पनि नियमित गर्दा राम्रो हुन्छ । त्यसो गर्दा वडादेखि केन्द्रसम्मै नेतृत्व परिवर्तन हुँदा पार्टी तलैबाट रिफर्म हुन्छ ।’

पार्टी पुनर्निर्माणका लागि तल्लो तहदेखि नै नेतृत्व परिवर्तन आवश्यक भए पनि प्रदेश र तल्लो तहको नेतृत्वमा हालसम्म प्रश्न नउठेको लामिछानेले सुनाए ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले जेनजी आन्दोलनपछि भर्चुअल बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ । नियमित रूपमा जिल्ला तथा स्थानीय कमिटीका बैठकहरूको अनुगमन र निर्देशन दिइएको एमाले गण्डकी प्रदेश सचिव धनन्जय दवाडीले बताए । नेतृत्वबारे भने एमाले पनि केन्द्रमै केन्द्रित भएको छ । दवाडीचाहिँ विधान महाधिवेशनपछि नियमित महाधिवेशनकै प्रक्रियामा प्रवेश गरिसकेकाले आन्तरिक फोरमहरूमा व्यवस्थित गर्नुपर्ने बताउँछन् ।

‘नेतृत्व परिवर्तन पार्टीको आन्तरिक विषय हो, जसलाई महाधिवेशनमार्फत व्यवस्थित गरिनुपर्छ । त्यो प्रक्रियामा प्रवेश भैसकेको पनि छ,’ उनले भने, ‘तर गण्डकी प्रदेश र तल्लो तहमा नेतृत्व फेर्ने माग अहिलेसम्म हाम्रो बैठकमा उठेको छैन ।’ समर्थक कार्यकर्ताहरूबाट भने नेतृत्व सम्बन्धमा उठिरहेका प्रश्नलाई समाधान गरेर जानुपर्ने सुझाव पाएको दवाडीले बताए ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भङ्ग गरी महाधिवेशनको तयारी थालिसकेको छ । गण्डकी प्रदेश कमिटीले भने अहिलेसम्म औपचारिक बैठक गर्न सकेको छैन । माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जेनजी आन्दोलनपछि प्रदेश कमिटीको औपचारिक बैठक नबसेको तर अनौपचारिक छलफल जारी रहेको बताइन् ।

उनले आन्दोलन मुख्यतयाः केन्द्रीय नेतृत्वमा केन्द्रित भएको प्रदेश र तल्लो तहको पुनर्संरचनाबारे खासै बहस नभएको प्रस्ट पारिन् । ‘जेनजी आन्दोलन केन्द्रमै केन्द्रित भएकाले नेतृत्व परिवर्तनको मुख्य बहस पनि केन्द्रमै छ । प्रदेशमा त्यो बिस्तारै आउला,’ उनले भनिन्, ‘अहिले नै प्रदेश वा तल्लो तहको नेतृत्व फेर्नुपर्छ भन्नेबारे धेरै छलफल भएको छैन ।’

प्रदेश अध्यक्ष गुरुङले केन्द्रीय कमिटीले विशेष महाधिवेशनको प्रक्रिया टुङ्ग्याएपछि क्रमशः प्रदेश र तल्लो तहमा छलफल हुने र नेतृत्व परिवर्तनको विषय प्रवेश गर्ने जानकारी दिइन् ।

जेनजी आन्दोलनले सिर्जना गरेको परिवर्तनको एजेन्डा अहिले तीन वटै प्रमुख दलको केन्द्रीय नेतृत्वमा केन्द्रित छ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनदेखि जिल्ला जिल्लाबाट निर्णय गरेर दबाब बढ्दैछ । एमालेले विधान महाधिवेशन सकेका कारण नियमित महाधिवेशनकै प्रक्रियामा विषय प्रवेश गरिसकेको छ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशनका लागि संयोजक तोकेको छ । तर, तल्ला नेताहरू नियमित र छिटो महाधिवेशन हुँदा तलदेखि माथिसम्मै सुधार हुने तर्क गर्छन् । आफ्नो क्षेत्राधिकारभित्र गतिविधि गर्न पनि दलहरू केन्द्रको निर्णय पर्खिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप